टिप्पणीसोमवार, मंसिर १८, २०७४

वारिको चुनाव पारिको प्रभाव

चन्द्रकिशोर

चुनाव प्रचारमा भारतीय नम्बर प्लेटका गाडीहरू प्रशस्त प्रयोग भएका छन् । भोजभतेरमा खसी, कुखुरा र माछाको मुख्य स्रोत पनि सीमावर्ती बजार नै हो । देहातमा हुने चुनावी सभा वा घरदैलोमा समेत मालाको चलन बाक्लिएको छ, जुन उतैबाट आउँछ ।

१४ मंसीरमा रौतहटमा चुनावी प्रचारप्रसारमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटका गाडी । तस्वीरः किरण भट्टराई, रासस

भारतीय राज्यहरूमा चुनाव हुँदा त्यसको प्रभाव सीमावर्ती नेपाली बजारमा देखिएजस्तै नेपालमा प्रदेश र प्रतिनिधिसभाको चुनावी रापताप बढिरहँदा भारतीय बजार गुल्जार बनेको छ । खुला सीमाका कारण यस्तो दृश्य स्वाभाविक ठानिए पनि चुनावसँग जोडिएकाले यसको असर गम्भीर छ ।

कतिपय उम्मेदवारले पर्चा, पम्प्लेट, पोष्टरजस्ता प्रचार सामग्री भारतीय बजारमा छपाएका छन् । टोपी–टीसर्ट, ज्याकेट, झण्डा पनि पारिबाटै ल्याइएको छ । चुनावी गीत र नाराहरूको रेकर्डिङ र सीडी निर्माण पनि उतै गरिएको छ । डिजिटल व्यवस्थापन जनशक्ति पनि कतिपयले उतैबाट झिकाएका छन् ।

कसैकसैका चुनावी अभियानको केन्द्र ‘वार रुम’ मा पनि भारतीयहरू नै भेटिन्छन्, जसले नारा बनाइदिने, सामाजिक संजालमा सज्जायुक्त फोटो राखिदिने, अन्य प्रतिस्पर्धीका प्रश्नको उत्तर दिने हाजिरीजवाफको काम पाएका छन् । यसले उम्मेदवारले निर्वाचन आयोगलाई बुझाउनुपर्ने खर्चको विवरणमा छल गर्ने बाटो पाएका छन् ।

चुनाव प्रचारमा भारतीय नम्बर प्लेटका गाडीहरू प्रशस्त प्रयोग भएका छन् । भोजभतेरमा खसी, कुखुरा र माछाको मुख्य स्रोत पनि सीमावर्ती बजार नै हो । देहातमा हुने चुनावी सभा वा घरदैलोमा समेत मालाको चलन बाक्लिएको छ, जुन उतैबाट आउँछ ।

यतिखेर नेपाली बजारमा भारतीय रुपैयाँ छ्यापछ्याप्ती छ । सटहीका लागि पाँचदेखि सात रुपैयाँ बट्टा लिइनेमा अहिले त्यो दुई/तीन रुपैयाँमा झरेको छ । नेरुको तुलनामा स्थिर भएकाले ‘गाडधन’ को रूपमा भारु नै राख्ने चलन पनि छ । चुनावकै लागि भनेर पारिकै ब्यांकमा पैसा राखेको पनि देखिन्छ । बजारमा धेरै चहलपहल देखिने तर नेपाली ब्यांकहरूबाट कारोबार भएको खासै नदेखिनुको कारण यही हो ।

विडम्बना त के छ भने, सामान र जनशक्ति मात्र होइन, कतिपय मतदातासमेत भारतबाटै आउँछन् । त्यसको कारण सीमापारिका कतिको नाम यताको मतदाता सूचीमा हुनु हो । स्थानीय तहको निर्वाचनमा त कति ठाउँ यिनै मतदाता निर्णायक भूमिकामा देखिए ।

त्यसो त चुनावलाई पन्छाउँदै रोजगारीका लागि भारत जानेहरू पनि छन् । तर, जति आइरहेका छन्, तीमध्ये अधिकांशलाई प्रत्यासीको विशेष आग्रहले काम गरेको छ । फर्किनेहरूको बाटो खर्च, खानपान, रमाइलो सबैको बस्दोबस्ती प्रत्यासीहरूले गर्छन् । कति त आफ्नो गाउँ–ठाउँका प्रभावशाली व्यक्तिको डरले पनि आउन बाध्य छन् । ब्याज लिएका, खेत जोतेका, मुद्दामामिलामा हेरचाह गरिदिएकाहरूलाई दबाब दिएर बोलाउने समेत गरिएको छ ।

कतिपय ठाउँमा यस्ता विरादरीहरू भेला हुने र सकेसम्म एक क्षेत्रबाट एउटा जातिबाट एक जना मात्र उठाउनेसम्मको मिलेमतो गर्ने ÷गराउने प्रयत्न पनि हुने गर्छ । यसबाहेक पारिका बाहुबलीको दबाब पनि पर्छ । चुनावी हिंसामा पनि भारतीयकै हात देखिन्छ । हिंसामा प्रयोग हुने हतियार तथा विस्फोटक पदार्थ पनि उतैबाट भित्रिन्छ ।

चुनावमा पारिको प्रभाव यतिसम्म छ कि सीमावर्ती राज्यबाट प्रकाशित क्षेत्रीय अखबारमा समेत यताका उम्मेदवारहरूका तारिफ र तेजोबधका ‘प्रायोजित’ समाचार पढ्न पाइन्छ । निर्वाचनमा सुरक्षाकर्मीहरू केन्द्रित भएकै बेला तस्करी फस्टाउने गरेको छ । तस्करीबाटै कतिपय प्रत्यासीले खर्चको जोहो समेत गर्छन् ।

प्रत्यासीहरूले सीमावर्ती राज्य बिहार र उत्तरप्रदेशकै शैलीका ‘छात्रालाई साइकल, विवाहयोग्य युवतीलाई मंगलसूत्र’ जस्ता चुनावी बाचा पनि गरेका छन् । रोचक त के छ भने प्रत्यासीको प्रचारका गाडी बेहुलाबेहुली ओसार्न सीमा वारपार गरिरहेका छन् ।

चुनावसँग जोडिएका प्रत्येक गतिविधि नेपाली बजारमै हुनुपर्छ । तर, खुला सीमा, फराकिलो सरोकारका कारण चुनावको बजार मात्र होइन मर्यादाको समेत खुलेआम खिल्ली उडाउने यत्न भइरहेको छ । यसखाले अनियमितता र अनैतिक क्रियाकलापविरुद्ध दल र तिनका प्रत्यासीहरूलाई सचेत गराउने मात्र होइन आवश्यक परे दण्डित समेत गर्नुपर्छ । निर्वाचन आयोगले यसमा साहस देखाउनुपर्छ ।

प्रतिकृया दिनुहोस