राष्ट्रपति भण्डारीद्वारा फाल्गुनन्दको शालिक अनावरण
राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण इलामको चुलाचुलीमा किरात महागुरु फाल्गुनन्दको शालिक अनावरण गरेकी छन् ।
शब्द/तस्वीर: गोपाल गडतौला
चुलाचुलीस्थित बहुभाषिक विद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा सहभागी राष्ट्रपति भण्डारीले विद्यालय परिषरमा स्थापित शालिकको उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहमा बेल्दै उनले मुलुकको समृद्धिका लागि सबै एकजुट भएर अघि बढनु पर्ने बताइन् । देशलाई समृद्धिको बाटोमा लैजाने राष्ट्रिय संकल्प पुरा गर्न र सामाजिक जीवनमा गुणत्मक परिवर्तन ल्याउन उनले सबैलाई आग्रह गरिन् ।
समारोहमा एमाले नेता सुवास नेम्वाङले किरात सभ्यताका असल प्रवर्तक एवम् सुधारक फाल्गुनन्दलाई देशले विभुतिको रुपमा स्वीकार गरी किरात सभ्यताको सम्मान गरेको बताए ।
कांग्रेस नेता केशव थापाले महागुरु फाल्गुनन्द लिङदेनको तपोभूमि रहेको इलामका बिभिन्न क्षेत्रहरु विकासमा पछि परेको बताउँदै सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
उक्त अवसरमा बिभिन्न समुदायका साँँस्कृतिक झाँकी र नृत्य पनि प्रस्तुत गरिएका थिए ।
दक्षिण इलामको चुलाचुली गाँउपालिका– १ मा पर्ने सो स्थानमा दुई वर्षअघि स्थापित फाल्गुनन्द लफायङ बहुभाषिक पाठशालामा १७ जना विद्यार्थी अध्धययनरत छन् ।
पाठशालामा किरात, अंग्रेजी र नेपाली भाषामा पढाई हुनेगरेको शिक्षक पूर्ण चेम्जोङले जानकारी दिए ।