झापाका मतदाता भन्छन्– 'समस्या बुझ्न एकरात हाम्रो छाप्रोमा बसिदेऊ'
झापाको कमल गाउँपालिका–६ स्थित सुकुम्बासी बस्तीका मतदाता यसपटक भोट माग्न आउनेहरूलाई ‘पीडा बुझाउन’ एक रात आफ्नो घरमा सुताउने धोको पालेर निर्वाचन पर्खिरहेका छन् ।
२८ कात्तिक २०७४ मध्याह्न १२ बजे । सात महीनाकी गर्भवती सुमी मुर्मुुले साहूको धान काट्न गएका श्रीमान् सुनिल, बाबु चुडके र आमा जाम्पाको लागि भात–तिहुन पकाएकी छन् । उनको छाप्रोमा न पानीको कल छ न चर्पी । पराले छाप्रो नजिकैबाट बिजुलीको लट्ठा तन्किएर गएको छ, तर उनीहरू टुकीकै भरमा छन् । चारै जना एउटै कोठामा सुत्छन् ।
मजदूरी नगरी छाक नटर्ने मुर्मु परिवारका कसैको पनि नाम मतदाता सूचीमा छैन । डेढ किलोमिटर उत्तर दमक बजारभन्दा टाढा नपुगेकी जाम्पा बाहै्रमास ज्याला मजदूरी गर्न हिंड्दा मतदाता फारम भर्न नभ्याएको बताउँछिन् । करीब ५० वर्षकी निरक्षर उनलाई आफ्नो जन्ममिति पनि थाहा छैन ।
दिउँसो ६८ परिवार सुकुम्बासीका लस्करै छाप्रोमा पुग्दा बूढाबूढी, गर्भवती र स्कूल नजाने बालबालिका मात्र भेटिए । पूर्णनन्द भट्टराई (७९) अर्काको धान काट्न गएकी श्रीमती टुकादेवी (६३) ले बिहान पकाइदिएको जाउलो खाने सुरसार गर्दैथिए । उनलाई उभिन पनि कठिन हुन्छ, दमले च्यापेको छ । त्यसमाथि, शौच गर्न करीब पाँचसय मिटर पर रतुवा बगरमा पुग्नुपर्छ । सात महीना अघि मलेशिया गएकी छोरीले पठाउने पैसाले औषधि खानेगरेको पूर्णनन्द बताउँछन् । आसन्न निर्वाचनबारे सोध्दा उनी भन्छन्, “हामी गरीबलाई के को चुनाव ?”
दिउँसो घरमै भेटिएका धमासु ताजपुरिया (३४) हतार–हतार धान निफन्दै थिए । गिट्टीबालुवा मजदूरी गरेर पाँचजनाको परिवार चलाइरहेका उनले निर्वाचनबारे सोध्दा मुख बिगारे । अघिल्लो चुनावमा उम्मेदवारहरूले यो टोलमा धनीपुर्जा दिलाइदिने आश्वासन दिएका रहेछन् । जग्गाधनी बनाइदिन्छु भन्नेहरू चुनावपछि बेपत्ता भएको उनले बताए । धमासु चर्पी बनाउनेमा गनिंदा रहेछन् । बढेका छोरीहरूलाई खोला पठाउन नसकेर चर्पी बनाएको उनले बताए ।
घरमै भेटिएकी बसन्ता ढुंगाना (५१) रतुवा खोलाले २४ वर्षअघि लखनपुर–२ को घरखेत बगाएपछि विस्थापित भएर यहाँ आएको बताइन् । उनको पाँचजनाको परिवार छ । बिहानै ईंटा बोक्न गएकी उनी बाच्छालाई घाँस दिन घर आएकी रहिछन् । उनका श्रीमान् मदन पनि मजदूरी गर्छन् । चारमध्ये दुई छोराछोरी स्कूल पढ्छन् । हुर्केका दुई छोराछोरी गरिखान दमक पसेका छन् । यसपटक भोट खसाल्न दोधार भएको उनले बताइन् । “कुरा चाहिं रतुवाको पाता कस्ने, हातमा धनिपुर्जा राखिदिने गर्छन्” बसन्ताले भनिन्, “चुनाव सकिएपछि मुख देखाउँदैनन्, ढाँटहरू !”
२४ वर्षअघिको त्यही बाढीले लखनपुरमा रहेको १० कट्ठा जग्गा र घर बगाउँदा पवित्रा धिमाल ११ वर्षकी थिइन् । अहिले तीन सन्तानकी आमा भइसकेकी उनको परिवार पनि यही सुकुम्बासी टोलमा छ । उनका श्रीमान सन्तु ज्याला मजदूरी गर्छन् । हिउँद होस् या बर्खा, जुत्ता—चप्पल लगाएर हिंड्न सकिने बाटो, खानेपानी, चर्पी र घर अटाउने एकटुक्रा भए पनि जमीन— उनको नजरमा टोलका आवश्यकता हुन् । “ढिलो गरी बुझ्दैछु” ३ कक्षा पढेकी पवित्राले भनिन्, “हाम्रै भोटले जितेर गएकाहरूका घरमा पानीका धारा, चर्पी छन्, तर हाम्रो हालत सधैं यस्तै ।”
१४० मतदाता रहेको यो टोलमा २०५७ सालमा कोशीको बाढीमा ज्यान जोगाएर सुनसरीको चतराबाट आएका परिवारहरू पनि छन् । टोलका हरेकसँग पवित्रा धिमालका जस्ता कुरा छन् । कतिपयमा खोलाधारको भए पनि घर अटाउने जमीनको धनीपुर्जा पाइन्छ कि भन्ने आशा छ ।
कसैलाई उम्मेदवारहरूसँग मुखको स्वाद फेर्ने धोको छ । “मैले चाहिं एउटा सोच बनाएको छु” मजदूरी गरेर ६ जनाको परिवार पालिरहेका मदन सेढाई (५५) भन्छन्, “यसपटक भोट माग्न आउनेहरूलाई एकरात हाम्रा छाप्रामा बसिदेऊ, भोलिपल्ट सञ्चै गएछौ भने भोट दिउँला भन्छु ।”
गोपाल गड्तौला, झापा