टिप्पणीशनिवार, मंसिर ९, २०७४

‘वर्णमाला’: पहिलो बाल–साहित्य

हिमालखबर

मुद्रण प्रविधि भित्रिएपछि नेपाली बाल–साहित्यलाई घरघर पुर्‍याउने र लोकप्रिय बनाउने काम ‘वर्णमाला’ ले नै गर्‍यो ।

शिशुबोधिनी १९६८

-दीपक अर्याल

बालबालिकाले पढ्ने वा प्रयोग गर्नेमध्ये सबैभन्दा धेरै प्रकाशित, वितरित तथा उपभोग्य सामग्रीका रूपमा ‘वर्णमाला’ प्रचलित छ । त्यसैले पनि ‘बाल–साहित्य वा बाल रुचिका विषयवस्तु’ बारे लेख्दा ‘वर्णमाला’ लाई ‘अक्षर वा अंक’ चिनाउने पाठ्यसामग्रीका रूपमा मात्र परिभाषित गर्न मिल्दैन/हुँदैन ।

त्यसो त ‘वर्णमाला’ का रूप, रङ, आकार–प्रकारहरू फेरिंदा छन् । यसले समेट्ने विषयवस्तु पनि फेरिएका छन् । पहिलेका कथा, कविता, गीत, बाल निबन्ध र अर्ति उपदेश घटेको छ, ‘समाज’ तथा ‘नेपाली शिक्षा’ सुहाउँदो सामग्रीको मात्रा बढेको छ । यो रङ्गीन बनेको छ । चित्र र फोटाहरूको प्रयोग व्यापक छ ।

नेपाली ‘राष्ट्रिय गीत’, ‘राष्ट्रिय पहिचान’ तथा ‘चिह्न’ बुझाउने वा अर्थ लगाइने विविध ‘चित्र’ र जानकारीको प्रचुरता देख्न सकिन्छ । अंग्रेजी गीत र अंग्रेजी भाषा जान्नै पर्छ भन्ने हेतु देखिन्छ । त्यसैले अंग्रेजी गीत, कथा र निबन्ध थपिएका छन् ।

समग्रमा अहिलेको ‘वर्णमाला’ ले नेपाली ‘बाल–साहित्य’ चिनाउने वा पढाउने काम गर्दैन बरू यो शुद्ध रूपमा ‘पाठ्यसामग्री’ मा परिणत भएको छ ।

तथापि समाजमा ‘वर्णमाला’ को प्रभाव कति छ भने अपवाद छाड्ने हो भने नेपाली बाल–साहित्य लेख्ने धेरै लेखक ‘वर्णमाला’ मै समेटिएका साहित्यबाट पहिलो पटक प्रभावित बनेका थिए । उनीहरूले सम्झिरहने कथा, कविता वा गीत यसै ‘वर्णमाला’ कै अंश थिए । उनीहरूको लेखनीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमै ‘वर्णमाला’ कै प्रभाव भेटिन्छन् ।

उदाहरणका लागि सूचीकार, व्यापारी, पण्डित वा शिक्षकलाई किन फरक–फरक आदरार्थी वा अनादरार्थी सम्बोधनहरू प्रयोग गरियो भन्ने कुराको उत्तर न त पुराना ‘वर्णमाला’ भित्र समावेश साहित्यले दिन सक्यो न त नयाँ बाल–साहित्य लेखकहरूले दिन सके ।

त्यसैले यस्ता वाक्य, सम्बोधन वा आदरका शब्द र चिनारीमा १०० वर्ष पछाडि पनि उति फरक देखिंदैन । सांस्कृतिक, भाषिक, जातीय, क्षेत्रीय वा लैङ्गिक उदाहरणका रूपमा आउने अनेकौं मानक शब्द वा अर्थलाई अझै पनि नेपाली बाल–साहित्यले पछ्याइरहेको छ ।

पुरानै कथा, कविता अहिले पनि केही तल–माथि गरेर दोहोरिरहेका र प्रकाशित भइरहेका छन् । अर्ति–उपदेशविनाका कथा वा कविताको कल्पना अझै पनि नेपाली साहित्यले गर्न सकेको छैन ।

त्यसैले पनि १९६८ सालमा प्रकाशित शिशुबोधिनी (दोस्रो भाग) मा समावेश स्याल र दाखको कथा वा सूर्य र हावाको झगडा (पृ. २३), कागको बुद्धिमानी, लोभले हानि (पृ. २४) आदि जस्ता कथाहरू अहिले पनि बाल–साहित्यका सबैभन्दा प्रचलित कथाका रूपमा सम्झिइनु, पढिनु र पढाइनु अस्वाभाविक लाग्दैन ।

पारखि कुकुर
एक जाना ले बाटोमा कुकुर
सुतिरह्या को देखि, कुकुर सँग सोद्धछ
“तँकिन सदै वाटो मा सुति रहन्छस्”
कुकुर भन्छ। “भलाद्मिर वद्मास् छुट्याउन
मान्छे भन्छ। “कसरी छुट्याउँछस्।” कुकुर
भन्छ। “भलाद्मि हरू मलाई सुतिरह्य को
देखि, वाटो छोडेर जान्छन्, वद्मास् हरू
नाहक मा लात् हानेर जान्छन्। (पृ १७-१८)

१९५८ सालमा बालबोध मा प्रकाशित यो कथा अहिलेका थुप्रै बाल–साहित्य भन्दा किन रमाइलो र मौलिक लाग्छ भन्ने विषयमा घोत्लिएर सोचिएकै छैन, गहन अध्ययन भएको छैन । अर्थात् कैयौं कथा, कविता वा गीत अहिले पनि उत्तिकै लोकप्रिय र कर्णप्रिय किन लाग्छन् भन्ने विषयमा खासै छलफल नै भएको छैन ।

वर्णमाला प्रभाव
‘नेपाली बाल–साहित्य’ को विकास तथा विस्तारमा ‘वर्णमाला’ को योगदान लोकप्रिय गीत, कथा वा कविता दिनुमा मात्र सीमित छैन । बाल–साहित्यका लागि आवश्यक शब्दावली, उखान, भनाइ मात्र होइन साहित्यिक उदाहरण तथा अनुप्रासका लागि आवश्यक शब्दभण्डार पनि यसले दिएको छ ।

शिशुबोधिनी को पन्ध्रौं पाठका रूपमा प्रस्तुत “हर्रो’‘वर्रो’ दुवै ‘टर्रा’ हुंदा रहे छन’” (पृ ९), “'खम्बा'मा 'तुम्बा' 'झुण्डायेर फकीरजी सुती हाले” (पृ १५) ले बालबालिकालाई शब्द मात्र सिकाएको छैन, कविताका लागि आवश्यक मानिने अनुप्रास र शब्दलाई एकै ठाउँमा जोडेको पनि छ । ‘वर्णमाला’ ले साहित्य लेखनीको प्रारम्भिक खाका समेत कोरिदिएको छ ।

यसरी नियाल्दा हाम्रो बाल–साहित्यमा ‘वर्णमाला’ ले कम्तीमा दुई फरक प्रभाव पारेको देखिन्छ । एक यो आफैंले बालबालिकाका लागि उपयोगी र आजसम्म पनि सम्झिरहने कथा, कविता, गीत दिएको छ । दोस्रो, बाल–साहित्य लेख्ने अहिलेका पुस्ताका लेखनीमा पनि प्रभाव पारेको छ ।

उवेलामा ‘वर्णमाला’ मा प्रयोग गरिएका शब्द, अर्थ, उदाहरण, अर्ति–उपदेश, सामाजिक, सांस्कृतिक, भाषिक वा पहिचानका केही जटिल प्रश्न, जटिलता तथा मानकहरू जस्ताको तस्तै चूपचाप अहिलेका बाल–साहित्यमा प्रवेश पाउनुको कारण पनि यही हो । त्यसैले ‘वर्णमाला’ लाई नै बाल–साहित्यको प्रारम्भिक रूप मान्दा फरक पर्दैन ।

यो रिपोर्ट पढौं: बेवास्तामा बालसाहित्य

प्रतिकृया दिनुहोस