लोकतन्त्रवादी र लेनिनवादी एउटै हुन सक्दैनन्ः चैतन्य मिश्र
समाजशास्त्री प्रा. चैतन्य मिश्रले नेपालमा अब कम्युनिष्ट पार्टीको आवश्यकता नभएको बताएका छन् ।
पोखरामा सम्पन्न समाजशास्त्रीहरुको अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै मिश्रले नेपालका कम्युनिष्ट पार्टीहरुमा मार्क्सवादी विचार र आचरण नभएको आरोप लगाउँदै कम्युनिष्टहरु नाममा मात्र सीमित रहेको बताए ।
“कम्युनिष्टहरु लोकतन्त्रवादी हौं भन्छन्, के लोकतन्त्रवादी पनि भन्ने, लेनिनवादी र माओवादी पनि भन्ने ?” उनले भने ।
समाजवाद र साम्यवादी विचारक कार्ल मार्क्सले नै भोटको माध्यमबाट पनि क्रान्ति हुनसक्ने बताएको भन्दै मिश्रले थपे, “निर्वाचनमा सर्वहारा वर्गले भोट मार्फत आफ्नो सत्ता स्थापना गर्न सक्छन्, यस्तो अवस्थामा अन्य सङ्घर्ष गरिरहनु पर्दैन ।”
मिश्रले मार्क्सवादी विचारमा कहीँपनि लेनिनवाद, माओवाद र प्रचण्डपथ जस्ता कुराको कल्पना नभएको बताए ।
सत्तामा पुग्न कम्युनिष्ट पार्टीका नाममा धेरै कुरा भए, मिश्र भन्छन्, “माक्र्सले कहिल्यै पनि एकदलीय राज्यको वकालत गरेनन्, बरु उनले त राज्यसत्ता नै भत्काएर सामुदायिकरण गर्न जोड दिएका थिए ।”
नेपालमा मार्क्स शीर्षकको प्रवचनमा प्रा. मिश्रले अहिले एमालेले भन्ने गरेको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको एक्काइसौं शताब्दीको जनवाद पनि माक्र्सवादी सिद्धान्तमा नरहेको दाबी गरे ।
“यी एजेण्डा माक्र्सवादसम्मत छैनन्, उनले भने, “माक्र्सवादी सिद्धान्तबाट नेपालका वामपन्थी दलहरु धेरै टाढा पुगेका छन्, हामी उनीहरुलाई धकेल्दैछौँ ।”
नेपालका बौद्धिक वर्ग र समाजशास्त्रीहरुले यसको सही विश्लेषण र व्याख्या गरिदिनुपर्ने आवश्यकता उनले औँल्याए ।
कम्युनिष्ट पार्टी स्थापना गरेर नेपाली वामपन्थी नेताहरुले कुनै समय ठूलो त्याग गरेको उनले बताए । उनले भने, “त्यतिबेला आवश्यकता थियो होला, नेताहरुको त्यागको म सम्मान गर्छु, तर आजका दिनमा उहाँहरु कम्युनिष्ट रहनुभएन ।”
नेपालका राजनीतिक दलहरु समाजवादमा जाने भनेर संविधानमै उल्लेख गरेको प्रसंग झिक्दै उनले समाजवादमा पनि माक्र्सवादी र पूँजीवादी दुबै अस्तित्वमा रहने बताए । “नेपालका दलहरुले ल्याउने भनेको समाजवाद पुँजीवादी समाजवाद हो,” मिश्रले थपे, “माक्र्सले नै पुँजीवादको विकास नभई समाजवाद आउँदैन भनेका छन्, पुँजीको विकास नगरी समाजवादमा फड्किन मिल्दैन ।”
कार्यक्रमका अर्का वक्ता चन्द्र भद्राले नेपालमा फेमिनिज्मको बारेमा चर्चा गरेकी थिइन् । उनले अझै पनि नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको बताइन् ।
“अहिले पनि आमाको नाममा निःशर्त नागरिकता पाउनुपर्ने माग सडकबाट गर्नुपरेको छ,” उनले थपिन्, “महिला सांसदले यस्तो संविधान बनाएको पत्तै पाएनन् ।”
राज्य सञ्चालनमा समानुपातिक प्रतिनिधत्वको आवाज उठाउँदै गर्दा महिला प्रतिनिधिले महिलाको पक्षमा काम गर्लान् भन्ने सोचेपनि त्यस्तो नभएको उनको भनाई थियो ।
सम्मेलनमा ७७ वटा कार्यपत्र प्रस्तुत भएका थिए । प्रस्तुत भएकामध्ये राम्रा कार्यपत्र समेटेर पुस्तक प्रकाशन गरिने सम्मेलनका संयोजक समाजशास्त्री प्रा.डा विश्वकल्याण पराजुलीले बताए ।
समाजका विविधताको अनुसन्धान गरेर आ–आफ्ना अनुभव र अनुसन्धान आदानप्रदान गर्न सम्मेलन सफल भएको भन्दै पराजुलीले भने, “यसले समाजशास्त्रको विकासमा योगदान पुर्याएको छ ।”
युवराज श्रेष्ठ, पोखरा