रिपोर्टबिहिवार, मंसिर १४, २०७४

खोतलिंदै दुर्लभ खनिजको रहस्य

रमेशकुमार

नेपाली भूगर्भमा रहेको अनुमानसहित ‘रेयर अर्थ इलिमेन्ट’ भनिने दुर्लभ र धेरैका लागि अन्जान खनिजको रहस्य खोतलिंदैछ ।

कम्प्युटर, मोबाइल, टेलिभिजन, क्यामेरा, कार, हवाईजहाजको इञ्जिन, एक्स–रे, अप्टिकल फाइबरलगायत आधुनिक विद्युतीय उपकरणदेखि जटिल प्रविधि विकासमा प्रयोग हुने ‘रेयर अर्थ इलिमेन्ट’ (मेटल) अर्थात् दुर्लभ खनिज पदार्थ (धातु) नेपालको गर्तमा होला ? प्रष्ट जवाफ प्राविधिकहरूसँग पनि छैन ।

किन पनि भने, मूल्यवान् यी धातु नेपाली भूगर्भभित्र छ/छैन भनी अहिलेसम्म अध्ययन भएकै छैन, भूगर्भशास्त्रीहरूबीच अनुमान र चर्चा–परिचर्चा बाहेक । तर, अन्यत्रका मिल्दोजुल्दो भौगर्भिक अवस्थिति तथा जमीनमुनिको चट्टानहरूको बनोटका आधारमा भूगर्भशास्त्रीहरूको निचोड छ, ‘रेयर अर्थ मेटल’ हरू देशका कुना कन्दराका जमीनमुनि केही न केही त पक्कै छन् । यद्यपि, तिनको परिमाण र उत्खनन्को आर्थिक–प्राविधिक सम्भावनाको निक्र्योल भने अध्ययनबाट मात्र गर्न सकिएला ।

अनुसन्धानकर्ताहरूले वर्षौंअघिदेखि देशका डाँडाकाँडा चहारेर अन्य खनिज तत्वहरूको खोजतलास र अध्ययन गरिरहे पनि यी अनौठो दुर्लभ गुण भएका तत्वको अन्वेषण र अध्ययन हुनसकेको छैन, सरकारी र निजी दुवै तवरमा । खनिज क्षेत्रको अनुसन्धान र विकासको जिम्मेवारी बोकेको सरकारी अड्डा खानी तथा भूगर्भ विभागलाई बल्ल यो दुर्लभ मूल्यवान् धातुको रहस्य खोतल्ने जाँगर चलेको छ ।

“रेयर अर्थ इलिमेन्ट भएको आकलनसहित गोरखाको आँपपिपल क्षेत्रमा यो वर्षभित्रै प्रारम्भिक अध्ययन थाल्दैछौं” विभागका प्रवक्ता कृष्णदेव झा भन्छन् । झाका अनुसार, रेयर अर्थ इलिमेन्टको ‘स्रोत चट्टान’ (सोर्स रक) आँपपिपल क्षेत्रमा भेटिनुका साथै कोरियाली अनुसन्धान टोलीले सुझाएको आधारमा विभागले अध्ययन शुरू गर्न लागेको हो ।

त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्र विभागका प्रा.डा. लालु पौडेल आग्नेयसहितका अन्य स्रोत चट्टान विभिन्न भागमा भेटिएकाले नेपालमा पनि दुर्लभ खनिज धातुको सम्भावना रहेको बताउँछन् । विदेशी अनुसन्धानकर्ताहरूले डडेलधुरा र नुवाकोटको ककनीबाट संकलित नमूनाको विदेशमा गरिएको परीक्षणबाट समेत यस्तो संकेत गरेको उनी बताउँछन् । “तर, यस्ता पदार्थ कस्तो अवस्थामा, कति छन् भन्ने बारे खोजी गरिएकै छैन”, पौडेल भन्छन् ।

विदेशी चासो !
नेपालमा ‘रेयर अर्थ इलिमेन्ट’ को खोजीमा स्वदेशीभन्दा विदेशी चासो बढी छ । जस्तो कि, डेढ वर्षअघि चिनियाँ अनुसन्धानकर्ताको टोलीले यसबारे अनुसन्धानको इच्छा दर्शाउँदै अनुमतिको माग गरेको तर विभागले अनिच्छा देखाएको बताइन्छ । प्रा. पौडेल ‘रेयर अर्थ मेटल’ को महत्व बुझेका चिनियाँहरूले नेपालमा आँखा लगाइरहेको बताउँछन् । “यस्ता धातुको सर्वाधिक उत्पादन गर्ने चिनियाँहरू सम्भावना देखेरै नेपाल छिर्न खोजिरहेका छन्”, उनी भन्छन् ।

त्यसो त, यसअघि कोरियाली अनुसन्धानकर्ताहरूले पनि दुर्लभ धातु खोज्ने चासो नदेखाएका होइनन् । ६–७ वर्षअघि कोरिया इन्ष्टिच्यूट अफ जियोसाइन्स एण्ड मिनरल रिसोर्सेस् (किगाम) ले रियल अर्थ मेटलको अन्वेषणमा प्राविधिक र अन्य सहयोग गर्न विभागसँग प्रारम्भिक समझदारी गरेको थियो । त्यसअन्तर्गत, पहिलो चरणमा विभागका अधिकारीहरूले कोरियामा तालीमसमेत लिएका थिए । किगामले पूर्ण सम्झाैतापत्रमा हस्ताक्षर गरेर काम अघि बढाउन खोजे पनि उद्योग मन्त्रालयले सहमति नदिएपछि अनुसन्धान रोकियो ।

अहिले भने विभाग आफैंले प्रारम्भिक अध्ययन अघि बढाउन ‘एक्सआरएफ एनालाइजर’ सहितका केही उपकरण खरीद गरेको छ । तर, यस्तो गहन अनुसन्धान अघि बढाउन विभागसँग न प्राविधिक क्षमता छ, न पर्याप्त आर्थिक स्रोतसाधन नै । अनुसन्धान अघि नबढ्नुको मुख्य कारणमध्ये एक परीक्षणशालाको अभाव पनि हो ।

प्रा. पौडेल यस्ता धातुको अन्वेषणमा अत्यावश्यक अत्याधुनिक आईसीपी–एमएस (मास स्पेट्रोमेट्री) सहितका उपकरण र दक्ष जनशक्ति विभागसँग नभएको बताउँछन् ।

औपचारिक रूपमा ‘रेयर अर्थ इलिमेन्ट (मेटल)’ भनिए पनि यी धातु एकै भने होइनन्, होल्मियम, प्रासिओडाइमियम, सेरियम, लुटेटियम, ल्यान्थानम, प्रोमेथियलगायतका १५ देखि १७ धातु ‘दुर्लभ’ समूहमा पर्छन् । यी धातुको प्रयोग आधुनिक विद्युतीय र अन्य प्रविधि विकासमा हुने गर्छ, स्मार्टफोनदेखि हावाबाट बिजुली निकाल्ने टर्वाइनको सञ्चालनसम्म ।

लघु उपकरण तथा प्रविधि त यस्ता धातु विना असम्भव नै मानिन्छन् । शुद्ध रूपमा छुट्टै एकै ठाउँमा नभेटिने र अन्य धातुसँग मिश्रित हुने भएकाले यसलाई ‘रेयर’ मानिन्छ, नभए भेट्न त माटोदेखि विभिन्न खालका चट्टानमा पनि भेटिन्छ ।

सामान्यतः युरेनियम जस्ता रेडियोधर्मी विकिरण भएका स्थानमा भेटिने यी धातु आर्थिक र प्राविधिक रूपमा एकत्रित गर्न भने सजिलो छैन । प्रा. पौडेल अत्यन्त थोरै हुने भएकाले यो धातुलाई पीपीएम (पार्टस् पर मिलियन) मा हेरिने बताउँछन् । 

सन् १९८२ मा ‘रेयर अर्थ मेटल’ को प्रयोगमार्फत पहिलो पटक बनाइएको एक खालको चुम्बक आधुनिक प्रविधिको लागि ठूलो क्रान्ति मानिन्छ । कम्प्युटरको हार्डड्राइभदेखि मोबाइलको स्पिकर, ल्यापटप तथा टेलिभिजन, एमआरआई स्क्यानर, आणविक ब्याट्रीमा यस्ता धातु नभई हुँदैन । अहिले संसारमा प्रयोग हुने यस्ता धातु ८५ प्रतिशतभन्दा बढी चीनबाट आउँछ । चीनले उत्तर कोरियाबाट समेत गोप्य रूपमा यस्ता मूल्यवान् धातु भित्र्याउने गरेको पनि बताइन्छ ।

चीनका सबै उच्च प्रविधियुक्त उद्योगहरू यिनै दुर्लभ धातुमा आधारित रहेको मानिन्छ । कतिसम्म भने, सन् २०१० मा चीनले वातावरण संरक्षणका लागि यस्ता धातुको निर्यात घटाउने चेतावनी दिएसँगै कतिपय धातुको मूल्य ३००० प्रतिशतसम्मले बढेको थियो । त्यतिबेला डाइस्प्रोसियम धातुको मूल्य प्रतिकिलो ९९४ डलरसम्म पुगेको थियो ।

उदारवादी चिनियाँ नेता तङ स्याओ फिङले मध्यपूर्वका देश तेल बेचेर धनी भएजस्तै चीन यस्ता धातु बेचेर धनी हुनसक्ने उल्लेख गरेका थिए । अमेरिकाले अफगानिस्तानलगायत आफ्नो सहज उपस्थिति भएका देशमा यस्ता धातुको व्यापक खोजी गरिरहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले जनाउने गरेका छन् ।

चट्टानको स्थिति र भू–बनोटको आधारमा भेटिने यी धातु नेपालको उच्च हिमालय क्षेत्र, महाभारत शृंखलाको काठमाडौं र पूर्वतिर उदयपुर तथा पश्चिममा जाजरकोटसहितका कर्णाली र डडेलधुरामा प्रचुर मात्रामा रहेको अनुमान गरिएको भूगर्भविद् पौडेल बताउँछन् । सेडिमेन्टरी, मेटामर्फिक र आग्नेय सबैखाले चट्टानमा यस्ता धातु भेटिए पनि बढी सम्भाव्यता भने आग्नेय चट्टान फैलिएको क्षेत्रमा हुन्छ । अर्का भूगर्भविद् डा. कमलकान्त आचार्य पनि चट्टानको बनोटको आधारमा नेपालमा पर्याप्त ‘रेयर अर्थ मेटल’ रहेको बताउँछन् ।

माथिल्लो मुस्ताङमा युरेनियम !
विद्युत् उत्पादन, आणविक अस्त्र तथा परमाणु परीक्षण लगायतमा प्रयोग हुने युरेनियम माथिल्लो मुस्ताङमा भेटिएको छ । विभागका प्रवक्ता कृष्णदेव झा १० वर्ग किमी क्षेत्रफलमा गरिएको दोस्रो अन्वेषणबाट यो क्षेत्रमा युरेनियम भण्डार देखिएको बताउँछन् ।

विभागका एक उच्च अधिकारीका अनुसार, माथिल्लो मुस्ताङमा मध्यम गुणस्तरको ठूलै युरेनियम भण्डार छ । “आर्थिक–प्राविधिक रूपमा उत्खनन्योग्य युरेनियम भेटिएको छ” ती अधिकारी भन्छन्, “रणनीतिक महत्वको धातु भएकाले परिमाण तथा गुणस्तरबारे धेरै हल्लाखल्ला गर्न मिल्दैन ।”

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उल्लेख गर्दै माथिल्लो मुस्ताङ क्षेत्रमा युरेनियम भण्डार रहेको बताएपछि यसको चर्चा चुलिएको थियो । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै उक्त क्षेत्रको माटो परीक्षण गर्दा रेडियोधर्मी विकिरण फेला पारेका थिए ।

विभागले जनाए अनुसार यसअघि मकवानपुरको तीन भङ्गाले, सिन्धुलीको बुका खोला, काठमाडौंको शिवपुरी, बझाङलगायतका स्थानमा युरेनियम भेटिएको थियो । तीन भङ्गाले क्षेत्रमा मात्रै ३५ टनभन्दा बढी शुद्ध युरेनियम निकाल्न सकिने अनुमान छ । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमलाई बहुमूल्य धातु मानिन्छ ।

प्रतिकृया दिनुहोस