बुटिकको क्रेज
मध्यमवर्ग बढेसँगै हिजो सम्भ्रान्त परिवारमा सीमित बुटिकले नयाँ ग्राहक पाउन थालेका छन् ।
१५ वर्षअघि कुपण्डोल, ललितपुरमा कलश क्रियटिभ कलेक्सन बुटिक खोलेकी संगीता अमात्य (प्रधानाङ्ग) का अधिकांश उपभोक्ता विदेशी हुन्थे । तर अहिले ठीक उल्टो, नेपाली नै मुख्य ग्राहक बनेका छन् । देशमै बस्ने मात्र होइन, विदेशमा रहेका नेपाली समेत उपभोक्ता छन् ।
अवसर र डिजाइन विशेषका लुगाका लागि मात्र होइन; सारी, रेडिमेड सारी, लेहेंगा, कुर्ता, कुर्ती, सरारा, वनपिस, गाउनलगायत सधैंका पहिरनका लागि पनि महिला बुटिक पुग्न थालेका छन् । मन परेका डिजाइनमा लुगा बनाउन दिने चलन त केही अघिदेखि नै चलेको हो । फेशन डिजाइनर संगीता भन्छिन्, “फेशनमा धेरै परिवर्तन भएको छ, उपभोक्ता धेरै ‘चुजी’ छन् ।”
पूर्व मिस नेपाल तथा फेशन डिजाइनर उषा खड्गीको अनुभवमा बुटिक आउने उपभोक्ता ‘एड्भान्स’ छन् । बजारमा कुनै नयाँ डिजाइन भित्रिने बित्तिकै त्यसलाई प्रयोग गर्न उपभोक्ता आतुर हुने गरेको बताउँदै उनी भन्छिन्, “सामाजिक सञ्जाल तथा अनलाइन शपिङ साइट्सबाटै पहिरन हेरेर पछ्याउनेको संख्या बढ्दै गएको छ ।”
खड्गीका अनुसार, अहिलेको फेशन ट्रेन्ड ‘मिक्स एण्ड म्याच’ शैलीको छ । खासगरी शरीर सुहाउँदा पोशाक प्राथमिकतामा छन् । “बिहे, पार्टी, पर्वमा मात्र होइन; अरु बेला पनि डिजाइन गरिएको ड्रेस लगाउन थालिएको छ”, सादा लेहेंगा चोलीमा धागो, स्टोनलगायतका सामग्रीले बुट्टा भरेको सल लगाउने, जिन्समा कुर्ता तथा कुर्ती लगाइने उनले बताइन् ।
प्रविधि र पहिरन चेतनाको विकाससँगै पछिल्लो समय रोजाइ पनि विस्तारित हुँदै गएको छ । ग्राहकको फेशनचेतले डिजाइनमा पनि विविधता ल्याएको छ । जस्तो कि, केही वर्षअघिसम्म गह्रौं स्टोन भरिएका सारी, लेहेंगा प्रचलनमा रहेकोमा अहिले सादा र हल्का खालका पोशाक रुचाइन थालेको छ ।
गत वर्ष अनारकली कुर्ता धेरै बिक्री गरेका बुटिकले यस वर्ष लम्बाइ बढी भएको सरारा (कुर्ता) को कारोबार धेरै गरेका छन् । डिजाइन अनुसार रु.२० हजारसम्ममा सरारा तयार गरिन्छ ।
कुपण्डोल, ललितपुरको सी दी फेशन स्टोरका फेशन डिजाइनर संगीत श्रेष्ठ फेशनको ‘ट्रेण्ड’ कतिबेला परिवर्तन हुन्छ हेक्का राख्नै गाह्रो भइरहेको बताउँछन् । “पहिलेजस्तो विवाह, चाडपर्व र मौसमको सिजन भनेर छुट्याउने बेला रहेन” उनी भन्छन्, “बुट्टा, प्याट्रन, ड्रेस तयार गर्ने कपडासँगै डिजाइनमा पनि फरक भइरहन्छ ।”
हल्का र साधारण
गर्मीमा हल्का फ्लोरल प्रिन्ट (बुट्टेदार) कपडा बढी प्रयोग हुने गरेको छ भने जाडोमा गाढा रङमा न्यानो हुने कपडा उपभोक्ताले रुचाउने गरेका छन् । पर्वमा भने पिंक, ग्रीन, पिच जस्ता उज्यालो रङका लुगा बढी लगाइन्छ ।
परम्परागत र आधुनिकता मिसाएर गरिएको फ्युजन डिजाइनमा उपभोक्ताको आकर्षण बढ्न थालेको बताउँदै फेशन डिजाइनर संगीत भन्छन्, “सिल्क, रसिल्क, ब्रोकेड, भेल्भेट, नेटबाट तयार गरिएका पोशाक पनि चलेका छन् । फेब्रिकमा लामो ड्रेस रुचाइएको छ ।”
पहिले जस्तै धेरै बुनिएका, इम्ब्रोइडरी गरिएका कपडा खोज्नेहरु घट्दै गएका छन् । कम बुट्टा भरिएका, हल्का रङमा हल्का काम गरेका कपडातर्फ युवाको ध्यान बढ्दो छ । कुनै खास अवसर वा पर्वमा भने सारी, कुर्ता, कुर्ती, लेहेंगा सदावहार छन् । वनपिस र गाउनले पनि स्थान पाइरहेका छन् ।
सिल्क सारीमा उपभोक्ताको आकर्षण रहे पनि सधैं झैं सिफन, जर्जेट, क्रेप र नेटका सारी पनि प्रयोगमै छन् । हल्का इम्ब्रोइडरी गरिएका सारीमा हल्का भरिएको ब्लाउज रोजिने डिजाइनर संगीता बताउँछिन् । केहीले सिम्पल सारीमा बढी इम्ब्रोइडरी गरिएका ब्लाउज पनि लगाएको पाइन्छ ।
धेरै चम्किलो र ठूलो बोर्डर भएका लेहेंगाको साटो पत्थर, धागो र जडीहरुले बुट्टा बनाइएका हल्का र कम बोर्डर भएका लेहेंगाको माग बढ्दो छ । सादा लेहेंगा चोलीमा धेरै भरेको सल समेत अहिले रुचाइएको छ ।
लगाउन सजिलो हुने भएकाले बजारमा धागोका इम्ब्रोइडरी गरिएका कुर्ती, इस्टकोटसहितका कुर्ती पनि देखिन्छन् । सल लगाउन नपर्ने लामो स्कर्ट र ब्लाउज पनि उपलब्ध छ । कार्यक्रम अनुसार रंग मिल्ने उस्तै प्रकारका पहिरनको चलन पनि बढिरहेको छ । डिजाइनर खड्गी परिवारका सदस्य बीच एकै रङमा फरक खालका पहिरन समेत लगाउन थालिएको बताउँछिन् ।
कपडा डिजाइन तथा सिलाइ मात्र होइन कलाको मिश्रणबाट आकर्षक पहिरन तयार पारिने भएकाले बुटिकमा आउनेको संख्या बढेको डिजाइनर अमात्य बताउँछिन् । “पहिरन महङ्गो भएर मात्र हुँदैन, सजिलो पनि हुनुपर्दछ” उनी भन्छिन्, “ग्राहकको कलर टोन, शारीरिक बनावट, वर्णलाई ध्यान दिएर सुहाउँदो पहिरन तयार पारिने भएकैले बुटिकको बजार बढिरहेको छ ।”