टिप्पणीबिहिवार, मंसिर १४, २०७४

मतदाताबाट धर्म रक्षाको अपेक्षा

चन्द्रकिशोर

खराब उम्मेदवारलाई जिताएर असल सेवा लिन सकिंदैन।

संस्कृतमा प्रसिद्ध उक्ति छ– धर्मो रक्षति रक्षितः । अर्थात्, धर्मले त्यसैको रक्षा गर्छ जसले धर्मको संरक्षण गर्छ ।

नेपाली बृहत् शब्दकोशले धर्मलाई ‘व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति; प्रकृति, स्वभाव’ भनेर अर्थ्याएको छ ।

यस अर्थमा; पानी, हावा, माटो, पहाड सबैको आफ्नै विशेष धर्म हुन्छ । तिनको धर्म संरक्षण गर्न सक्दा हामीलाई पनि लाभ पुग्छ । 

पानी, हावा, माटो प्रदूषित भयो, पहाड क्षय भयो भने त्यसले मानिसको दैनिकीलाई असहज बनाउँछ ।

शुरूमा लाग्छ– यी कुवा, पोखरी वा नदी प्रदूषित भए के हुन्छ ? सबैले दोहन गरिरहेका छन्, मैले मात्र रोकेर के हुन्छ ? अलिकति पहाड बेच्दा आफूलाई फाइदै हुन्छ । यस्तो सोच्ने र बुझने प्रवृत्ति महारोगको जस्तै फैलिंदैछ, बाक्लिंदैछ ।

हामी जुनसुकै समस्या वा संकटलाई सामान्यीकरण गरेर हेर्छौं । साझ फाइदामा आफूलाई थोरै परेको देख्छौं । यस्तो दृष्टिकोणले हामीलाई समस्याको आकलन गर्न नसक्ने बनाएको छ ।

जब समस्या संकटको रूपमा व्यक्ति–व्यक्तिलाई ग्रसित गर्न थाल्छ, त्यतिखेर हामी तात्छौं र सोच्छौं– बेलैमा किन चेतिएन ! जलाशय अतिक्रमण गर्ने, प्रदूषित पार्ने, मास्ने प्रयत्नहरू हुदै गर्दा चुरे पर्वत शृंखलाका स्रोतहरूको दोहन थालिंदा वा जंगल मासिंदै गर्दा तपाईं–हामी एकअर्काको मुख हेरेर चूप लाग्यौं ।

आज यी समस्या बढेर हाम्रो नाकमुनि आइपुग्दा स–साना लाग्ने यस्ता कुराहरूको ठूलो अर्थ हुने रहेछ भन्ने हामीलाई थाहा भएको छ । यस्तो किन भयो भने हामीले एउटा व्यक्तिको रूपमा यी प्राकृतिक पक्षहरूका धर्मको रक्षा गर्न समयमै अघि सरेनौं ।

अहिले देश निर्वाचनमय छ र निर्वाचनको पनि धर्म हुन्छ । त्यो धर्मको मर्यादा कायम गर्नु सरोकारवाला सबै पक्षको जिम्मेवारी हो । यसमा सरकारी निकाय, राजनीतिक दल, प्रत्यासी, नागरिक समाज, मिडिया र स्वयम् मतदाताको बराबरको हिस्सेदारी छ ।

अहिले आचारसंहिता उल्लंघनका घटनाहरूलाई लिएर दलहरूलाई गाली गर्ने, सरकारी निकायको आलोचना गर्ने काम भइरहेको छ । सबै भन्छन्– चुनाव महँगो भयो र गलत प्रत्यासी भए ।

यसो भनिराख्दा हामी मतदाता चनाखो भएर यस प्रवृत्तिमाथि सकारात्मक हस्तक्षेप गर्नुपर्छ भनिरहेका छैनौं । स्थानीय तह निर्वाचनमा पनि धनबल र बाहुबलले इमानदार उम्मेदवारहरूलाई अँचेटेको देखियो । यस पटक पनि त्यसको पुनरावृत्ति हुने सम्भावना त्यत्तिकै छ ।

लोकतन्त्रको प्राणको रूपमा रहेको निर्वाचन प्रदूषित भयो भने देश नै कमजोर हुन्छ । निर्वाचन मूलतः देशलाई माया गर्ने एउटा अवसर हो । हामी जस्तो जनप्रतिनिधि छान्छौं, देश त्यस्तै बन्छ । यस अर्थमा, पार्टी र प्रत्यासीहरू मात्र होइन हामी मतदाता पनि निर्वाचनरूपी परीक्षामा छौं ।

मतदाताले भोटमार्फत आफ्नो छनोटलाई मात्र उजागर गरिरहेका हुँदैनन्, छवि पनि निर्माण गरिरहेका हुन्छन् । मतपत्र शान्तिपूर्ण बदलावको एउटा कारगर औजार हो । मतपत्रमा मोहर नलगाएसम्म हामीसँग मौका छ । यो मौकाको कसरी सदुपयोग गर्ने ?

आम मतदाताले निष्फिक्री यो मौका र आफ्नो विवेक प्रयोग गर्ने स्वतन्त्रता नपाउन्जेल र सही विकल्प छनोटको लागि तटस्थ सूचना पाउने अवस्था नहुन्जेल निर्वाचनको धर्म रक्षा हुन सक्दैन । हामीकहाँ निर्वाचनको दिन सार्वजनिक विदा दिने, बजार र यातायात बन्द गरिन्छ ।

विश्वमा निर्वाचनको दिन बजार खुला हुने, आवागमन सुचारु रहने देशहरू पनि थुप्रै छन् । हामीकहाँ भने राज्यले त्यस्तो आत्मविश्वास प्राप्त गर्न सकेको छैन, जसले निर्वाचनको दिनलाई त्रासद देखाउन खोजेको छ ।

मतदाताको गुणस्तर विकासका लागि अहिलेको मतदाता शिक्षा पर्याप्त छैन । मतदाताले आफूलाई मन परेको विचार, कार्यक्रम, दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक मत दिन पाउनका लागि प्रतिस्पर्धी अवधारणाहरू सहज रूपमा प्रसार भएको हुनुपर्छ ।

त्यस्तै, निर्वाचन आचारसंहिता कानूनीभन्दा नैतिक पक्ष हो । प्रत्येक मतदातामा आफ्नो जिम्मेवारीबोध हुन सक्यो भने फेरि कसैले आचारसंहिता उल्लंघन गर्न सक्तैनन् । हामी सुन्छौं– भोजभतेर भयो, भाडामा मानिस ओरालिए, पैसा बाँडियो । तर, कुनै गाउँ–ठाउँले यस्ता प्रवृत्तिलाई बहिष्कार गर्ने अडान राखेको पाइँदैन ।

स्वच्छ निर्वाचनको अपरिहार्य पक्ष मूल्य–मान्यताहरूको संरक्षण हो, जुन हरेक मतदाताबाट भएन भने घाटा सबैले बेहोर्नुपर्छ । आजको मतदानमा चूक भए पाँच वर्षसम्म पछुताउनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस