टिप्पणीशनिवार, मंसिर ९, २०७४

बालसाहित्य, उपदेशको भारी

हिमालखबर

हाम्रा अधिकांश बाल–साहित्यमा आदर्श र नैतिकता खाँदिएका छन्, जसले बालमस्तिष्कमै नकारात्मक असर पारिरहेको छ।
 

- आन्विका गिरी 
भर्खरै सरोज धिताल अनूदित तोत्तो–चान ‘झ्यालमा रमाउने त्यो सानी केटी’ पढें, आफ्ना लागि होइन छोरीका लागि । म उसलाई किताबहरू पढेर सुनाउँछु । ती किताबमध्ये अधिकांश नेपाली भाषामा लेखिएका वा अनुवाद गरिएका हुन्छन् । 

तोत्तो–चान शुरु गर्नुअघि झन्डै आधा दर्जन किताबमा छोरीले बीचमै ‘आपत्ति’ जनाई । ठाडै ‘सुन्दिनँ, पढ्दिनँ’ भनी । उसले भनी, ‘किताबमा किन सधैं हामीलाई मूर्ख, चोर, अल्छी, पढ्न नमान्ने, साग खान नमान्ने, नराम्रो मात्र भनिन्छ ?’ जवाफ मसँग थिएन । तर तोत्तो–चान पढिरहँदा भने उसलाई लाग्यो, किताबमा ऊ पनि छे र उसकी आमा पनि छे ।

त्यसयता मैले बजारमा आएका नेपाली ‘बाल–साहित्य’ का पुस्तकहरू हेर्न थालें । बल्ल थाहा पाएँ, धेरै जसो पुस्तक विशेषतः कथाहरूमा बालबालिकाको चित्रण यस्तै किसिमको हुने रहेछ ।

बालबालिकाका लागि लेख्दा मूलतः नैतिक शिक्षा दिने उद्देश्य राखिंदो रहेछ । यस्तो चलन यहाँ मात्रै नभएरै हुनुपर्छ, अमेरिकी लेखक बेभर्ली क्लेरीले एक अन्तर्वार्तामा भनेकी छिन्, “सानो छँदा त्यस्ता किताब नै मन परेन जसले मलाई केवल असल मात्र सिकाउँथे ।”

वास्तवमा हामी लेखक बालबालिकाले के पढ्न चाहन्छन् भन्नेबारे न उनीहरूलाई सोध्छौं, न त छलफल नै गर्छौं । हाम्रो मस्तिष्कमा एउटा आदर्श बच्चाको जस्तो चित्र कोरिएको छ; कथा, कविता वा अन्य विधामा त्यही प्रकट गरिरहेका छौं ।

बालबालिकालाई टनाटन बुद्धि कोच्नुपर्छ भन्ने धारणाले यस्ता किताबहरू लेखिरहेका छौं जसमा बालबालिकाको रुचि नै छैन । यस्ता किताबले बालबालिकामा परेको प्रभावबारे हामीलाई चासो नै छैन ।

हालै मात्र मैले पढेका सबै बाल कथामा घरको मूली बुवा छन् भने आमा गृहिणी । महत्वपूर्ण कुराका लागि बालबालिका बुवाको निर्णय कुर्छन् । ‘साहसी’ कथाका पात्र बालक मात्र छन् । बालिकाको चित्रण लगभग शून्य छ । यस्ता कथा पढेर हुर्किएको बच्चाको मनोभाव लैंगिक समानताका विषयमा कस्तो होला ?

बालबालिकाका लागि लेखिएका हाम्रा किताबहरूले चोर्न हुन्न, बिहानै उठ्नुपर्छ, साथीसँग मिल्नुपर्छ भनेर उपदेशका भारी त राम्रैसँग बोकाउँछन् तर समाज, संस्कृति, लैंगिक समानताबारे केही भन्दैनन् ।

डाक्टर, इन्जिनियर हुन निश्चित किताब पढ्नुपर्ला तर समाज, संस्कृति, समानता बुझाउने त पाठ्यक्रम बाहिरका यस्तै किताबले नै हुन् । सोच निर्माण गर्ने भनेकै सानैमा पढेका पुस्तक, हेरेका चलचित्र पनि हुन् ।

सबै जातका फूलबारी भनेर नथाक्ने हामी, पुस्तकमा भने कुनै विशेष जातजाति, लिंग, धर्मविशेषको संस्कृति मात्र लेखिरहेका छौं । नेपाल र नेपालीको दायरा नै साँघुरो बनाउँछौं र यही पढेर हुर्केका केटाकेटीको सोच चाहिं फराकिलो हुनुपर्छ भन्ने अपेक्षा राख्छौं ।

केटाकेटीहरू किताबमा लेखिएका कुरा अन्तिम सत्य मानेर पढ्छन् । किनकि उनीहरूलाई ठूला मान्छे सधैं सही हुन्छन् भन्ने सिकाइएको हुन्छ । त्यसैले पनि ठूला मान्छेले लेखिदिएका कुराहरूमा उनीहरू प्रश्न गर्न सक्दैनन् ।

हामीकहाँ वेलावेला पत्रपत्रिकाले मनपरेका पुस्तकबारे सोध्ने गरेका छन् । ‘ठूला मान्छेहरू’ ले त्यो स्तम्भमा लिएका नामहरूमा बाल–साहित्यका कुनै किताब हुँदैनन् । अर्थात् बाल–साहित्य केवल बालबालिकाले मात्र पढ्ने हो भन्ने उनीहरूको धारणा छ । तर यो त अभिभावक, शिक्षकलगायत सबैले मिलेर पढ्नुपर्ने कुरा हो ।

यस्ता किताब मिलेर पढ्नाले बालबालिका र वयस्कबीच छलफल हुन्छ, जसबाट उनीहरूमा आइरहेको परिवर्तन, जिज्ञासा, चाहना र आवश्यकता बुझ्न मद्दत गर्छ । बालबालिकालाई पढेर सुनाउँदै गर्दा आफ्नै पनि पढ्ने बानीको विकास गराउँछ ।

एक त हामीकहाँ पाठ्यक्रम बाहिरका किताब पढ्न प्रेरित नै गरिंदैन । यस्ता किताबले ‘बच्चाको पढाइ बिगार्छ’ भन्ने हाम्रो सोचाइ छ ।

एकदशकअघि मैले राजधानीकै एउटा विद्यालयमा झन्डै एक वर्ष लाइब्रेरियनका रुपमा काम गरें । त्यो अवधिमा कुनै अभिभावक लाइब्रेरी हेर्न आएको मलाई सम्झना छैन । कसैले कहिल्यै मेरो बच्चाले कस्तो किताब पढ्छ भनेर सोधेनन् । अहिले पनि हामी परीक्षामा बच्चाले ल्याउने नम्बरमा अल्झिएका छौं ।

बालबालिकाका लागि लेखिने किताबमा विधाको विविधता मात्र नभई उमेर अनुसारको विषयवस्तु पनि हुनुपर्छ । पछिल्लो समय केही गैरसरकारी संस्थाहरूले पूर्वप्राथमिक विद्यालयका लागि यस्ता सामग्रीको विकास गरेको पाइन्छ ।

व्यावसायिक प्रकाशन गृहले तिनै गैससका लागि भनी केही किताब प्रकाशित गरे पनि बजारकै लागि भनेर नगन्य मात्र छापेका छन् । निम्न र माध्यमिकस्तरका विद्यार्थीका लागि त पुस्तक नै छैन भने पनि हुन्छ ।

त्यसैले उनीहरू वयस्ककै पुस्तक पढ्न बाध्य छन् । अप्ठ्यारा शब्द, घुमाउरा अर्थ र असम्बन्धित विषयमा आधारित यस्ता पुस्तकले बालबालिकाको पठन रुचिमै असर पर्छ ।

बालबालिकाका लागि लेखिएका पुस्तकमा अक्षरको आकार, चित्रको स्थान, रंगको प्रयोग जस्ता कुराहरू निकै महत्वपूर्ण हुन्छन् । चित्र, रंग र सामान्य किताबको भन्दा वजनदार कागजमा छाप्नुपर्ने हुँदा थोरै महँगो पनि पर्न जान्छ । यसैले पनि व्यावसायिक प्रकाशकको रुचि कमै हुन्छ ।

त्यसो त यस्ता किताब पढ्ने पनि कम हुन्छन्, किनेरै पढ्ने त झनै कम । सित्तैंमा पढ्न पाइने लाइब्रेरीमा त चासो नदिने अभिभावकले बच्चालाई किनेरै किताब दिने कुरा विरलै पाइन्छ । त्यसैले पनि बाल–साहित्यको बजार ठन्डा छ । व्यावसायिक प्रकाशकका लागि बाल–साहित्यको बजार ‘आकर्षक’ छैन ।

हामीकहाँ अर्को अनौठो प्रवृत्ति पनि छ । बाल–साहित्य लेख्नेहरूलाई साहित्यकार नै नगन्ने प्रवृत्ति । लेखकहरू पनि बाल–साहित्यका आफ्ना रचनाबारे चर्चा गर्दैनन् ।

उनीहरूले गर्वको साटो हीनताबोध महसूस गरिरहेको भान हुन्छ । लेखक स्वयंले पनि बाल–साहित्य लेखन सबैभन्दा गाह्रो छ भन्ने महसूस गरेको पाइँदैन ।

बालबालिकाका लागि सरल लेखन चाहिन्छ, जसमा जो कोही पोख्त हुँदैनन् । नाम चलेका लेखकहरूले पनि बाल–साहित्य नलेख्नुको कारण यही हो । कति लेखकहरू गैरसरकारी संस्थाको परियोजना अन्तर्गत मात्र बाल–साहित्य लेखिरहेका छन्, जसमध्ये धेरैमा ‘केटाकेटीका लागि लेख्न के छ र !’ भन्ने मानसिकता देखिन्छ ।

साहित्यिक मेला, भेलाहरूमा पनि बाल–साहित्यबारे खासै चर्चा गरिंदैन । पुरस्कारको सूचीमा पनि कुनै बाल–साहित्यका पुस्तक पर्दैनन् । प्रसिद्ध लेखक फिलिप पुलम्यानले त बालबालिकाका लागि लेख्नेले पनि नोबेल र बुकरजस्ता पुरस्कार पाउनुपर्नेमा जोड दिएका छन् ।

पश्चिमा देशहरूमा बाल–साहित्यलाई महत्व दिइए पनि पुरस्कारका सवालमा भने त्यहाँ पनि प्रोत्साहन गर्ने चलन नभएको पुलम्यानको भनाइले प्रष्ट्याउँछ ।

मूलधारका पत्रिकाले भने बालबालिकाबारे एकाध पूलआउट निकालेर आफ्नो दायित्व त ‘निर्वाह’ गरिरहेका छन् तर, बालबालिकाले कस्तो किताब पढ्न चाहन्छन् ? कस्ता किताब निस्किरहेका छन् ? भन्नेबारे बहस भएकै छैन ।

विकसित मुलुकमा बच्चाहरूलाई पढ्न प्रोत्साहित गर्न अनेक तरिका अपनाइन्छ । किताबमै उमेर समूह उल्लेख गरिएको हुन्छ । सञ्चारमाध्यमले सबैखाले लेखक र लेखन दुवैलाई उत्तिकै महत्व दिएका हुन्छन् । आजभोलि विविधतालाई पुस्तकमा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने बहसले व्यापकता पाएको छ । तर, हामीकहाँ यस्तो अवस्था आउन अझै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ ।

यो रिपोर्ट पनि:  बेवास्तामा बालसाहित्य

प्रतिकृया दिनुहोस