विद्यालयमा बम विष्फोट गराउनेलाई कडा कारबाही गर्न माग
विद्यालयमा बम विस्फोट गराउने आतङ्ककारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न विद्यालयसँग सम्बन्धित संस्थाहरुले माग गरेका छन् ।
निजी तथा आवासीय विद्यालय संगठन, काठमाडौँ जिल्लाले आज आयोजना गरेको कार्यक्रममा उच्च मावि सङ्घ (हिसान) निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवशीय विद्यालय संगठन (एनप्याब्सन)का अध्यक्ष तथा शिक्षकले घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।
हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्रमा यसरी बम आतङ्क हुनु दुःखद भएको बताउँदै सो घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए ।
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतङ्कका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको जानकारी दिँदै शान्ति क्षेत्रका रुपमा रहेका विद्यालयमा यस्ता घटना घट्नु दुःखद भएको बताए ।
एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घटेपछि शिक्षा मन्त्रालयको धारणा आउनुपर्ने विचार राख्दै कुनै दलको सङ्गठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा सरकार र अधिकारवादी मौन बस्नु दुर्भाग्य भएको बताए ।
कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालयसमक्ष कुरा राखेर दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिए ।
शिक्षक भवानीप्रसाद पौडेल, शिक्षिका रीता राईलगायतले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको बताएका थिए । रासस