समाचारमंगलवार, मंसिर १९, २०७४

व्यक्तिगत रुपमा समेत कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्न सकिने

हिमालखबर

कर्मचारी सञ्चयकोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ ।

रकम जम्मा गर्नेको सङ्ख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न पाउने योजना सञ्चयकोषले अगाडि सारेको हो ।

कोष सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ ।

कोषका निमित्त प्रशासक दीपक रौनियारले सञ्चालक समितिको बैठकले उक्त विषयमा आवश्यक निर्णय गरेपछि व्यक्तिगत रुपमा कोष जम्मा गर्न सकिने जानकारी दिए ।

कोषमा हाल ६ लाखभन्दा बढीले कोष कट्टी गर्दै आएका छन् ।

स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा सहभागी गराउने लक्ष्यका साथ नयाँ कार्ययोजना अगाडि ल्याउन लागिएको रौनियारको भनाइ छ ।

यसअघि नीजि क्षेत्रका संस्थाले पनि दश जनासम्मका कर्मचारीको रकम कोषमा जम्मा गर्दै आएका थिए ।

नयाँ व्यवस्थापछि व्यक्तिगत रुपमा रकम जम्मा गर्न सकिनेछ ।

नागरिक लगानी कोषले दिएजस्तै सुविधा कोषले पनि दिन लागेको हो ।

कोषको कूल बचत रकमलाई रु सात खर्ब पुर्‍याउने लक्ष्यका साथ अनौपचारिक क्षेत्रमा काम गर्नेलाई समेत सहभागी गराउन लागिएको निमित्त प्रशासक रौनियारले बताए ।

वैदेशिक रोजगारीमा रहेकालाई पनि सुविधा
कोषले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कोषको सदस्य बनाउने र रकम जम्मा गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।

हाल औपचारिक र अनौपचारिक रुपमा गरी देशका करिब ४० लाख युवा वैदेशिक रोजगारीमा छन् ।

विप्रेषणबाट प्राप्त रकम अनावश्यक रुपमा खर्च भइरहेको र जताबाट आयो उतै जाने अवस्थाको अन्त्यका लागि त्यस्तो योजना अगाडि सारिएको रौनियार बताउँछन् ।

विदेशबाट आउने रकमलाई सोझै कोषमा जम्मा गर्ने वा घरपरिवारका सदस्यले नजिकका कार्यालयबाट जम्मा गर्न सक्ने गरी सहज कार्यविधि बनाउने तयारी छ ।

बूढेसकालमा निवृत्तिभरणको रुपमा समेत उक्त कोषमा जम्मा गरिएको रकम खर्च गर्न सक्ने गरी योजना तयार पारिएको कोषले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस