समाचारमंगलबार, १२ मंसिर , २०७४

खानेपानी समस्या समाधानका लागि पोखरी अभियान

मुकेश पोखरेल

जलवायु परिवर्तन तथा तापक्रम वृद्धिका कारण पानीका मुहानहरू सुकेर समस्या भएपछि काभ्रेमा चलाइएको बर्खाको पानी संकलन गर्ने पोखरी अभियानले सुखद परिणाम दिएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिकास्थित खानेपानीको समस्या समाधान गर्न बर्खाको पानी संकलन शुरु गरिएको डराउने पोखरी ।

काभ्रेको नमोबुद्ध नगरपालिका–९, माथिल्लो अधिकारीथोकका महिलाहरू दुई वर्षअघिसम्म खानेपानीका लागि गाग्री बोकेर एक घण्टा टाढाको छत्रेबाँधमा पुग्थे । नमोबुद्ध–९ कै तल्लो अधिकारीथोकमा पनि खानेपानीको समस्या थियो । टोलका नवराज अधिकारी पछिल्लो २० वर्षमा पानीका मूल सुक्दै गएर गाउँमा पानीको हाहाकार भएको बताउँछन् । उनी भन्छन्, “एक घण्टा हिंडेर गए पनि पानी भर्न लाइन बस्नुपर्दथ्यो ।” 

पोखरीबाट राहत
त्यहीबीचमा काठमाडौंका केही पानी विज्ञले पुराना पोखरी मर्मत गरेर बर्खे पानी अड्न सक्ने बनाउन सुझाएपछि खानेपानीको समस्याले छटपटाएका गाउँलेले धमाधम काम गर्न थाले ।

“जलवायु परिवर्तनका कारण आगामी दिनमा झनै चर्कने खानेपानीको समस्याको एकमात्र समाधान भनेको बर्खाको पानीलाई जमीनमा रोक्नु हो।” 

मधुकर उपाध्या

जलाधारविद्

बर्खाको पानीले ‘रिचार्ज’ गराएर मूल बढाउन वडानम्बर ८ को छापडाँडा र आरूबारी चउरमा पनि त्यसै गरिएको थियो । नभन्दै, बर्खे पानी संकलन गरिएका पोखरीभन्दा तल मूल बढ्यो, नयाँ मूल पनि देखिए । अनि आरूबारी चउर र छापडाँडामा पनि खानेपानीको अभाव टर्‍यो ।

दुई वर्ष अगाडि अपनाइएको यो जुक्तिबाट वडानम्बर ९ कै डराउने पोखरी र जोगिपानी पोखरीवासीले पनि राहत पाएका छन् । डराउने पोखरीमा बर्खे भल जम्मा गरेपछि ठूलो अधिकारीथोकमा पानीको मूल बढ्यो, जसलाई मेशीनले तानेर गाउँमा वितरण गरिएको छ ।

त्यस्तै, जोगिपानी पोखरीमा बर्खे पानी जम्मा गरेपछि त्यसमुनिको कुवामा मूल फुट्यो । त्यसबाट माथिल्लो अधिकारी थोकका ४० परिवारलाई राहत मिलेको छ । वडानम्बर–८ बरबोटका कृष्णमान लामा भन्छन्, “बाबुबाजेले बनाएका पोखरीहरूको संरक्षण गर्न थालेपछि पानी पिउन पाइएको छ ।”

जलाधारविद् मधुकर उपाध्या जलवायु परिवर्तनको सबभन्दा धेरै असर पानीको मूलमा परेको बताउँछन्, जसलाई जोगाउने एकमात्र उपाय भनेको पोखरीहरूमा बर्खे पानी संकलन हो । उनका अनुसार, २०–३० वर्षअघिसम्म गाउँघरमा पोखरी खन्ने चलन पनि थियो । ती पोखरीमा वर्षात्‌काे पानी संकलन गरेर गाईबस्तुलाई खुवाउने, भैंसीलाई आहाल बसाउने गरिन्थ्यो । एक–दुई सय वर्षअघि बनाइएका कतिपय धार्मिक पोखरी अहिले पनि अस्तित्वमा छन्, कतिपय चाहिं मर्मत–सम्भार नभएर नाशिए । “पुर्खाले बनाएका पोखरीहरूले पर्यावरण जोगाएको थियो, अब त्यस्ता पोखरी फेरि चाहियो” उपाध्या भन्छन्, “अब गाउँ–गाउँमा सयौं पोखरी बनाउनुपर्छ ।”

पोखरी अभियान
नमोबुद्धको अभ्यास हेरेर धुलिखेल खानेपानी तथा उपभोक्ता समितिले पनि धुलिखेल माथिको वनमा बर्खे पानी संकलन गर्न २५ वटा पोखरी खनेको छ । त्यस्तै, धुलिखेल नगरपालिकाले नगरभित्रका पुराना पोखरीको संरक्षण गर्ने अभियान शुरू गरेको छ ।

धुलिखेलमा पानी संकलनका लागि बनाइएको पोखरी ।

नगरप्रमुख अशोक व्यान्जु नयाँ पुराना गरी यस वर्ष ४० वटा पोखरीलाई पानी संकलन योग्य बनाउने बताउँछन् । धुलिखेलका सबै पुराना पोखरीलाई पुनर्जीवन दिने उनले बताए ।

धुलिखेल बजारमा मात्र १५ वटा पोखरी र ८ वटा ढुंगेधारा थिए । अहिले चार–पाँच वटा मात्र पोखरी सद्दे अवस्थामा छन् । अरू पोखरी खेल मैदानमा परिणत भएका छन् । ‘साउथ एशियन इन्ष्टिच्यूट अफ एड्भान्स्ड स्टडिज’ का जलवायु विश्लेषक ङमिन्द्र दाहाल पुराना पोखरी मर्मत गरेर वा नयाँ पोखरी खनेर आकाशबाट पर्ने पानीमध्ये १० प्रतिशतलाई बग्न नदिएर जमीनभित्र पठाए मात्र पुग्ने बताउँछन् । 

१३औं शताब्दीमा आनन्द मल्लले स्थापना गरेको ऐतिहासिक शहर हो, धुलिखेल । राणाकालमा खानेपानीको समस्या हुँदा स्थानीय समाजसेवी श्रीनाथ व्यान्जुले श्री ३ जुद्धशमशेरलाई विन्ती बिसाएपछि शहरमा बेलायती धारा जडान भएको थियो ।

मुहान नजिकैको जंगलमा थियो । जनसंख्या वृद्धिसँगै पानीको माग बढेर जुद्धशमशेरले व्यवस्था गरेको धाराले नथेगेपछि १७ किलोमिटर टाढाको रोसी खोलाबाट दैनिक १४ लाख लीटर पानी ल्याउन थालियो । त्यो पनि अपुग भएपछि धुलिखेलमा विकल्पको खोजी हुन थाल्दा पोखरी अभियान चलेको छ ।

सुक्दैछ जलाधार पनि
जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धि मात्र नभई बढ्दो शहरीकरणको चाप पनि पानीका स्रोतमा परिरहेको छ र पानीको आवश्यकता झन्–झन् टड्कारो हुँदैछ । जस्तो, धुलिखेल बजारमा २० वर्षअघि नजिकको जंगलबाट दैनिक तीन लाख लीटर पानी आपूर्ति हुने गरेकोमा अहिले एक लाख लीटर मात्र आउँछ ।

धुलिखेलमा पानी आपूर्ति भइरहेको रोसी खोलाको जलाधार क्षेत्रमा पनि त्यसरी स्रोत सुक्दै गएको जलवायु विश्लेषक दाहालसहितको टोलीले तीन वर्ष लगाएर गरेको अध्ययनले देखाएको छ । गत ४४ वर्षको तथ्याङ्कका आधारमा गरिएको अध्ययनले माथिल्लो रोसी जलाधारमा वार्षिक औसत ०.०१५ घनमिटर प्रतिसेकेण्ड प्रति वर्षका दरले पानी घटेको देखाएको छ ।

आकाशे पानी पनि घटेको छ । काभ्रेको गोदावरी, धुलिखेल र खोपासीमा गत ४४ वर्षमा परेको पानीको दरको आधारमा गरिएको अध्ययन अनुसार, गोदावरी क्षेत्रमा औसतमा १०.४ मिलिमिटर प्रति वर्ष कम वर्षा भएको छ भने खोपासीमा ६.३ मिलिमिटर प्रति वर्ष र धुलिखेलमा ९.१ मिलिमिटर प्रति वर्ष कम वर्षा भएको छ । गोदावरी रोसी खोला जलाधार नजिकको क्षेत्र हो । जलाधारविद् उपाध्या जलावायु परिवर्तनका कारण आगामी दिनमा खानेपानीको समस्या झन् चर्कने देख्छन् । उनी भन्छन्, “यसको समाधान भनेको बर्खाको पानीलाई जमीनमा रोक्नु मात्र हो ।”

प्रतिकृया दिनुहोस