झापाका सबै ट्राफिक निर्वाचनको सुरक्षामा
झापाका सबै ट्राफिक प्रहरीलाई निर्वाचनको सुरक्षामा खटाइएको छ ।
जिल्लाभर रहेका ६७ मध्ये ६४ जनालाई निर्वाचनको सुरक्षाका लागि खटाइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार पूर्वपश्चिम राजमार्गको ट्राफिक व्यवस्थापनका लागि तीनजना ट्राफिक प्रहरी खटाइएको छ ।
तीनजना बाहेक सबै ट्राफिक प्रहरी मतदानस्थलको सुरक्षामा खटिएपछि इलाका ट्राफिक प्रहरी कार्यालय दमकमा ताला लागेको छ ।
२१ मंसिरमा हुने निर्वाचनको सुरक्षाका लागि १७ मंसीरदेखि नै झापा जिल्लाका २८३ वटै मतदानस्थलमा प्रहरी तैनाथ गरिएको छ ।
सुरक्षा खतरा बढेको कारण पाँचदिन अघिदेखि मतदानस्थलमा सुरक्षाकर्मी तैनाथ गरिएको झापाका प्रहरी प्रमुख विष्णु केसीले जानकारी दिए ।
झापामा २ लाख ९६ हजार ३१२ महिला, २ लाख ८८ हजार ८४५ पुरुष र ९ जना तेस्रोलिंगी मतदाता छन् ।
गोपाल गडतौला, झापा