समाचारआइतबार, १० मंसिर , २०७४

तिंलामा कोही पनि मतदान गर्न गएनन्

हिमालखबर

सोलुखुम्बुको तिंलामा बिहान अबेरसम्म पनि स्थानीय जनत मतदानमा सहभागी भएका छैनन् ।

यसअघि स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको साबिक तिंला गाविसवासीले यस पटकको निर्वाचनमा पनि मतदानका नगरेका हुन् ।

तिंलामा रहेका पाँचवटै मतदान केन्द्रमा बिहान ९ बजेसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि अहिलेसम्म कोही पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेका हुन् । 

सोलुखुम्बुका अन्य मतदन केन्द्रमा भने बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । अन्य सबै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए । 

जिल्लाको सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून देखिएको छ । चिसो धेरै भएका कारण मतदाताको उपस्थिति कम रहे पनि क्रमशः बाक्लिँदै गएको र दिउँसो चाप बढ्ने खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए ।

तल्लो क्षेत्रमा भने बिहानैबाट मतदाताहरुको लाइन लागेको छ । 

यसबेलासम्म सुरक्षित रुपमा मतदान कार्य भइरहेको र सुरक्षा अवस्था मजबुत रहेको प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले जानकारी दिए ।
रासस 

प्रतिकृया दिनुहोस