अन्तर्वार्ता/विचारशुक्रवार, मंसिर ८, २०७४

'अबको बजार विद्युतीय साधनको हो'

हिमालखबर

स्थानीय तहको निर्वाचन र आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले मुलुकलाई संक्रमणकालबाट राजनीतिक स्थिरताको मार्गमा डोर्‍याउने संकेत देखिन थालेको छ । राजनीति सामान्य हुँदा स्वाभाविक रुपमा अर्थतन्त्र गतिशील हुन्छ र यसले विकास बढाउँछ ।

विकासले गति लिंदा अटोमोबाइल्स क्षेत्रमा कस्तो प्रभाव पर्ला ? अर्थात् समग्र अर्थतन्त्रमा यो क्षेत्रको भूमिका र योगदानको भविष्य कस्तो होला ? आईएमई मोटर्स प्रा.लिका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीसँग मस्त केसीले गरेको कुराकानीः

कपिल शिवाकोटी, प्रमुख कार्यकारी अधिकृत, आईएमई मोटर्स प्रा.लि । तस्वीरः विक्रम राई

अहिले नेपालमा गाडीको व्यापार कस्तो छ ?
गाडीको व्यापारलाई समग्रमाभन्दा केन्द्रिकृत गरेर हेर्नुपर्ने हुन्छ । प्यासेन्जर कार र कन्ष्ट्रक्टिभ भेइकल (निर्माणमा प्रयोग हुने सवारी साधन)को व्यापार शत प्रतिशत नै बढेको छ । तर, ट्रक र बसको व्यापा।र त लगभग ५० प्रतिशतले ओरालो लागेको छ । बसको व्यापार घट्नुको एउटा कारण मुग्लिङ–नारायणघाटको बाटो पनि हो । किनभने नयाँ बस किन्यो चलाउन थालेको केही समयमै बाटोकै कारण बिग्रन थाल्छ । उता, ट्रकको व्यापार घट्नुको मूख्य कारण चाहिं समितिले दर्ता बन्द गरेर हो । ट्रक समितिहरुले एक वर्षदेखि नयाँ ट्रक दर्ता बन्द गरेका छन् ।

सिण्डकेटकै कारण समितिहरुले नयाँ ट्रक दर्ता नगरेका हुन् ?
सिण्डकेटभन्दा ट्रक व्यवसायी समितिहरुले ट्रक धेरै भए सामान पाउन छोड्यो, व्यापार बढेन भनेर दर्ता नगरेका हुन जस्तो मलाई लाग्छ । गतवर्ष त ट्रकको व्यापार धेरै राम्रो थियो । अहिले पनि ट्रक किनेर समितिमा दर्ता नगरी चलाउन पाइन्छ । समितिमा आवद्ध हुँदा सुरक्षित महसुस हुने कारणले व्यवसायीहरु समितिमा आवद्ध हुन चाहन्छन् ।

राजनीतिक दलहरुको घोषणापत्रमा विकास र समृद्धिले प्राथमिता पाएको छ । कन्ष्ट्रक्टिभ भेइकलको व्यापार बढ्नुमा यसको पनि केही प्रभाव छ ?
यसलाई अहिले नै मूल्याङकन गर्नु त अलि हतार नै होला । तर, केही न केही सकारात्मक प्रभाव चाहिं अवश्य पर्छ । अब नेपालमा विकास र समृद्धिको विकल्प पनि छैन । अहिले बनिरहेका सडक, हाइड्रो, विमानस्थल लगायतका अन्य साना ठूला आयोजनाहरुकै कारण कन्ष्ट्रक्टिभ भेइकलको व्यापार बढेको हो । र, अझै बढ्छ ।

राष्ट्र ब्यांकले २०७४/७५ को मौद्रिक नीतिमार्फत अटो लोनको सीमा ६५ प्रतिशत पुर्‍याएपछि गाडीको व्यापारमा कस्तो प्रभाव परेको छ ?
यो सीमा कमर्सियल भेइकलमा भने लागू हुँदैन । प्यासेन्जर कारको व्यापारमा केही हदसम्म असर त गरेकै छ ।

राष्ट्र ब्यांकले प्यासेन्जर कारमा हुने लगानीलाई अनुत्पादक क्षेत्रको लगानी भनिरहेको छ । यसमा तपाईको धारणा के छ ?
यसलाई दुई तरिकाले हेर्नुपर्ने हुन्छ । अनुत्पादक पनि हो । तर, कार आवश्यकता बढी हो । हैन भने राष्ट्र व्यांकका ठुला कर्मचारी स्वयम् किन कार चढ्नुहुन्छ ? यो वास्तविक हो की प्यासेन्जर कार साधन मात्रै हो । त्यसले प्रत्यक्ष कमाई गर्दैन । तर, यसले उत्पादकत्व चाहिं बढाउँछ । कारले प्रत्यक्ष फाइदा नदिए पनि कमाउनको लागि मद्दत गर्छ नै । यसले अर्थतन्त्रलाई चलायमान पनि बनाउँछ ।

ब्यांकले यसरी लगानीको सीमा तोक्नु कति सान्दर्भिक हो ?
यसलाई पनि दुई तरिकाले हेरौं । केही हदसम्म सही पनि हो यसले अनावश्यक रुपमा गाडीको वृद्धिलाई पनि रोक्छ । तर, गाडीकै कारण आम्दानीमा वृद्धि हुने व्यक्तिहरुका लागि त यो गलत भयो ।

लामो समयपछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल छ । यसले गाडी व्यवसायमा केही सकारात्मक सन्देश देखिएको छ ?
तत्काल नै यसको प्रभाव देखिने पनि हैन । सबैको ध्यान चुनावतिर भएका कारण अहिले त व्यापार ओरालो लागेकोे छ । तर, यसले सकारात्मक संकेत त अवश्य ल्याउँछ । चुनावपछि स्थिर सरकार होस् । स्थिर नीति होस् । अटोमाबाइल्सको मात्रै हैन समग्र व्यापारमा निकै सकारात्मक परिवर्तन देखिन्छ ।

पछिल्लो समय निजी गाडीका प्रयोगकर्ता धमाधम बढेका छन् । यसले के संकेत गर्छ ?
निजी गाडीको व्यापार राम्रो छ । तर, प्यासेन्जर कार विक्रीको पनि सिजन हुन्छ । आजभोलीदेखि चैतसम्म प्यासेन्जर कारको लागि अफ सिजन हो । चैतपछि चाहिं व्यापारमा केही सुधार हुन्छ । बजेटले गाडिको मूल्य बढ्छ भन्ने मानसिकताले पनि बैशाखमा अलि व्यापारमा सुधार हुन्छ । विशेषगरी चाडबाडमा एकदमै व्यापार बढ्छ । गाडीको कुल व्यापारको ४० प्रतिशत त चाडबाडमा मात्रै विक्री हुन्छ ।

विशेषगरी काठमाडौं उपत्यकामा सवारीसधानको चाप धेरै भयो भन्ने गरिन्छ । सरकारले समय सुहाउँदो व्यवस्थापन गर्न नसकेर हो वा आवश्यकताभन्दा धेरै सवारीसाधन भित्रिएर हो ?
पहिलो कुरा नियम पालन नगर्ने हाम्रो संस्कारले यो अस्तव्यस्थता देखिएको हो । सर्वसाधारणले आकाशे पुल, जेब्रा क्रसिङको प्रयोग गर्दैनन् । चालकले पनि आफ्नो लेनमा गाडी चलाउँदैनन् । सबैलाई हतार हुन्छ । ट्राफिक लाइटको व्यवस्था छैन । बाटो नै अस्तव्यस्त छ । हाईप्रोफाइलले चढ्ने गाडी नै जथाभावी चलाइएको पाइन्छ । यी विविध कारणले चाप बढी देखिएको हो । गाडी त निकै कम छन् । नेपालमा अहिलेसम्म जम्मा दुई प्रतिशत जनताले मात्रै निजी गाडी प्रयोग गरिरहेका छन् ।

अहिले विक्री भइरहेका कति प्रतिशत गाडीले फाइनान्सिङ सुविधा लिइरहेका छन् ?
व्यक्तिगत प्रयोजनमा प्रयोग हुने ८० प्रतिशतभन्दा बढीले र शत प्रतिशत कमर्सियल भेइकलले फाइनान्सिङको सुविधा लिइरहेका छन् ।

अटोमोबाइल्सको क्षेत्रबाट मात्रै मोटो रकम त विदेशीयो नी ?
एकदम सही । गाडी किन्दा प्रत्यक्ष रुपमा लगानी त बाहिरियो । सँगै एउटा गाडीका लागि २०औं वर्षसम्म चाहिने पेट्रोल, डिजेलदेखि पार्टस्का लागि लाखौं रुपैयाँ विदेशी बजारमा पुगिरहेको छ । एकोहोरो रकम विदेशिनु भनेको मुलुकको अर्थतन्त्रमा जोखिम निम्त्याउनु हो । अब यसलाई कम गर्न त सकिन्न । तर, हामीले पनि त्यसैगरी हाम्रा उत्पादनहरु विदेशी बजारमा पठाएर यसलाई चेक एण्ड ब्यालेन्समा राख्नुपर्छ ।

नेपालमा विक्री हुने कमर्सियल भेइकलमा आईएमई मोटर्सको हिस्सा कति छ ?
अशोक ले–ल्याण्डको भारतमा ३५ प्रतिशत हिस्सा छ । नेपालमा त्यसको तुलनामा केही कम छ । अहिले विक्री पछिको सेवालाई बढी ध्यान दिइएको कारणले हाम्रो हिस्सा बढिरहेको छ । कुल बजार हिस्साको कुरा गर्दा सेग्मेन्ट अनुसार फरक–फरक छ । कुनैमा ५ प्रतिशत छ कुनैमा ५२ प्रतिशत छ । समग्रमा भन्नुपर्दा लगभग १२ प्रतिशत बढी हिस्सा ओगटेका छौं । अबको एक वा दुई वर्षमा हामी निकै अगाडि बढ्दैछौं । क्रुजर र अफरोड बाइकमा त हामी निकै अगाडि छौं । विशेषरी क्रुजरमा त हामी पहिलो हौं ।

आईएमई समुह अटोमोबाइल्सको क्षेत्रमा किन आयो ?
नेपालले चाँडै समृद्धिको बाटो समात्दै छ । किनभने अब नेपालमा विकासभन्दा अरु केही गर्न बाँकी छैन । सधैं राजनीतिको वरिपरि घुमेर मुलुक अगाडि बढ्न सक्दैन् । विकास निर्माण र समृद्धिका लागि यातायात पहिलो आवश्यकता हो । त्यसैले, हामी यो क्षेत्रमा अगाडि बढिरहेका छौं । अहिले टू–ह्विलर्स, पिकअप भ्यान, ट्रक, साना ठुला बस र कन्ष्ट्रक्टिभ भेइकलमा काम गरिरहेका छौं । छिट्टै हामी प्यासेन्जर कार र स्पोर्टस बाइक पनि भित्र्याउँदै छौं ।

दलहरुले विद्युतीय सवारी साधनलाई प्रमुखताका साथ चुनावी घोषणापत्रमा स्थान दिएका छन् । यसतर्फ व्यवसाय विस्तार गर्ने केही योजना छ ?
घोषणापत्रमा समेटिएको त छ । तर, ति अध्ययन, अनुसन्धानभन्दा पनि सस्तो लोकप्रियताका लागि समेटिएका छन् । आधारभुत आवश्यकताका लागि नै अहिले विद्युत् पुगिरहेको छैन । माग दिनहुँ बढिरहेको छ । अब माग अनुपातमा उत्पादनलाई पनि अगाडि लैजानु जरुरी छ । त्यसपछि विद्युतीय सवारीसाधनतर्फ अगाडि बढ्दा उचित होला । यसको भविष्य एकदम राम्रो छ । संसारका धेरै मुलुकमा विद्युतीय सवारी साधनलाई अनिवार्य बनाउन थालिसकिएको छ । हाम्रो मुलुकमा तत्काल परिक्षणका लागि केही सवारी चलाउन सकिएपनि अहिले नै विद्युतीय सवारीमा जान अलि कठिन नै छ । तर, वास्तविकता के हो भने निकट भविष्यमै विश्वभर नै अबको बजार विद्युतीय साधनको नै हो । त्यसलै गर्दा केही समयमा हामी साना मात्रै हैन ठुला र लामो दुरीका विद्युतीय बसहरु नै चलाउने योजनामा छौं ।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)को अधिवेशनको तयारी पनि भइरहेको छ । अटोमोबाइल क्षेत्रको विकासमा संस्थाको भूमिका कस्तो छ ?
समग्रमा यसका गतिविधि र क्रियाकलापहरु सन्तोषजनक नै छन । तर, स्पेयर्स पार्टस, कन्ष्ट्रक्टिभ भेइकल लगायतका क्षेत्रलाई उति महत्व दिइएको छैन् । नाडाले प्यासेन्जर कारमा अलि बढि महत्व दिएको हो की जस्तो लाग्छ । यसलाई सुधार गर्दै लानुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस