रिपोर्टशनिवार, मंसिर ९, २०७४

बेवास्तामा बालसाहित्य

सञ्जीव शर्मा

बालबालिकालाई समाज बुझाउने, सृजनशील र कल्पनाशील बनाउने गतिला नेपाली बाल–साहित्य नै छैनन्।

बालुवाटारस्थित कोपिला आश्रममा अध्ययनरत बालिका । तस्वीर: गोपेन राई

एकात्मक परिवारमा हुर्किरहेका अधिकांश बालबालिका हजुरबुवा–आमाबाट परम्परागत लोककथा सुन्नबाट वञ्चित छन् । व्यस्त आमा–बुवालाई न कथा सुनाउने पर्याप्त समय छ, न बजारमा राम्रा बाल–साहित्यका रचनाहरू नै छन् । 

भनिन्छ, बालबालिकाले आफ्नो संसारको पहिलो ज्ञान साहित्यबाटै पाउँछन् । लोककथा, दन्त्यकथाको माध्यमबाट कल्पनाशील हुने मात्र होइन, आफ्नो भाषा, संस्कृति, परिवेश र आदर्शबारे बाल–साहित्यले नै उनीहरूलाई परिचित गराउँछ ।

बालबालिका स्वभावैले जिज्ञासु हुन्छन् । तीन वर्ष नपुग्दै उनीहरू हरेक वस्तुलाई छुन खोज्ने, सुनेका शब्द र आवाजलाई आफ्नो बुझाइमार्फत अभिव्यक्तिको प्रयास गरिरहेका हुन्छन् । क्रियाशीलता बढेको यही समय नै हो, उनीहरूलाई स–साना कथा र गीत सुनाउन थाल्ने ।

बाल–साहित्यमा समेत दक्खल राख्ने साहित्यकार भिक्टर प्रधान बालबालिकाका लागि अंग्रेजीका ‘राइम्स’ जस्ता नेपाली शिशुगीतको टड्कारो अभाव रहेको बताउँछन् । “साना नानीहरूमा मनोरञ्जन र कल्पनाशीलता बढाउने शिशु गीत नहुँदा उनीहरू अंग्रेजीकै राइम्समा रमाउन बाध्य छन्”, उनी भन्छन् ।

पाँच वर्षमा हिंडिरहँदा बालबालिका कथा मात्रै सुन्दैनन्, त्यसमाथि प्रश्न पनि गर्न थाल्छन् । पात्र र तिनको भूमिकाको औचित्य खोज्छन् । उत्सुकता यति धेरै हुन्छ कि उनीहरू धेरैभन्दा धेरै सुन्न, हेर्न र सिक्न चाहिरहेका हुन्छन् । यस्तो वेला अभिभावक र विद्यालयले गुणस्तरीय बाल–साहित्य उपलब्ध गराउन सक्नुपर्छ । विडम्बना, नेपाली पुस्तक बजारमा त्यसैको अभाव छ ।

संख्या मात्र बढे
पछिल्लो दशकमा बाल–साहित्य लेखन संख्यात्मक रुपमा बढे पनि गुणस्तर निकै कम छ । “बाल–साहित्य लेखन धेरै अगाडि बढेको छ” बाल–साहित्य सम्बन्धी शोधकर्ता प्रमोद प्रधान भन्छन्, “तर, गुणस्तर र संख्यात्मक दुवै हिसाबमा यो पर्याप्त छैन ।”

अहिले प्रकाशकहरू पनि थपिएका छन्, बाल–साहित्य मात्रै लेख्ने लेखक पनि देखिएका छन् । “तर, निकै कमले मात्र बालमनोविज्ञान बुझेर लेखिरहेका छन्”, बाल–साहित्यकार अनुराधा शर्मा भन्छिन् ।

बालबालिकाको शिक्षामा काम गरिरहेको गैरसरकारी संस्था रुम टू रिडमा कार्यरत उनी बजारमा उपलब्ध बाल–साहित्यमध्ये ९० प्रतिशत त कामै नलाग्ने भएको बताउँछिन् ।

साहित्यकार प्रधानको भनाइमा पनि अहिलेका अधिकांश बाल–साहित्य निरश र जबर्जस्ती सन्देश दिने खालका छन् । “कति राम्रो हुन्थ्यो यदि बालबालिकाको पहिलो पुस्तक उसको जीवन र घरसँग जोडिएको हुँदो हो त” उनी भन्छन्, “बाल–साहित्यमा उनीहरूकै संसार हुनु अनिवार्य हुन्छ ताकि कथा वा कविता सुनिरहँदा आफूलाई पनि कल्पना गर्न सकुन् ।”

तर, यस्ता रचनाहरू निकै थोरै छन् । भएका चित्रकथाका पुस्तक (पाठ्यसामग्री) मा पनि भाषा, चित्र र विषयवस्तुमा थुप्रै समस्या छन् ।

कतिपय कथामा भूत, बोक्सी, सौतेनी आमा, हिंसा भरिएका छन् । स्थिति कस्तोसम्म छ भने पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेका केही पुस्तकहरूमा समेत भाषा र चित्रहरू उपयुक्त छैनन् ।

“बालबालिकामा रोमाञ्च पैदा गर्ने, एउटै पुस्तक पटकपटक पढ्न उत्सुकता बढाउने पुस्तक निकै कम छन्”, प्रधान भन्छन् ।

बाल–साहित्यकै लागि ‘फाइनटासी इम्प्रिन्ट’ खोलेको प्रकाशन संस्था फाइनप्रिन्टका अजित बराल राम्रा रचना अभावकै कारण थप बाल–साहित्य छाप्न नसकेको बताउँछन् ।

भन्छन्, “साँच्चिकै गुणस्तरीय बाल–साहित्य प्रकाशन गर्न चाहिरहेका छौं, तर नयाँ शैलीका लेखकहरू नै भेटिएका छैनन् ।”

केही स्थापित लेखकहरूसँग बाल–साहित्य रचनाबारे कुरा भइरहेको बताउने उनी अहिले बेलायती बाल–साहित्यको नेपाली अनुवाद प्रकाशनको तयारीमा रहेको बताउँछन् ।

शिक्षा विभाग, प्रारम्भिक बालविकास शाखाका उपनिर्देशक हरिप्रसाद खनाल कथा सुन्दासुन्दै बालबालिका नयाँ शब्द र परिवेशसँग परिचित हुने बताउँछन् ।

“उनीहरूमा भाषासँगको सामीप्य बढ्छ । रचनात्मक हुन थाल्छन्” उनी भन्छन्, “प्रत्येक दिन बच्चालाई कथा सुनाउनुपर्छ, यसबाट उनीहरूले कथाभन्दा धेरै सिकिरहेका हुन्छन् ।”

बाल–साहित्य पढेर बालबालिकाले कल्पनाको पखेटा फिंजाउन सकुन्, कथाभित्र आफूलाई समाहित गरुन् र वर्षौंसम्म सम्झिरहुन्। त्यस्तो बाल–साहित्य लेखिनुपर्छ। 
नयनराज पाण्डे, साहित्यकार
 

विविधताको कमी
प्रविधिको द्रुत विकाससँगै अहिलेका बालबालिकाको संसार बदलिएको छ । बढ्दो शहरीकरणले परिवेशसँगै उनीहरूको पठन शैली, खेल र व्यवहार फेरिएको छ । त्यहीअनुरुप बाल–साहित्य लेखिनुपर्ने चुनौती पनि थपिएको छ ।

बालबालिकाका लागि दुई वटा चित्रकथाका पुस्तक लेखेका साहित्यकार बुद्धिसागर पनि यो कुरामा सहमत छन् । “मैले ८ कक्षामा पढ्दा पहिलोपटक टेलिफोन देखें अहिले तीन वर्ष पुगेकी मेरी छोरी मोबाइलमा अभ्यस्त भैसकेकी छे” उनी भन्छन्, “मैले आफ्नै बाल्यकाल सम्झेर लेखें भने अहिलेका बालबालिकाले अपमानित महसूस गर्नेछन् ।”

अनुसन्धानकर्ता प्रधान साहित्यमार्फत नै बालबालिकालाई वातावरण, विज्ञान प्रविधि, शहरीकरणका विषयमा बुझाउनुपर्ने वेला आएको बताउँछन् ।

अधिकांश नेपाली बाल–साहित्यमा मध्यपहाडी परिवेशको चर्चा पाइन्छ । तराई र हिमालका कथा निकै कम मात्र भनिएका छन् । उपनिर्देशक खनाल भने अधिकांश लेखक यही क्षेत्रबाटै आएकाले यस्तो भएको बताउँछन् । रुम टु रिडकी शर्मा भने विविधता ध्यानमा राख्दै लेखकहरूलाई प्रोत्साहित गरिरहेको बताउँछिन् ।

प्राथमिक कक्षाका बालबालिकाका लागि अत्यावश्यक मातृभाषाको साहित्य त छैन भन्दा पनि हुन्छ । यही विविधता ध्यानमा राख्दै नेवारी र मैथिली भाषामा केही कथा प्रकाशन गरिएको रातोबंगला बुक्सकी संयोजक मोनिका गुरुङ बताउँछिन् ।

“नेवारी र मैथिली भाषामा अनूदित केही पुस्तक निकालेका छौं तर अन्य भाषासम्म पुग्न सकेका छैनौं”, कथालयका राजीवधर जोशीको भनाइ छ । लेखक र प्रकाशक काठमाडौंमा सीमित भएकाले पनि यस्तो भइरहेको उनको दाबी छ ।

दृष्टिविहिन बालबालिकाका लागि त साहित्यका पुस्तक छैनन् नै भन्दा पनि हुन्छ । रातो बंगला बुक्सले दुई नेपाली मातृभाषा र पाँच विदेशी भाषामा अनूदित कनकमणि दीक्षितको ‘धुमधामको घुमघाम’, शान्ता दीक्षितको ‘केही पाएँ, केही गुमाएँ’ र मिलन दीक्षितको ‘बाफ रे हाब्रे’ लाई ब्रेललिपिमा प्रकाशन गरी निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो एक दशकमा बाल–साहित्य लेखनमा संख्यात्मक सुधार आए पनि गुणात्मक सुधार हुनसकेको छैन, किशोरकिशोरीका लागि त बाल–साहित्य छैन भन्दा पनि हुन्छ। 
अनुराधा शर्मा,कथाकार
 

छैन किशोर साहित्य
अहिले लेखिएका धेरै बाल–साहित्य तीनदेखि ६ वर्ष उमेरसमूह लक्षित छन् । ७ वर्षभन्दा माथिका बालबालिकाका लागि रचना खोज्न हम्मेहम्मे पर्छ । पुस्तक रोज्न आफैं पसलसम्म जान सक्ने किशोरकिशोरी पठनको प्यास मेटाउन बाल–साहित्यबाट एकैपटक बयस्क साहित्यमा पुगिरहेका देखिन्छन् ।

“किशोरकिशोरीहरूका लागि नीतिकथा वा पञ्चतन्त्रका कथाबाट प्रभावित परम्परागत साहित्यबाहेक नयाँ विषयवस्तु र शैलीमा लेखिएका पुस्तक दश, पन्ध्रवटा मात्रै होलान्” कथालयका जोशी भन्छन् । यो उमेरका लागि स्वीडेन, जापान, बेल्जियमका केही पुस्तकका कथा अनुवाद गरी प्रकाशन गर्न लागेको उनी बताउँछन् ।

केही वर्षअघि अमेरिकी लेखक ‘स्कट ओ डेल’ को चर्चित कृति ‘एन आइल्याण्ड अफ ब्लू डल्फिन’ लाई नेपालीमा अनुवाद गरेका साहित्यकार भिक्टर प्रधान त्यस्तो उपन्यास वा ह्यारी पोर्टरजस्ता कृतिका शृंखलाहरू छापिनुपर्नेमा जोड दिन्छन् ।

जान्नेबुझ्नेकै बेवास्ता
समस्या लेखन र प्रकाशनमा मात्र छैन; शिक्षक र अभिभावकमा पनि छ । प्रारम्भिक बाल विकास शाखाका उपनिर्देशक खनाल भएकै राम्रा बाल–साहित्यको पनि उपयोग नभएको तर्क गर्छन् ।

“अधिकांश अभिभावकमा बाल–साहित्य पढ्न प्रेरित गर्ने बानीको विकास नै भएको छैन” बाल–साहित्य लेखनीमा समेत रहेका खनाल भन्छन्, “शिक्षक पनि पढाउन जान्दैनन् ।” खनाल कतिपय विद्यालयको अनुगमनमा जाँदा बाल–साहित्यका पुस्तकहरू कतै दराजमा थन्काइएका र कतै असान्दर्भिक पुस्तकसमेत देखेको बताउँछन् ।

कथालयका जोशी पनि काठमाडौं, पोखराजस्ता शहरी क्षेत्रका सचेत अभिभावक बाहेक अरुले बालबालिकालाई बाल–साहित्य पढ्नमा उतिसारो प्रेरित गरेको आफूले नपाएको बताउँछन् ।

रुम टु रिडकी शर्मासँग पुस्तक मेलामा नानीहरूसँग आएका अभिभावकले ‘यति सानो पुस्तक त यहीं बसेर पढे भइहाल्यो नि, किन किन्नु’ भन्दै फर्केका थुप्रै अनुभव छ ।

बाल–साहित्यमा नयाँ लेखक पनि आइरहेकै छन्, नयाँ पुस्तक पनि निस्किरहेका छन् । पठन संस्कृति नबढेको भन्ने हो भने कहाँ जान्छन् त ति कृति ? शोधकर्ता प्रमोद प्रधान गैरसरकारी संस्थाहरूले विद्यालय र पुस्तकालयका लागि एकमुष्ट पुस्तक खरीद गरी अनुदान दिने गरेकाले पनि प्रकाशन बढेको हुनसक्ने बताउँछन् । यसका साथै सरकारले सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री खरीदका लागि दिने अनुदानबाट पनि बाल–साहित्यका पुस्तक खरीद गरिएको देखिन्छ । 

गाह्रो लेखन
महान रुसी लेखक लियो टोल्सटोय, नोबेल पुरस्कर विजेता भारतका रवीन्द्रनाथ टेगोरदेखि स्थापित लेखक विष्णु प्रभाकरलगायत थुप्रैले बाल–साहित्यमा कलम चलाएका छन् ।

तर, नेपालमा भने स्थापित लेखकहरूले बाल–साहित्यलाई बेवास्ता झैं गरिरहेका छन् । किन त ?

“बाल–साहित्य लेखन निकै गाह्रो काम हो”, साहित्यकार नयनराज पाण्डे भन्छन् । बालमनोविज्ञान बुझेर उनीहरूलाई उद्वेलित पार्न सक्ने गरी लेख्नु कठिन भएको उनको भनाइ छ ।

“कथामा बालपात्र, देशभक्ति, आदर्श भएर मात्र हुँदैन, पात्रसँगको आत्मीयतासँगै कल्पनाको उडान भर्न सक्यो र वर्षौंसम्म सम्झिरहन सक्यो भने मात्रै त्यो साँच्चिकै बाल–साहित्य हुन्छ”, उनी भन्छन् ।

सीमावर्ती शहर नेपालगञ्जमा हिन्दी बाल–साहित्य पढेर हुर्केबढेका पाण्डे त्यस्ता पुस्तकहरू नेपालीमै भइदिए हुन्थ्यो भन्ने सोचेरै दुईवटा बाल चित्रकथा प्रकाशित गरेको बताउँछन् । “अहिले ८ वर्षभन्दा माथिका लागि बाल उपन्यास लेख्दैछु”, उनी भन्छन् ।

साहित्यकार बुद्धिसागर त गाह्रो भन्दैमा बाल–साहित्य नलेखिने हो भने यसले नेपाली साहित्यलाई नै असर पार्ने बताउँछन् । “नेपाली बाल–साहित्यको अभावमा बालबालिका हिन्दी र अंग्रेजीका कार्टूनतर्फ आकर्षित छन्” उनी भन्छन्, “भोलि यो पुस्ताले नेपाली साहित्य नै नपढ्ने जोखिम छ ।”

राम्रा पुस्तक कसरी छान्ने 
बालबालिकाका लागि पुस्तक छनोट गर्दा अभिभावक र शिक्षक आफैंले पढेर मात्र किन्नुपर्ने शोधकर्ता प्रधानको सुझाव छ । राम्रा पुस्तकहरू शिक्षक वा अरुले पनि सिफारिश गर्न सक्छन् ।

नेपाल बाल–साहित्य समाजले २०४५ सालदेखि वर्षभर प्रकाशित पुस्तकमध्ये उत्कृष्ट कृतिको छनोट गरी पुरस्कृत गर्दै आएको छ । पुरस्कार प्राप्त यस्ता कृति पनि राम्रोमा पर्न सक्ने प्रधानको भनाइ छ । “तर कुनै निकायबाट ५० वटा मात्रै भए पनि बालपुस्तकको सूची तयार पार्न सके धेरै उपयोगी हुनेथियो”, उनी भन्छन् ।

प्रारम्भिक बालविकास शाखाका उपनिर्देशक हरिप्रसाद खनाल भने लामो समय द्वन्द्व र संक्रमणकालबाट गुज्रिएको मुलुकका बालबालिकालाई उत्साह र उमंगका साहित्य पढाइनु जरुरी भएको बताउँछन् । “बालबालिकामा सकारात्मक ऊर्जा भर्ने काममा साहित्यले महत्वपूर्ण भूमिका खेल्न सक्छ”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस