टिप्पणीशनिवार, मंसिर १६, २०७४

लुम्बिनीको अज्ञात संरचना

वसन्त महर्जन

लुम्बिनीमा जमीनमुनि विना संकेत छोपेर राखिएको मौर्यकाल अघिको एउटा आयताकार संरचना गौतम बुद्ध जन्मनुभन्दा अगाडिको इतिहास अध्ययनमा महत्वपूर्ण सूत्र साबित हुन सक्छ ।

लुम्बिनीमा प्राप्त प्रायः पुरातात्विक अवशेषहरू खुला प्रदर्शनीमा छन् । यसरी प्रदर्शनीमा राख्दा सबैले देख्न पाइनु राम्रो भए पनि सयौं, हजारौं वर्षदेखि जमीनमा पुरिएबाट अत्यन्तै नाजुक भएका यी अवशेषहरूलाई यसरी खुल्ला राख्दा अनेकौं दृष्टिकोणबाट जोखिमपूर्ण हुन्छन् ।

सन् १९७६–७८ मा बाबुकृष्ण रिजालको नेतृत्वमा पुरातत्व विभागले गरेको उत्खनन्को वेला फेला परेको मौर्यकाल अघिको एउटा आयताकार संरचनालाई भने जमीनमुनि नै राखिएको छ । चर्चामा नआएको यो अवशेष लुम्बिनीको इतिहास अध्ययनमा अत्यन्तै महत्वपूर्ण हुने देखिन्छ । 

इसापूर्व ५६३ मा गौतम बुद्धको जन्म हुँदा लुम्बिनी बगैंचाको रूपमा रहेको जानकारी बौद्ध वाङ्मयहरूबाट पाइन्छ । सुत्तपिटक अन्तर्गतको ‘दीघनिकाय’ मा संकलित ‘महापरिनिब्वानसुत्त’ मा इ.पू. ४८३ मा महापरिनिर्वाण हुनुअघि भिक्षु आनन्दसँगको संवादमा स्वयं गौतम बुद्धले लुम्बिनी एउटा संवेजनीय स्थल हुने बताएका थिए ।

सोहीअनुसार बौद्धहरूका लागि लुम्बिनी महŒवपूर्ण तीर्थस्थल बन्यो । अन्य तीन संवेजनीय स्थल भारतको बोधगया, सारनाथ र कुशीनगर हुन् ।

मौर्य सम्राट अशोक तीर्थयात्राको क्रममा इ.पू. २४९ तिर लुम्बिनी आएका थिए । सोही अवसरमा स्थापित अशोक स्तम्भ र त्यसमा रहेको अभिलेखबाट हामी लुम्बिनीको पुरातŒवको इतिहास शुरू गर्छौं ।

हामी बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने जानकारीले मात्रै नपुगेर ‘यहींनेर जन्मेको’ भनेर देखाउन मिल्ने गरी ‘मार्कर स्टोन’ को पनि उल्लेख गर्छौं तर त्यो त्यहाँ कहिले राखियो, भन्न सक्दैनौं । ‘मार्कर स्टोन’ को सुरक्षार्थ चारैतिर पर्खाल उठाउने काम सम्राट अशोकबाटै भएको थियो ।

हालैको उत्खनन्बाट प्राप्त बुद्ध जन्मनुभन्दा अघिका पुरातात्विक अवशेषहरूले तत्कालीन समाज बुझन सघाउँछन् । बुद्धको महापरिनिर्वाणपछि र सम्राट अशोकको आगमनअघि पनि लुम्बिनीमा विभिन्न व्यक्तिहरू आउँथे । उनीहरूले त्यहाँ निर्माण कार्य पनि गरेका थिए भन्ने जानकारी १९७६–७८ को उत्खनन्ले दिएको हो ।

उत्खनन्को क्रममा अशोक स्तम्भबाट ३० फिट उत्तरमा एउटा कोठा भेटिएको थियो, जसको नाप १५ फिट ४ इन्च उत्तर–दक्षिण र १२ फिट ५ इन्च पूर्व–पश्चिम छ । उक्त कोठा सतहबाट दुई फिट मुनि छ । त्यहाँ भेटिएका ईंटा, ‘नर्थन ब्लायक पोलिस (एनबीपी) र ग्रे वेयरका भाँडाकुँडाका टुक्राहरू पूर्व मौर्यकालीन हुन् ।

१८ * १७ * ५ इन्च र १७.५ * ११.२५ * ३.२५ इन्चका ईंटा खस्रो हुनाका साथै भूस र खर मिसाएर बनाइएको छ । राम्रोसँग नमुछिएका र नपोलिएका ईंटको बनावट हेर्दा साँचोमा नभई हातैले चारपाटे आकार दिएको देखिन्छ । राम्रोसँग मुछेर पोलिएको मौर्यकालीन ईंटा रातो रंगका हुन्थे । त्यसपछिका ईंटका आकार घट्नुका साथै गुणस्तर पनि बढेको पाइन्छ ।

चन्द्रगुप्त मौर्यको दरबारमा आएका युनानी राजदूत मेगास्थनिजले ईंटानिर्मित भवनको उल्लेख नगरेबाट त्यस बेलासम्म ईंटा संस्कृतिको विकास भइनसकेको अनुमान गरिएकोमा लुम्बिनीमा ईंटाको प्रारम्भिक स्वरुप पाइनु कम चाखलाग्दो र कम महŒवपूर्ण कुरा होइन । यसले ईंटा निर्माणको इतिहासलाई पनि क्रमबद्ध पार्न मद्दत गरेको छ ।

पुरातात्विक उत्खनन् अध्ययन अनुसन्धानका लागि गरिन्छन् । कतिपय उत्खनन्मा प्राप्त वस्तुहरूलाई संग्रहालयमा खुल्ला प्रदर्शनमा राखिन्छ भने कतिलाई विधिपूर्वक सोही ठाउँमा छोपेर संरक्षण गरिन्छ । लुम्बिनीमा भने प्रायः खुल्ला प्रदर्शनीमा राख्ने प्रवृत्ति छ ।

कुन प्रयोजनका लागि निर्माण गरिएको भन्ने नखुलेको पूर्व मौर्यकालीन पुरातात्विक अवशेषलाई विधिपूर्वक सोही ठाउँमा छोपेर राख्नुलाई बढी बुद्धिमत्तापूर्ण मान्न सकिन्छ । सर्वसाधारणलाई त्यो संरचना भएको ठाउँबारे थाहा नहुने अवस्था भने ठीक छैन । त्यसको संकेत वा जानकारी चाहिन्छ ।

प्रतिकृया दिनुहोस