ओलीले चुनावपछि पनि कांग्रेस चुनाव चाहँदैन भनिरहलान्ः देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा कम्युनिष्ट शासन सफल नहुने बताएका छन् ।
पश्चिम रुकुमको मुसिकोटमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बामगठबन्धनले जितेमा मुलुकलाई अधिनायकवादतर्फ लैजान प्रयास हुने भन्दै लोकतन्त्र जोगाउनका लागि पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउनु जरुरी रहेको जिकिर गरे ।
यद्यपि उनले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन निर्वाचन प्रयोजनका लागि मात्रै भएको र एकता हुन नसक्ने समेत दाबी गरे ।
एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले निर्वाचन नगराउने षडयन्त्र गरिरहेको भन्ने झूठो आरोप लगाइरहेको भन्दै उनले भने, “ए बाबा ! उनले त भोट हालिसकेपछि पनि निर्वाचन सार्ने षडयन्त्र भइरहेको छ भन्छन्, त्यस्ताका कुरा पत्याउने ?”
प्रधानमन्त्री देउवाले केही छिटपुट घटना भए पनि सुरक्षास्थिति बलियो पारिएको भन्दै मतदातालाई ढुक्क भएर निर्वाचनमा भाग लिन आह्वान समेत गरे ।
उनले बुढी गण्डकी आयोजना नेपाल आफैंले निर्माण गर्नसक्ने भन्दै आगामी मन्त्रिपरिषदको बैठकबाट नेपाल आफैँले बनाउने निर्णय गरिने बताएका थिए ।
आज विहान कालिकोटको चुनावी सभालाई सम्बोधन गरी सुर्खेत हुँदै पश्चिम रुकुम आइपुगेका देउवा यहाँबाट पूर्वी रुकुमको तकसेरा, रोल्पा हुँदै डडेल्धुरा जाने कार्यक्रम छ ।
लक्ष्मण केसी, रुकुम