पोखरामा अन्तर्राष्ट्रिय समाजशास्त्री सम्मेलन
नेपाल समाजशास्त्र संघले कास्कीको पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय समाजशास्त्री सम्मेलनको आयोजना गरेको छ ।
नेपाली समाजको बहुआयमिक पाटो र सामाजिक संरचनालाई मुल विषय बनाएर सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलन हाल भइरहेको नेपाली सामाजिक संरचनाको परिवर्तन र भोलिका दिनमा यसले अपनाउने धारका विषयमा केन्द्रित रहेको छ ।
सम्मेलनको उद्घाटनमा बोल्दै नेपाल समाजशास्त्र संघको नेतृत्व गरिरहेका प्राध्यापक चैतन्य मिश्रले समाजको विकासमा समाजशास्त्रीहरुको अतुलनीय योगदान रहेको जानकारी दिए । उनले भने– “भोलिको समाज कस्तो बनाउने त्यसको जिम्मेवारी आजका समाजशास्त्रीहरुको हो ।” मिश्रले नेपाल समाजशास्त्र संघमा विदेशी समाजशास्त्रीहरुलाई समेत समेटेर बृहत रुपमा अगाडि बढ्ने योजना रहेको समेत बताए ।
समाजशास्त्री भीमराज सिग्देलले समाजशास्त्र संघले चार वर्षको अन्तरालमा चारवटा सम्मेलनको आयोजना गरिसकेको भएपनि अन्तर्राष्ट्रियस्तरको यो पहिलो सम्मेलन भएको बताए ।
सम्मेलनमा बेलायत, अमेरिका, क्यानडालगायत देशका समाजशास्त्रीहरुको समेत सहभागीता रहेको छ ।
दुईदिनसम्म चल्ने सम्मेलनमा नेपाली समाजको संरचना, समुदाय, जात, क्षेत्र लगायतका विषयमा आधारित ७७ वटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
युवराज श्रेष्ठ, पोखरा