नेत्रविक्रमलाई कांग्रेसले प्रश्रय दिएको छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिंसाको बाटो समातेको नेकपा (नेत्रविक्रम चन्दलाई) लाई प्रश्रय दिनेगरी नेपाली काग्रेस लागिपरेको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन विथोल्ने हिंसात्मक प्रयास गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेसले प्रश्रय दिइरहेको बताएका हुन् ।
उनले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने बताए । ६/६ महिनामा सरकार फेरिने प्रवृतिको अन्त्य गर्नका लागि गठबन्धन कायम गरिएको उनको भनाई थियो ।
निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी देशको विकास र जनताको अधिकार ग्यारेन्टी गर्नेसमेत जिकिर गरेका ओलीले दुवै पार्टी एकताको आधारहरु तयार भइसकेको र अब घोषणा हुनमात्र बाँकी रहेको बताए ।
दाङ जिल्लालाई नमूना जिल्ला बनाउने जिम्मा वाम गठबन्धनले लिने पनि दाबी गरेका थिए ।
रासस