दाङमा कांग्रेस सभालाई लक्षित गरी बम विष्फोेट, सात घाइते
दाङको तुलसीपुरमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई लक्षित गरी बम विष्फोट भएको छ ।
तुलसीपुरको अरनिको मैदानमा कांग्रेसले आयोजना गरेको चुनावी सभाभन्दा करीब २०० मीटर टाढा बम विष्फोट भएको हो ।
विष्फोटमा परी एक म्यादी प्रहरी सहित सातजना घाइते भएका छन् ।
घाइते हुनेमा म्यादी प्रहरी विनोद चौधरी, देवीकुमारी डिसी, जेनी डिसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपनि बुढाथोकी रहेका छन् ।
घाइतेमध्ये म्यादी प्रहरी चौधरी र जोनी विसीको अवस्था गम्भीर रहेको छ ।
उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक सुधीरजंग शाहीले जानकारी दिए ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायत नेता सभास्थल प्रवेश गरेपछि बम विष्फोट भएको थियो । रासस