हाइकिङकाे फाइदा
नयाँबानेश्वर, काठमाडौंका मनोज राजभण्डारी परिवारसँग हाइकिङ जान थालेको दुई वर्ष भयो । महीनाको एकपटक जाने हाइकिङमा श्रीमती र छोरासँगै भाइ, बुहारी पनि सहभागी हुन्छन् ।
“स्वस्थ रहन र प्रकृतिसँग घुलमिल हुन हाइकिङले धेरै मद्दत पुगेको छ”, राजभण्डारी भन्छन् । पहिले आफैंले ठाउँ छान्ने उनी अहिले संस्थाहरुसँग मिलेर पनि हाइकिङ जाने गरेका छन् । यसो गर्नाले धेरैभन्दा धेरैसँग चिनजान हुने र व्यवस्थापनको पनि चिन्ता नहुने उनी बताउँछन् ।
शहरी व्यस्त जीवनशैलीमा फुर्सद निकाल्न कठिन हुन्छ । कामबाहेक आफन्त र साथीसँगीका समारोहमा सहभागी हुनुपर्दा साताको एक दिन पनि समय निकाल्न धौ–धौ पर्छ । शहरको धुवाँधूलो, ट्राफिक जाम झनैअत्यासलाग्दो छ । यस्तो बेलामा शान्त, हरियाली प्राकृतिक दृश्यावलोकन र परिवारसँग समय बिताउने एउटा विकल्प परिवारसँगको हाइकिङ नै हो ।
काठमाडौं उपत्यका वरिपरि चन्द्रागिरि, बुङ्गमती, गोदावरी, फूल्चोकी, लाँकुरीभन्ज्याङ, साँगा, चाँगुनारायण, पनौती, नमोबुद्ध, नगरकोट, साँखु, बल्थली, गुण्डु, शिवपुरी, नागार्जुन, गोकर्ण, सुन्दरीजल, तारेभीर, झोर, फर्पिङ, चम्पादेवीलगायतका हाइकिङ ट्रेल छन् । यी स्थानमा ट्राभल तथा ट्रेकिङ एजेन्सीको प्याकेजमा सहभागी भएर पनि हाइकिङ जान सकिन्छ ।
पदयात्रा फाइदा
जोरपाटीकी रमला कार्की पनि हाइकिङमा सहभागी हुन्छिन् । आईटी कम्पनीमा कार्यरत उनी शहर र भीडभाडबाट टाढा हुने भएकाले हाइकिङले नयाँपनको अनुभूतिसँगै ऊर्जा थप्ने बताउँछिन् । “हाइकिङमा परिवारका सदस्य हुँदा सजिलो र रमाइलो दुवै हुन्छ”, उनी भन्छिन् ।
हाइकिङले शरीरमा स्फूर्ति भर्ने मात्र होइन, वनपाखा, पहाड, हिमशृंखला, सांस्कृतिक सम्पदाहरुको दर्शन पनि गराउँछ । फरक मौसममा जाने हो भने एउटै ट्रेलमा पनि विविधता अनुभव गर्न सकिन्छ ।
हाइक फर नेपालका अध्यक्ष गणेश शर्मा शहरी जीवनशैलीमा हाइकिङ संस्कृति नै बनेको बताउँछन् । “पछिल्लो समय पारिवारिक माहोलमा हाइकिङको प्रचलन बढेको छ, यसले पारिवारिक सम्बन्ध पनि बलियो बनाउँछ”, शर्मा भन्छन् ।
हाइकिङका लागि ट्रेल र मौसम अनुसार तयारी गर्नुपर्छ । सुरक्षा र सम्भावित समस्याबारे समेत ध्यान दिनुपर्छ । शर्माका अनुसार, हिंड्न सजिलो हुने जुत्ता, पहिरन, सन ग्लास, तौलिया, क्याप, ह्याट, सन प्रोटेक्सन क्रिम, पानी, हलुका खानेकुरा, फलफूल, प्राथमिक उपचारका सामग्री, म्याप, लट्ठी, क्यामेरा, वर्षात्मा छाता, रेनकोट बोक्नु अनिवार्य मानिन्छ ।