आगामी सरकारले पूर्व–पश्चिम रेल चलाउँछः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बन्ने सरकारले पूर्व–पश्चिम रेल चलाउने बताएका छन् ।
आज वाम गठबन्धनले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावपछिको सरकारले पूर्व–पश्चिम रेल चलाउने र मुलुकमा समृद्धिको लहर ल्याउने बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने– “मुलुकमा सरकार हुँदा कस्तो हुन्छ ? त्यो महसुस हामी नेतृत्वको आगामी सरकारले गराउँछ ।”
जनताका दुःखका दिन गएको दाबी गर्दै ओलीले भने– “नेपाली कांग्रेसले देशका उद्योग, कलकारखाना बेचेर ४० लाख नेपालीहरु विदेश पठायो । तर, अबको सरकारले आर्थिक र औद्योगिक क्रान्ति गर्छ ।”
त्यस्तै नेपालमा मेडिकल कलेज खोल्न नदिएर पैसा विदेश पठाउने षडयन्त्रमा गिरोह नै लागिपरेको ओलीले बताएका छन् । उनले भने– “यहाँ मेडिकल कलेज खोल्न नदिने अनि विद्यार्थी र पैसा विदेश पठाउने गिरोह नै लागेको छ ।”
त्यसैगरी चुनावी सभामा बोल्दै माओवादी केन्द्रका नेता रामबहादुर थापाले चुनाव लगत्तै पार्टी एकता हुने र समाजवाद व्यवहारिक रुपमै कार्यान्वयनमा आउने दाबी गरे ।
वाम गठबन्धनले आयोजना गरेको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने उपस्थित भएनन् ।
आजै गठबन्धनले कपिलवस्तु र दाङमा समेत चुनावी सभाको आयोजना गरेको छ ।
दीपक ज्ञवाली, बुटवल