हुम्लाको विद्यालयलाई ग्वान्जाउका नेपालीद्वारा ६ लाख सहयोग
चीनको ग्वान्जाउमा बसोबास गर्दै आएका नेपालीहरुले हुम्लाको सिमिकोटस्थित हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयलाई रु. ६ लाख सहयोग गरेको छ । अत्यन्त विकटस्थानमा रहेको विद्यालयको आवास गृह निर्माणकालागि संकलित रकम विद्यालयको खातामा हस्तान्तरण गरिएको मदनकृष्ण अर्यालले जानकारी दिए ।
विद्यालयका संचालक सुर्यप्रसाद शर्माले आवासगृह निर्माणको क्रममा पहिलो तला सकिएर दोस्रो तलाको सुरुवातदेखि नै आर्थिक अभाव भएपछि ग्वान्जाउस्थित बाणिज्य दुताबासमार्फत नेपाली समुदाय समक्ष सहयोगको आग्रह गरेका थिए । ग्वान्जाउमा रहेका नेपालीले दुई दिनमै स्वस्फूर्त रुपमा रु. ६ लाख संकलन गरेर पठाएका हुन । ८८ जनाले ३६ हजार ८०८ आरएमबी संकलन गरेका थिए ।
विगतमा पनि चीनबाट एनआरएनएको पहलमा भूकम्प लगायत नेपालमा आईपरेका प्राकृतिक विपत्ति जस्तै बाढि एवं पहिरोको समयमा समेत तत्कालै ठुलोमात्रामा नगद एवं आवस्यक राहत सामाग्री जाने गरेको छ ।