समाचारमंगलबार, ५ मंसिर , २०७४

रेन्बो ट्राउटपछि सालमन पाल्ने योजना

हिमालखबर

तुलसी गौतम

गण्डकी रेन्बो ट्राउट फार्ममा सफल लक्षिन र अमृत गुरुङ अब सालमनमा फड्को मार्ने योजना बनाइरहेका छन् ।

तस्वीरहरु: तुलसी गाैतम 

लक्षिन र अमृत गुरुङ नाताले साढु हुन् । हङकङको आईडी भएकी विष्णुमाया गुरुङसँग बिहे भएका लक्षिनले शुरूमा हङकङमै गएर गार्मेन्ट व्यापार थाले । होटलमा काम गरिरहेकी विष्णुमाया हङकङबाट बेलायत सरेपछि लक्षिन पनि उतै गएर नेपाली सामानको व्यापार थाले ।

त्यसवेला उनका साढुभाइ अमृतले जापानमा रेन्बो ट्राउट माछा फार्म र मासुको व्यापारमा काम गरेको आठ वर्ष भएको थियो । अनि सल्लाह भयो दुवै जोडी आफ्नै नेपाल फर्केर काम थाल्ने । सल्लाहसँगै फटाफट फर्केर गण्डकी रेन्बो ट्राउट फार्म खोल्ने काम पनि भयो, जुन अहिले स्वदेशी–विदेशी पर्यटकको गन्तव्यस्थल बनेको छ । 

स्वदेशमा अवसरै अवसर देखेका फार्म संचालकहरू नेपालको जैविक, भौगोलिक विविधताको उपयोग गर्दै कृषिलाई पर्यटनसँग जोडेर देशलाई कसरी समृद्ध पार्न सकिन्छ भन्ने कुरा योजनाविद्हरूले भन्दा बढी व्यावहारिक रूपमा बताउँछन् ।

सफल हुने काइदा
अमृतले नेपाल फर्किएपछि पनि नेपालको परिवेशमा रेन्बो ट्राउट माछाबारे थप अध्ययन–अनुसन्धान गरे । त्यसक्रममा उनले कृषि अनुसन्धान परिषद् (नार्क) देखि काठमाडौं वरिपरिका रेन्बो ट्राउट फार्महरूको चक्कर लगाए ।

दुई भाइको अध्ययन–अनुसन्धान र पूँजीले पोखरा नजिक सर्दीखोला गाउँको भुर्जुङस्थित ससुरालीको जग्गामा फार्म खुल्यो । फार्मको प्रसिद्धि भने ट्राउटका परिकारहरू पस्कन थालेपछि फैलियो । शुरूमा त माछा बिक्री गर्न धौ–धौ नै परेको लक्षिन बताउँछन् । उनका अनुसार, २०६६ मा रेस–वे (पानी बग्ने पोखरी) हरू बनाएर अर्को साल भुरा छाडियो । एक वर्षमा माछा हुर्किएपछि बिक्री नै भएन ।

त्यसवेला बजारमा रु.१५० देखि रु.२०० मा अन्य खालका माछा पाइन्थे, तर रेन्बो ट्राउटलाई रु.७०० पर्न जाँदा बिक्री भएन । अनि बजार प्रवद्र्धन गर्न रेस्टुरेन्ट खोले ।

यो जुक्ति यति कामयाव भयो कि छोटो समयमै रेस्टुरेन्ट चम्क्यो, उनीहरूलाई रेस्टुरेन्टमा आफ्ना माछाले मात्र पुगेन, अरूबाट पनि किन्न थाले । घर फर्कंदा कोसेलीका रूपमा ग्राहकहरूले किलोको सरदर रु.१ हजारमा धमाधम माछा उठाउन थाले ।

पर्यटक नगरी पोखराबाट करीब १७ किलोमिटर उत्तर–पश्चिम माछापुच्छ«े हिमालको फेदीमा छ, गण्डकी रेन्बो ट्राउट फार्म । सर्दी र भुर्जुङ खोलाको चिसो पानी, करीब ४० रोपनी जग्गाको घमाइलो प्लट, पोखराको नजिक रमणीय वातावरण आदिले यो व्यवसायलाई राम्रो टेवा दिएको देखिन्छ ।

शुरूका दिनमा भने बढी समस्या झेल्नुपरेको अमृतले बताए । “अमेरिकाबाट ३५ सय भुरा ल्याउँदा नेपालबन्द परेछ” उनी भन्छन्, “काठमाडौं विमानस्थलमै अड्किनु पर्दा २२ सय भुरा मरे ।”

पछि पोखरी बढाउँदै, आएको नाफा पनि लगानी गर्दै आउँदा अहिले ऋणसहित करीब रु.६ करोड पुगेको छ । यसमा कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाले सघाएको छ । त्यसको श्रेय जिल्ला कृषि विकास कार्यालय पोखराका तत्कालीन प्रमुख बेनीबहादुर बस्नेतलाई दिन्छन्, लक्षिन र अमृृत गुरुङ । बस्नेतले राम्रो प्रयास भनेर सघाएकै कारण सन् २०१४ अगस्तमा सरकारी आयोजना पाएर नयाँ पोखरीहरू निर्माण र दाना उत्पादन गर्न फार्म सफल भएछ । अविरल पानी बग्ने स–साना गरा जस्ता पोखरीहरूको क्षेत्रफल अहिले १ हजार ४४२ वर्ग मीटर पुगेको छ ।

आयोजना अघिको वार्षिक १५ टन ट्राउट उत्पादन बढेर २५ टन पुगेको फार्म संचालकहरूको अनुमान छ । यसबाट वार्षिक रु.२ करोडभन्दा बढी आम्दानी हुने उनीहरू बताउँछन् । फार्मको रु.१ करोड ८२ लाखको बीमा गरिएको छ । त्यसबापत वार्षिक रु.८२ हजार प्रिमियम तिर्नुपर्छ । आम्दानी लिन मनग्ये लगानी र जोखिम लिने क्षमताका साथै जाँगर, प्राविधिक ज्ञान र धैर्य हुनुपर्ने उनीहरूको अनुभव छ ।

गण्डकीको अनुभव
ट्राउटका लागि सामान्यतः पानी बग्न मिल्ने गरिको सिमेन्टको पोखरी बनाइन्छ । तर, प्राकृतिक पोखरीमा पनि यो जातको माछा राम्रो भएको गुरुङद्वयको अनुभव छ । यो अनुभवको आधारमा मेलम्ची, पर्वतलगायतका ठाउँहरूमा पनि त्यस्तै गर्न थालिएको छ ।

अमृत र लक्षिन गुरुङ ।

गण्डकी रेन्बो ट्राउटले अमेरिका र डेनमार्कबाट वर्षमा दुई लाख अण्डा ल्याएर भुरा निकाल्ने गरेको छ । ती भुरा १२–१५ महीनामा २५० देखि ३०० ग्रामसम्मका हुन्छन् । त्यसका लागि प्रोटिनयुक्त दानाका साथै पानीको तापक्रम (१०–२० डिग्री सेल्सियस), पी एच (६ पोइन्ट ५–८ पोइन्ट ५) अक्सिजन ८ मिलीग्राम प्रतिलिटर हुनुपर्छ ।

सफा बग्ने पानीमा दाना खुवाएर पाल्न सकिने रेन्बो ट्राउट स्वादिलो हुने भएकोले नेपालमा यसको लोकप्रियता र व्यावसायिकता बढ्दै गएको छ । अहिले यसको सरदर मूल्य प्रतिकिलो रु.१ हजार छ । एक डिग्री सेल्सियस तापक्रममा पनि जीवित रहने यो माछाको व्यावसायिक उत्पादनका लागि १५–१८ डिग्री तापक्रम राम्रो मानिन्छ ।

नेपालमा रेन्बो ट्राउट माछा सन् १९६० को दशकको शुरूतिरै बेलायतबाट ल्याए पनि त्यति सफल नभएपछि परीक्षणकै रूपमा जापान र भारतबाट ल्याउँदै अनुसन्धानमा सीमित राखियो । नार्कले त्रिशूली र गोदावरी केन्द्रहरूमा यसको परीक्षण गरेको थियो । १९९० मा पहिलो पटक नेपालमै यसको प्रजनन् गरियो । पछि १९९८ मा निजी तहमा पहिलो पटक ककनीका पूर्णबहादुर लामाले रेन्बो ट्राउटको परीक्षण प्रजनन् गराए । त्यसपछि नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, कास्कीलगायतका जिल्लामा यसले व्यावसायिक रूप लिएको छ ।

गण्डकी रेन्बो ट्राउट फार्म पनि यसप्रकारको पहिलो नमूना बनेको छ । फार्ममा प्रवेश गर्नासाथ चुलबुले माछा सलल्ल बगिरहेका, स्वीमिङ्गपुलमा केटाकेटी पौड्दै गरेका, कटेजहरूमा पारिवारिक वातावरणमा ट्राउटका परिकार खाँदै गरेका दृश्यहरू देखिन्छ । तिनै ग्राहक फार्मको विज्ञापनकर्ता भएको अमृत बताउँछन् । अहिले त ग्राहकको चाप बढेर माछाले पुग्नै छाडेको बताउँदै उनी भन्छन्, “ढंग पुर्‍याएर रेन्बो ट्राउट पाल्नेलाई नेपालमा बजारको समस्या छैन ।”

माछा चिनेका र बजार देखेका लक्षिन र अमृत गुरुङ अब सालमन माछा पाल्ने योजना बनाइरहेका छन् । उनीहरूको सम्भाव्यता अध्ययन पनि उत्साहजनक छ । व्यावसायिक सालमन फार्महरू खोल्दा त्यसबाट आय आर्जन त छँदैछ, पश्चिमा पर्यटकहरूले नेपालमा रुचिकर परिकार पाउने छन् । नेपालको पर्यटन प्रवद्र्धनमा त्यसबाट ठूलो टेवा पुग्ने गुरुङद्वय बताउँछन् । सालमन आयोजना बनाइहाल्न सरकारलाई उनीहरूको सुझाव छ ।

प्रतिकृया दिनुहोस