समाचारमंगलवार, मंसिर १९, २०७४

समाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने समूह पक्राउ

हिमालखबर

जिल्लाप्रहरी कार्यालय पर्साले फोन र समाजिक सञ्जालमार्फत लट्री (चिठ्ठा) परेको भन्दै ठगी गर्ने समूहलाई पक्राउ गरेको छ ।

प्रहरीले भाईबर, फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालका साथै कतिपयलाई फोन नै गरेर ‘तपाईले २५ लाख लट्री जित्नु भएको छ’ भनी ठग्ने समूहलाई पक्राउ गरेको हो ।

उनीहरुले चिठ्ठा परेकाले त्यसबापतको सरकारी कर तिर्न भन्दै पीडितसँग मनी ट्रान्सफर कम्पनी रकम जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ । यसरी ठगी गर्नेहरु भारतीय नागरिकका साथै नेपालीहरु पनि छन् ।

उनीहरुले मनी ट्रान्सफरमार्फत पठाइएको रकम निकाल्दै गर्दा प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक गणेश रेग्मीले बताए ।

पक्राऊ पर्नेहरुमा भारत बिहार घर भई वीरगञ्ज बस्ने २४ वर्षीय विक्की पंडित, वीरगञ्ज–३१ का १८ वर्षीय शेष महमद आविद, २५ वर्षीय शेष महताब आलम, बारा बारागढी–४ का १९ वर्षीय महमदनासिर हुसेन, सर्लाही बागमती नगरपालिका– ७ का २० वर्षीय अशोक लामा र २१ वर्षीय सुनिलकुमार तामाङ छन् ।

प्रहरीले वीरगंजको बसर्पाकमा रहेको रेमिट मनी ट्रन्सफरबाट पैसा झिक्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट रु २ लाख ८० हजार, नागरिकता ४ थान, मोबाईल फोन सेट ७ थान लगायत अन्य दस्तावेज बरामद भएको जिल्लाप्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई ठगी तथा संगठित अपराध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानकार्य भई रहेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस