ब्लगसोमवार, मंसिर ११, २०७४

हराइसकेको धुवाँको बासना

कनकमणि दीक्षित

शहर त शहरै भइहाल्यो, धेरै गाउँघरमा पनि आजकाल दाउराको धुवाँको बासना हराइसकेको छ । एलपीजी ग्यासले खाना पकाउने काम छिटोछरितो बनाइदिएको छ, यसको फाइदा भान्सामा दुःख गर्नुपर्नेलाई भएको छ– दाउरा चिर्नु परेन, आगो फुक्नु परेन अनि धुवाँ मिसिएको श्वास लिन पनि परेन ।

तर, उत्पत्तिकालदेखि नै मानव जीवनको सहयात्री हो दाउराको धुवाँ र यो हाम्रो इन्द्रिय अनुभवबाट विलीन हुँदै जानु भनेको हामीले केही गुमायौं नै ।

आधुनिकीकरणको सुनामी व्यहोरिरहेको हाम्रो समाजमा धेरै फेरबदल आइसक्यो– शहरी फैलावट, वास्तुकला, बाटोघाटो, खानपिन जताततै छ संक्रमण । तर पञ्चेन्द्रियको कुरा गर्दा आँखाले देख्ने, जिब्रोले चाख्ने, छालाले छोएको/छामेको थाहा पाउने कुराले केही महत्व पाएको हामी पाउँछौं, कान र नाकले व्यहोर्नुपरेको संक्रमण अलि बेवास्तामा परेको छ ।

आदिकालदेखि सुँघ्दै, देख्दै, हेर्दै, छाम्दै, सुन्दै, चाख्दै आएका कुराहरू यति छिटो फेरबदल भइरहेछन्, हाम्रो उर्लंदो ‘ट्रान्जिशन्’ बारे टिप्पणी गर्ने होशहवास नै छैन ।

डिजल धुवाँले गरेको प्रदूषणको चर्चा गर्दा हामी दाउराको धुवाँको हरक हराएको पत्तै पाउँदैनौं । हुँदाहुँदा करीब एक शताब्दी चूलो र उज्यालोको लागि साथ दिएको मट्टीतेल (र यसको गन्ध/बासना) समेत अतीतका भइसके ।

तिहार बेलाको सयपत्री र गोदावरीको सुवास किन बाल्यकालको जस्तो आज छैन ? या ‘मास प्रोडक्सन’ को फूलको प्रजाति अलि फरक छ, या त विभिन्न नयाँ नयाँ आक्रामक गन्धमाझ हाम्रा रैथाने सयपत्री र गोदावरीको मन्द–मन्द सुवास ओझेलमा पर्‍यो नाकले नचिन्ने गरी । या त हतारोको आधुनिक जीवनयापनमा फूलको सुगन्धलाई ध्यान दिन नसकेको हो ।

सौरभशक्तिको कुरा गरिरहँदा अनेकन पुराना वासनाहरू हराउँदै छन् । घाँसपात र खोले खाने गाईबस्तुको गोबरको वास अहिले शहर–बजारमा सुँघ्न पाइँदैन । औद्योगिक दाना र औषधिको भरमा चल्ने फार्मको गोबरको उत्पादनलाई त ‘गन्ध’ नै भन्नुपर्छ ।

अमेरिका बस्दा किन यताको गोबरले नेपालको जस्तो आत्मीय हरक दिंदैन भन्ने लाग्थ्यो, तर भन्दाभन्दै यताको गोबरको पनि त्यही हविगत हुँदैछ । अनि त गाईगोठ नभनेर डेरी फार्म भन्ने दिन आए ।

कानको सुनाइमा पनि धेरै संक्रमण आएको छ । पानीघट्टको घट्–घट् त लोप नै भइसक्यो । आधुनिकीकरण उन्मुख गाउँघरमा राइसमिलको पुक्–पुक्–पुक् पनि अचेल त्यति छैन, ठूला मिलहरूले बजार ओगटेको कारण होला । ढिकीच्याउँको चुइँ–चुइँको त कुरै नगरौं । रछ्यानको बिगबिगी र बुट्यानको कमीले होला शहरबजारमा धोबीचरा, जुरेली र भद्राईको चिरविरलाई कौवाको ‘काग् ! काग् !’ ले खाइदिएको छ ।

पुरानो आवाज होइन, नयाँ आवाज पनि हराइसके । मेरो बुवा कमल दीक्षितले मदन पुरस्कार पुस्तकालयको संकलन जुटाउन दौड्ने गरेको ‘एन्–एस्–यू फक्स्’ भट्भटे २०१० सालताका वागमती पुल आइपुग्दा दुई किलोमिटर परको पाटनढोकामा मेरी आमा अञ्जु दीक्षितले सुन्नुहुन्थ्यो । आज ध्वनि प्रदूषणले छेवैको मोटरसाइकलको आवाज पनि मस्तिष्क छेड्दैन ।

स्वादको कुरा गरौं । ग्रामीण बालबालिकाको जिब्रो लप्सी, काफल वा ऐंसेलुबाट चक्लेट र तयारी चाउचाउ (मसलाको प्याकेटसहित) मा लहसिसक्यो । अहिले लप्सीको सिजन छ, तर स्कूले केटाकेटी बाटोछेउ लटरम्म फलेको लप्सीको रुखमा आक्रमण गर्ने जाँगर देखाउँदैनन् । लप्सीको चूक–अमिलो भन्दा बजारिया चक्लेट गुलियो, प्यारो भइसक्यो । मेरै बाल्यकालको ‘पिपी’ आज कतै सुनिंदैन । जताततै ‘चक्लेट’ को हाईहाई छ, जबकि त्यो पिपी नै हो ।

भूकम्पबाट भत्किएका मठमन्दिरको पुनःनिर्माणमा जति ढिलाइ गर्‍यो, उत्ति नै गैर–भौतिक सम्पदा लोप हुँदै जानेछन्– पूजा, नाच, जात्रा, मेला सबै । अनि लोप हुँदै जानेछन् यी सबैसँग सम्बन्धित ध्वनि, सुवास, स्वाद, दृश्य र औंलाको ‘टच्’ पनि ।

प्रतिकृया दिनुहोस