टिप्पणीमंगलवार, मंसिर १९, २०७४

टुङ्गिन लाग्यो गणतन्त्रको संक्रमण

शेखर खरेल

कुनै पनि शासन फालिंदा शासकभन्दा बढी छटपटी तिनका नातेदार, आसेपासे र सुविधाभोगीमा देखिन्छ । किनकि, उनीहरूले परिवर्तनसँगै शासकको अनुकम्पा गुमाउँछन्, अनायास अनिश्चित भविष्यको बाटो तय गर्नुपर्छ ।

१०६ वर्षको उमेरमा गत वर्ष दिवंगत मेरा हजुरबुवा गणेशबहादुरको हृदयको कोमल कुनामा राणा प्रधानमन्त्रीमध्येमा पनि कठोर मानिने जुद्धशमशेर बास गर्दथे । आफ्नो भर्भराउँदो उमेर राणाशासनमा बिताउनुभएका र जुद्धशमशेरकै हजुरियामध्येका एककी छोरीसँग लगनगाँठो कस्नुभएका हजुरबुवाका निम्ति जुद्धशमशेर कुशल शासक थिए ।

व्यस्त बानेश्वरमा गौ सेवा गर्दै शताब्दी लामो आयु आरोग्यताका साथ बिताउनुभएको उहाँका निम्ति राणाशासकहरू धर्मपरायणताका प्रतिमूर्ति थिए । 

गएको कात्तिकमा दिवंगत पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट आजन्म राजभक्त रहे । तीन शाह राजा, महेन्द्र र वीरन्द्रका शासनकालमा प्रधानमन्त्री र ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्रिमण्डलका उपाध्यक्ष रहेका विष्टले एकदलीय पञ्चायतबाट उठेका अन्य पञ्च नेताहरू झैं बहुदल, लोकतन्त्र र गणतन्त्रको राजनीतिक ‘उपभोग’ गरेनन् ।

आजसम्म पनि मेरा हजुरबुवा र विष्ट जस्ता थुप्रै मानिस पाइन्छन्, जसका मनमा परिकथा जस्तै ‘राणा र राजा’ ले बास गरेका छन् ।

कुनै पनि शासन फालिंदा शासकभन्दा बढी छटपटी तिनका नातेदार, आसेपासे र सुविधाभोगीमा देखिन्छ । किनकि, उनीहरूले परिवर्तनसँगै शासकको अनुकम्पा गुमाउँछन्, अनायास अनिश्चित भविष्यको बाटो तय गर्नुपर्छ । यस्तो बेला अनुयायीहरू ‘वफादारी’ मुताबिक आफ्ना मालिकलाई पुनः शक्तिमा फर्काउने वा परिवर्तित परिवेशमा आफूलाई ढाल्ने प्रयत्न गर्छन् ।

राणाशाहीको अन्त्यपछि राणा खानदान र वफादार भारदार समूहले नेपाल राष्ट्रवादी गोरखा परिषद् दल नै बनाएका थिए, जसले आफूलाई २०१५ सालको आम निर्वाचनमा प्रमुख प्रतिपक्षमा स्थापित समेत गर्‍यो । तर रोचक चाहिं, यही अभिजात्य र भारदारी समूह २०१७ सालको राजा महेन्द्रको ‘कु’ पछि बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसको समर्थक मात्र बनेन, समयक्रममा कांग्रेसमै समाहित भयो ।

तर, २०६४ सालको संविधानसभाको पहिलो बैठकले राजतन्त्र निर्मूल गर्दा राजतन्त्रको समर्थनमा खासखुस समर्थन बाहेक जोडदार प्रतिकार हुन सकेन । केहीको अनुमान विपरीत नेपाली सेना तटस्थ ब्यारेकभित्रै बसिदियो । अरू त अरू, स्वयं बाहिरिएका राजा ज्ञानेन्द्रले समेत सार्वजनिक रूपमा दलहरूको निर्णयलाई चुनौती दिने जोखिम मोलेनन् । बरू, नारायणहिटी राजप्रासाद खाली गरिदिए ।

मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि एक दशक पुग्दैछ । र, आसन्न आम निर्वाचनको परिणामसँगै गणतान्त्रिक राष्ट्रले तेस्रो राष्ट्रपति प्राप्त गर्दैछ । तर, यसबीचमा राजाको समर्थनमा हुँदै आएका गतिविधि पनि कम रोचक छैनन्, जसको एकछेउमा पूर्व राजा स्वयं छन् भने अर्कोमा उनका समर्थकहरू । रक्तपातरहित प्रस्थान भएकै संसारका अन्य मुलुकमा विरलै मात्र देख्न सकिने पूर्व शासकको स्वीकार्यता नेपालमा पाइन्छ ।

‘धर्मनिरपेक्ष’ मुलुकमा पूर्व राजाका कैयन् सांस्कृतिक आवद्धताका विरासत राष्ट्रपतिले थामे पनि आफूले परम्परादेखि मान्दै आएका सांस्कृतिक कार्यमा संलग्न हुन उनी स्वतन्त्र छन् । आज पनि जन्मदिन र दशैंका बेला निर्मलनिवास (पूर्व राजाको आवास) मा समर्थकहरू शुभकामना र शुभाशिषका लागि पुग्छन् ।

जसले छेवैको राष्ट्रपति निवासमा लाग्ने त्यस्तै पंक्तिलाई गिज्याइरहेको पनि कतिपयलाई लाग्न सक्छ । तर, अगल–बगलका यी दुई संस्था एकअर्काको बर्खिलाप कहिल्यै उभिएका देखिंदैनन् ।

कतिसम्म भने, राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहोत्सवमा आमन्त्रण गर्दा पूर्व राजा सहर्ष शीतलनिवास पुगे । यसैगरी पूर्व राजाले नातिको व्रतबन्ध समारोहमा राष्ट्रपतिलाई आमन्त्रण गर्दा उनी यसैगरी सरिक भइन् । त्यसो त राजाका समर्थक पनि एकै थरीका छैनन् ।

मेरा हजुरबुवा वा विष्ट जस्ताले आफूले मानिआएको संस्थालाई मनको कुनामा मात्र राख्छन् । तर, अर्को समूह पनि छ, जसको मूल मुद्दा नै राजतन्त्रको पुनस्र्थापना देखिन्छ । खासगरी पूर्व पञ्चहरूबाट चोइटिएर बनेका समूह र केही हिन्दूधर्मवादी जमात दलगत रूपमा नै राजतन्त्रको समर्थनमा देखिएका छन्, जसले केही जनमतको बल पनि पाएका छन् ।

यो जमातमध्ये सबैभन्दा ठूलो कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी हो । हिन्दू ‘सेन्टिमेन्ट’ का कारण २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ उल्लेख्य मत पाएको यो पार्टी आसन्न निर्वाचनबाट भने त्यही हैसियतमा कायम रहन सक्छ, सक्दैन भन्नेमा संशय छ ।

चरम अवसरवादिताका कारण जनसमर्थन गुमाइरहेको यो पार्टीको पक्षमा पछिल्लो निर्वाचन जस्तो एकखाले उभार देखिंदैन । अन्य हिन्दूवादी दलहरूका निम्ति त जमानत बचाउन सके मात्र पनि ठूलो उपलब्धि ठहर्नेछ । कतिपयमा अझै पनि राजसंस्था फर्किने विश्वास पाइन्छ ।

हुन त पूर्वराजाले बेलाबखत राजनीतिज्ञको कटु आलोचना गर्न पनि छाडेका छैनन् । तर, लाग्छ उनीसँग फेरि श्रीपेच पहिरिने कुनै अचूक उपाय बाँकी छैन । प्राध्यापक चैतन्य मिश्रले भने झैं ‘सबै राजनीतिक संक्रमणहरूमध्ये, गणतन्त्रको संक्रमण चाहिं टुङ्गिसक्यो ।’ धर्मनिरपेक्षता र संघीयता भने कठोर परीक्षाबाट गुज्रिन बाँकी नै छ ।

प्रतिकृया दिनुहोस