बैतडीका मतदाता भन्छन्– ‘द्वन्द्वको घाउ मेटाउनेलाई भोट’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीका मतदाताले द्वन्द्व प्रभावितको घाउ मेटाउनेलाई भोट दिने बताएका छन् ।
सशस्त्र द्वन्द्वको चपेटामा परेको पुर्चाैडी नगरपालिकाका मतदाताले आगामी चुनावमा द्वन्द्वका घाउ मेटाउने उम्मेदवारलाई भोट दिने बताएका हुन् ।
द्वन्द्वमा धेरैले आफन्त गुमाएकाले यो चुनावले विगतको घाउ मेटाउन सहयोग गर्ने पुर्चाैडी नगरपालिकाका डम्मरबहादुर कुँवरले विश्वास लिएका छन् । उनले भने– “द्वन्द्वले चर्केका घाउ मेटाउन सक्ने नेतालाई भोट दिन्छौँ ।”
द्वन्द्वपीडित अब पहिलाको जस्तो द्वन्द्व नहोस् भन्ने मनसायमा रहेकाले शान्ति र स्थिरताका लागि विकासप्रेमी उम्मेदवारलाई भोट दिने पुरचौडी नगरपालिकाका रणबहादुर भण्डारीको भनाइ छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा पुर्चौडी नगरपालिकाका मतदाताले उम्मेदवारसमक्ष ब्यांक स्थापनाको माग समेत गरेका छन् ।
विगतको चुनावपछि उम्मेदवारले फर्केर पनि नहेरेको स्थानीयवासीको गुनासो छ ।
बैतडीमा पहिलो चरणअन्तर्गत १० मंसिरमा निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि एउटा तथा प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस