कांग्रेसबाट मात्रै मुलुकको समृद्धि: प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठवन्धनको सरकार बनेमा मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् ।
आज कपिलवस्तुको तौलिहवामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले स्वदेशी पूँजी निर्माण गर्न नसक्ने र विदेशी पूँजी पनि भित्र्याउन नसक्ने दाबी गरे ।
उनले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक सरकारले मात्रै मुलुकलाई आर्थिक, सामाजिक विकासतर्फ अघि बढाउनसक्ने दाबी गरे ।
भारत, चीन सहित अन्य विकसित मुलुकसँग सौहार्दपूर्ण सम्बन्ध राखेर मुलुकको अधिकतम हितका लागि काम गर्ने नेपाली कांग्रेस मात्रै भएको उनको जिकिर थियो ।
उनले बाम गठबन्धले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गरिरहेको र त्यसकै आडमा अधिनायकवाद लाद्ने दिवास्वप्न देखेको पनि आरोप लगाए ।
दुईतिहाईको भ्रम नपाल्न गठबन्धनलाई आग्रह गर्दै भने, “त्यस्तो सपना पूरा हुँदैन, नेपाली जनताले त्यसो हुन दिंदैनन् ।”
सभालाई सम्बोधन गर्दै उद्योगपति विनोद चौधरीले २०४८ सालपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले अपनाएको उदारनीतिबाट मुलुकको विकास भएको दाबी गरे ।
२०४८ सालदेखि माओवादी विद्रोह शुरु नहुन्जेल सम्मको अवधिमा मुलुकले आर्थिक फड्को मारेको उनको भनाई थियो ।
सभालाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतले सम्वोधन गरेका थिए ।
गोपाल भण्डारी, कपिलवस्तु