समाचारशनिबार, ९ मंसिर , २०७४

हिंसामा नउत्रन कांग्रेसको आग्रह

हिमालखबर


नेपाली कांग्रेसले निर्वाचनका समयमा लोकतान्त्रिक विधि, मूल्य मान्यता, संस्कार र संस्कृतिअनुरुप आफ्ना व्यवहार प्रदर्शन गर्न र हिंसाको राजनीतिमा नउत्रन वाम गठबन्धनका नेता र तिनका कार्यकर्तासँग आग्रह गरेको छ । 

लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न पाउने अधिकारमाथि गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विभिन्न जिल्लामा कांग्रेसका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेको जनाउँदै यस्तो क्रियाकलाप नदोहर्‍याउन काँग्रेसले माग गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा नेकाका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गर्नेलाई कानूनको दायरामा ल्याउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ । 

विज्ञप्तिका अनुसार आज बिहान नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १ का नेकाका उम्मेदवार विष्णु लामिछाने चढेको सवारी साधनलाई लक्षित गरी हुप्सकोट गाउँपालिका वडा नं ५ गोजापोखरी नजिक वाम गठबन्धनका कार्यकर्ताले बम प्रहार गरेको जनाइएको छ । 

साथै ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका वडा नं ३ का नेका चुनाव प्रचारप्रसार समितिका संयोजक राजकुमार ढुंगानालगायत अन्यलाई गएराति वाम गठबन्धनका कार्यकर्ताले सांघातिक आक्रमण गरेका विज्ञप्तिमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस