आर्मीले जित्यो सताक्षी गोल्डकपको उपाधि
झापाको झिलझिलेमा आयोजित दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
७ मंसीरमा झपाको शिवसताक्षी नगरपालिकास्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा भएको फाइनल खेलमा आर्मीले मनाङ मर्स्याङदी क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गरेको हो ।
रेफ्री खत्रीले खेलको ४४ औं मिनेटमा पोस्टबाट बाहिरिएको बललाई गोल भएको निर्णय सुनाएका थिए, जसका कारण खेल ५० मिनट अवरुद्ध बनेको थियो ।
मनाङका उपकप्तान विराज महर्जनले आफ्नो टिम रेफ्रीको गलत निर्णयको शिकार भएको बताए । उनले रेफ्रीको निर्णय गलत भएको दावी गर्दै तत्कालै औपचारिक उजुरी भने नगर्ने बताएका छन् ।
यसअघि खेलको १८ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
मनाङका सुल्ला सुलेमानले आर्मीका नवयुग श्रेष्ठलाई डिबक्स नजिकै फल गरेपछि पाएको फ्रिकिकलाई कार्कीले गोल गरेका हुन् ।
अवरुद्ध भएपछि सञ्चालित खेलको ६४ औं मिनेटमा मनाङका कप्तान अनिल गुरुङले गोल गरेका थिए । उनले दोना थापाको क्रस पासमा हेड मार्फत गोल गरेका थिए ।
उपाधि जितेको आर्मीले नगद रु ५ लाख तथा उपविजेता बनेको मनाङले रु २ लाख ५० हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मनाङका विशाल राइले पाए । उनले पुरस्कार स्वरुप रु ५० हजार प्राप्त गरे ।
प्रतियोगितामा व्यक्तिगत ३ गोल गरेका आर्मीका नवयुग श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे ।
उत्कृष्ट डिफेण्डर आर्मीका सुमन अर्याल, मिडफिण्डर मनाङका दोना थापा, फर्वाड आर्मीका जर्ज प्रिन्स कार्की भए ।
उत्कृष्ट कोचको पुरस्कार उपाधि विजेता आर्मीका नबीन न्यौपाने भए ।
प्रतियोगिताको उत्कृष्ट टिमको पुरस्कार आयोजक सतासीधाम स्पोर्टिङ क्लबले पायो ।
कार्तिक २८ गतेशुरु प्रतियोगितामा ए डिभिजनका ६, एक विदेशी र आयोजक सहित १० टिमको सहभागिता थियो ।
काँकडभिट्टा गोल्डकपमा रुपन्देही सेमि फाइनलमा
यसैगरि रुपन्देही ११ काँकरभिट्टा गोल्डकपको तेस्रो संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।
आज काँकरभिट्टा माविको खेल मैदानमा भएको प्रतियोगितामा गत सालको उपविजेता टिम सशस्त्र प्रहरी बल काठमाडौँलाई ३–१ को अन्तरले हराउँदै सेमिफाइनल पुगेको हो ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा भएको प्रतियोगितामा रुपन्देही ११ ले खेलको सुरुवातदेखि नै एपीएफलाई दवावमा राखेको थियो ।
खेलको म्यान अफ द म्याच रुपन्देही ११ का गोल रक्षक दिलिप क्षेत्री घोषित भए । उनलाई नगद १० हजारसहित पुरस्कृत गरिएको छ ।
८ मंसीरको खेल साविक विजेता झापा ११ र सुदुरपश्चिम ११ बीच हुने आयोजक क्लबका कोषाध्यक्ष पेमा नर्वु शेर्पाले बताएका छन् ।
गोपाल गडतौला, झापा