रिपोर्टमंगलवार, मंसिर ५, २०७४

नयाँ दल रोज्न मतदातामा हुटहुटी

मुकेश पोखरेल

नेताहरूको कमजोरी र निर्वाचनमा नयाँ रोज्ने मतदाताको हुटहुटीले प्रमुख दलमाथि दबाब बढेको छ ।

चुनावी प्रचारप्रसार अभियानमा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्र । तस्वीरः रवीन्द्र मिश्रको फेसबूकबाट

काठमाडौं महानगरपालिका–१० की द्रौपदी पोखरेलले २०४८ सालयताका निर्वाचनमा फरक फरक दलका उम्मेदवारलाई मत दिइन् । तीमध्ये कुनैले पनि काम गर्न नसकेको उनको मूल्यांकन छ । “कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैलाई भोट दिएर हेरियो, केही गरेनन्” पोखरेल भन्छिन्, “यसपटक विवेकशील साझा पार्टीका उम्मेदवारलाई भोट दिइन्छ, त्यसले पनि काम नगरे अर्को पटक अरूलाई रोजिन्छ ।” 

निर्वाचन नजिकिंदै जाँदा काठमाडौं क्षेत्र नम्बर १ मा दलका उम्मेदवारहरूको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । नेपाली कांग्रेसको पकड क्षेत्रमा स्वर्गीय गणेशमान सिंहका छोरा प्रकाशमानको उम्मेदवारी, पत्रकारिताबाट राजनीतिमा होमिएका रवीन्द्र मिश्रको फरक प्रचार शैली र मतदाताको नयाँ रोज्ने हुटहुटीले यो क्षेत्रको चुनावी प्रतिस्पर्धालाई अन्यत्रको भन्दा रोचक बनाएको छ ।

यो क्षेत्रबाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचन कांग्रेस नेता सिंहले जितेका थिए । अहिले पनि उनी र विवेकशील साझा पार्टीका मिश्र अधिक चर्चामा छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अनिल शर्मा उम्मेदवार छन् ।

विवेकशीलका मिश्र पुराना दलहरूले विगतमा गरेका आन्दोलनको व्याज खाइरहेको, नेता बने पनि देश बन्न नसकेकाले आफू राजनीतिमा आएको भन्दै आक्रामक चुनावी प्रचारमा छन् । उनको नाराले कुनै दलमा आवद्ध नरहेका र युवा मतदातालाई प्रभावित पारेको देखिन्छ । पुरानो बानेश्वरमा घरदैलो कार्यक्रममा रहेका मिश्रले कांग्रेसलाई कम देखाउँदै भने, “काठमाडौं क्षेत्र नं. १ मा कि विवेकशील साझा पार्टीको चर्चा छ कि त वाम गठबन्धनको !”

सजिलो छैन
दाबी जेजस्तो गरे पनि विवेकशीलका उम्मेदवार मिश्रलाई कांग्रेसको गढ भत्काउन सजिलो छैन । विवेकशील साझाको त माओवादीको जति पनि छैन, स्थानीय संगठन । पार्टीका त्यस्ता संरचनाले अन्तिम समयमा नतिजा प्रभावित पार्ने गरी भूमिका खेल्छन् । त्यसमाथि कांग्रेसको परम्परागत प्रभाव भएको क्षेत्र हो– काठमाडौं क्षेत्र नं. १ ।

विगतमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएर निराश बन्न पुगेका युवा मतदाताको सहानुभूति भने मिश्रप्रति देखिन्छ । “तर, असन्तुष्ट सबैले नयाँलाई नै भोट दिन्छन् भन्ने छैन” काठमाडौं महानगरपालिका–१०, पुरानो बानेश्वरका भेषराज दाहाल भन्छन्, “अहिल्यै यसै हुन्छ भन्न सकिन्न ।”

चुनावी गफहरूमा सहभागी हुन रमाइलो मान्ने बानेश्वरकै रामराज खरेल मतदाताको एउटा पंक्तिले जित्ने उम्मेदवार छानेरै भोट हाल्ने भएकाले अन्तिम समयमा जनमत बढाउन मिश्रका लागि चुनौती हुने बताए । उनको विश्लेषणमा मिश्रको चर्चा त राम्रै छ, तर उनको विजय वा पराजय अन्तिम समयमा मतदातालाई प्रभावित बनाउने चुनावी अभियानमा निर्भर हुनेछ ।

राजनीतिक विश्लेषक नीलाम्बर आचार्य पुराना दलहरूप्रति मतदाताको असन्तुष्टिलाई स्वाभाविक ठान्छन् । “आफूले भोट दिएका पार्टी सुधार होउन् र राम्रो काम गरुन् भनेर पनि मतदातामा असन्तुष्टि देखिन्छ” उनी भन्छन्, “त्यस्तो असन्तुष्टिबाट मतदाताले विकल्प खोजिहाल्छन् भन्ने होइन ।”

पुराना दलहरूले माखो मारेनन् भनेर आलोचना गर्दा इतिहासप्रति अन्याय हुने उनको भनाइ छ । शाही निरंकुशतासँग लडेर त्यसलाई परास्त गर्ने, संविधान बन्न नदिने देशी–विदेशी षडयन्त्र चिरेर संविधान जारी गर्ने, भारतीय नाकाबन्दीको डटेर सामन गर्ने लगायतका काम पुराना पार्टीहरूले नै गरेको आचार्य बताउँछन् । त्यसबाहेक, यो निर्वाचन जित्न मिश्रले दलहरूप्रति असन्तुष्ट मतदातासँगै कांग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई समेत आफ्नो पक्षमा ल्याउनुपर्ने देखिन्छ ।

मतदाताको मनोविज्ञान
२०४६ सालयताका निर्वाचन परिणाम केलाउँदा मतदातामा आउने असन्तुष्टिले परिणाम फरक पारेको देखिन्छ । २०४८ को आम निर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेसलाई २०५१ सालको मध्यावधि निर्वाचनमा मतदाताले दोस्रो दलमा सीमित बनाए ।

२०५६ मा फेरि त्यही कांग्रेसलाई बहुमत दिए । तिनै मतदाताले २०६४ सालमा माओवादीलाई सबभन्दा ठूलो दल बनाएर संविधानसभामा पठाए । दोस्रो संविधानसभामा त्यही माओवादी तेस्रो दलमा सीमित हुन पुग्यो ।

नेपाली मतदातामा हरेक पटक फरक रोज्ने मनोविज्ञान देखिन्छ । निर्वाचनमा यही मनोविज्ञान निर्णायक भइदिन्छ । विवेकशील साझका उम्मेदवार मिश्र पनि यस्तै मतदाताको मन जित्न केन्द्रित छन् । उनले आफ्नो चुनावी अभियानमा सबभन्दा बढी दोहोर्‍याउने वाक्य हो– “राजनीति गर्ने आफू बन्नलाई होइन, केही दिन र देश बदल्नलाई हो, हामी केही गर्छौं र देखाउँछौं ।”

मिश्रको चुनावी नाराले ४० वर्षभन्दा माथिका र स्वतन्त्र पेशा–व्यवसाय भएकाहरूलाई भने छुनसकेको देखिंदैन । विवेकशीलको चुनावी मुद्दालाई ‘नयाँ जोगीको खरानी’ को रूपमा लिने पंक्ति पनि ठूलो छ । बबरमहलका व्यवसायी चेतन ओली चुनावी नारा र घोषणापत्रमा सबैले झ्ल्लिी झरेकै हुने बताउँछन् । “पुरानाले केही गरेनन् भन्दै आउनेलाई केटाकेटीले झै‌ पत्याएर सबैले माला पहिर्‍याइदिने भन्ने हुँदैन” उनी भन्छन्, “फेरि नयाँ एकजनाले जित्दा केही फरक पर्ने पनि होइन ।”

विश्लेषक आचार्य पनि निश्चित राजनीतिक सिद्धान्त–दर्शन बोकेर मुलुकमा ठूल्ठूला परिवर्तनको नेतृत्व गरेका, जेल–नेल सहेका, परिवार त्यागेर देशका लागि लडेको इतिहास बनाएका नेताहरूले नेतृत्व गरेका पार्टीहरूले मेट्न नसकेको असन्तुष्टिलाई भर्खरै आएकाहरूले साम्य पार्न सक्छन् भनेर विश्वास गर्न नसकिने बताउँछन् । “पुरानोले नसकेको काम नयाँले गर्न सक्छन् भन्नु भ्रम मात्र हो” आचार्य भन्छन्, “यथार्थ के हो भने संसारमा जहाँ पनि ५–१० प्रतिशत मानिस जहिल्यै असन्तुष्ट हुन्छन् ।”

नयाँका पृष्ठभूमि
लोकतन्त्रमा दल खोल्न, आफ्ना विचार र अजेण्डा लिएर जनतामा जाने स्वतन्त्रता सबैलाई हुन्छ । नेपालमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी राजनीतिक विचार राख्न नपाइने समयमा हुर्केर आएका दलहरू हुन् । त्यसवेला वाक्स्वतन्त्रता र प्रजातन्त्रको कुरा गर्नु नै मृत्यु रोज्नु जस्तो थियो ।

त्यस्तो वेला संगठित भएर २००७, २०४६ र २०६/६३ को आन्दोलनको नेतृत्व गरेका दलहरूले देशलाई डुबाएकोले नयाँ राजनीतिक शक्ति चाहिएको भन्न थालिएपछि नयाँ नेताहरूको पृष्ठभूमिबारे पनि बहस शुरू भएको छ ।

प्राध्यापक लोकराज बराल दल र त्यसको नेतृत्वकर्ताको पृष्ठभूमिलाई महत्वपूर्ण विषय मान्छन् । अहिलेका प्रमुख दल र तिनका नेताहरू ज्यादै अप्ठेरो परिस्थितिमा नेतृत्व गरेर आएका हुन् । तर, नयाँ दलका नेताहरू पुरानाको आलोचना गरे पुग्ने सजिलो अवस्थामा अगाडि आएका छन् ।

भोलि परिस्थिति जटिल बने उनीहरू टिक्न सक्छन्, सक्दैनन्, परीक्षण हुन बाँकी रहेको प्रा. बराल बताउँछन् । १९९३ सालमा राणाशासन विरुद्ध स्थापित नेपाल प्रजापरिषद् नेपालको पहिलो दल थियो । चार शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री त्यसमै आबद्ध थिए । उनीहरूले राणाशासन विरुद्ध लड्नेक्रममा मृत्युवरण गरे ।

२०४६ सालपछि पुराना फुट्ने र नयाँ दल बन्ने क्रम जारी रह्यो । बामदेव गौतमले २०५४ सालमा एमालेलाई फुटाएर नेकपा (माले) गठन गरे, तर टिक्न नसकेर २०५८ मा पुनः एमालेमै समाहित भए । २०५८ सालमा कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका शेरबहादुर देउवा पनि २०६४ मा कांग्रेसमै विलीन हुन आए ।

२०६३ सालपछि बनेका र फुटेका आधादर्जनभन्दा बढी मधेशकेन्द्रित दलहरू पनि अहिले एकै ठाउँमा आएका छन् भने एमालेबाट निस्किएर नयाँ पार्टी खोलेका अशोक राई पनि टिक्न नसकेर मधेशी जनअधिकार फोरमसँग मिसिन पुगे । “कुनै ‘इमोसनल’ मुद्दाबाट चुनावमा एक–दुई सीट जित्नु एउटा कुरा हो” प्रा. बराल भन्छन्, “राजनीतिक पार्टीको रूपमा स्थापित भएर लामो समय टिक्नु अर्को कुरा हो ।”

पुरानालाई दबाब
काठमाडौं क्षेत्र नं. १ मा विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले चर्चा पाउनुमा उनको राजनीति वा सिद्धान्त नभई मतदातामा रहेको पुराना दलहरूप्रतिको असन्तुष्टि प्रमुख देखिन्छ । प्रा. बराल पुराना दलहरूले यसलाई कमजोरी सुधार्ने अवसरको रूपमा लिनुपर्ने बताउँछन् । “मतदाताको धेरै ठूलो अपेक्षा पनि छैन” उनी भन्छन्, “भ्रष्टाचार नियन्त्रण, विधिको शासन, कालाबजारी नियन्त्रण जस्ता काम गर्दै अगाडि बढ्नेमा विश्वस्त पारे पुग्छ ।”

पटक पटक सरकार परिवर्तन, जम्बो मन्त्रिमण्डल, राजनीतिक भागबण्डामा नियुक्ति, आकाशिंदो महँगी, काठमाडौंको धूलो–धुवाँ, खानेपानीको अभाव, बेरोजगारी जस्ता समस्यालाई लिएर प्रमुख दलहरूप्रति जनतामा वितृष्णा जागेको छ । प्रा. बराल जनताका यस्ता जायज गुनासा सम्बोधन नगर्नुलाई दलहरूको नालायकीपन बाहेक अर्थोक भन्न नसकिने बताउँछन् । उनी भन्छन्, “सुन्दा गजब लाग्ने कुरा गर्ने नयाँ दलका नेताहरूले पुरानाहरूलाई दबाब दिएर जनमुखी बनाउन सक्छन् ।”

प्रतिकृया दिनुहोस