प्रदेश–१ः जनताले रुचाएनन् जातीय नारा
मोरङका मधेशी मतदाता ‘विकास ल्याउनेले भोट पाउँछ’ भन्दै निर्वाचन पर्खिरहेका छन् ।
मोरङको जहदा गाउँपालिका–६ पोखरिया चोकमा पसल चलाएका रामदेव मण्डल यसपटक भोटका लागि मधेशी अधिकारको मुद्दा लिएर आउने नेताको पर्खाइमा छन् । मोरङको यो त्यही क्षेत्र नम्बर ५ हो, जहाँ मधेश आन्दोलनका सारथि उपेन्द्र यादवले दुई वटा संविधानसभा निर्वाचनमध्ये दोस्रोमा हारेका थिए । मण्डल भन्छन्, “त्यसयता मधेश मुद्दा लिएर कोही नेता आएका छैनन् ।”
पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरी दुवैतर्फबाट जितेका उपेन्द्र यादवले दोस्रो निर्वाचनमा सुनसरीमा मात्र जितेका थिए । जितेर गएपछि मुख देखाउन नआएकाले मोरङमा उनले हारेको मण्डलले बताए । मोरङमा अवस्था कमजोर भएकैले यादव यसपल्ट चुनाव लड्न सप्तरी पुगेका छन् । मोरङ क्षेत्र नं. ५ मा चाहिं भोट दिनुपर्ने नेता अझै निश्चित नभएको मण्डल बताउँछन् । उनी भन्छन्, “भोट हाल्ने दिनसम्मै पर्खेर निर्णय गर्नुपर्ने भएको छ ।”
चलेन जातीय नारा
विराटनगर–७ का श्रीलाल साह यसपटक मधेश मुद्दामा भोट माग्ने उम्मेदवार कोही नभएको बताउँछन् । उपेन्द्र यादव र विजयकुमार गच्छदारले दोस्रो संविधानसभा निर्वाचन हारेपछि यो अवस्था आएको उनको भनाइ छ । पहिलो संविधानसभा निर्वाचनमा मोरङ ७ मा गच्छदारसँग हारेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दोस्रो निर्वाचनमा गच्छदारलाई नै हराएका थिए । लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गरेका गच्छदार यसपटक मोरङ छाडेर दोस्रो संविधानसभामा जितेकै क्षेत्र सुनसरी–३ पुगेका छन् ।
मोरङ–७ अहिले ६ नम्बर भएको छ, जहाँ कांग्रेसका कोइराला नै उठेका छन् । मधेशी बहुल यो क्षेत्रमा वाम गठबन्धनले भने मधेशी मूलकै लालबाबु पण्डितलाई उम्मेदवार बनाएको छ । दुवै उम्मेदवारले मतदातालाई विकासको नारामा आकर्षित पार्न खोजेका छन् ।
मधेश आन्दोलनपछि दुवै संविधानसभा चुनावमा जातीय नारा उरालिएको थियो । पहिलो निर्वाचनमा उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमले मोरङका चार वटा निर्वाचन क्षेत्रमा जितेको थियो । दोस्रो निर्वाचनमा पनि त्यही नारा लिएर नेताहरू घरघर पुगे, तर भोट पाएनन् । मधेशकेन्द्रित दलहरूले मोरङका कुनै क्षेत्रमा जित्न सकेनन् ।
त्यसवेला मोरङ–६ मा पराजित फोरमका नेता मृत्युञ्जय झा गत असोजमा एमालेमा प्रवेश गरेर १ नम्बर प्रदेश सदस्यको उम्मेदवार बनेका छन् भने सोेही क्षेत्रमा गच्छदारको लोकतान्त्रिक फोरमबाट उठेर नेपाली कांग्रेसका महेश आचार्यसँग हारेका पूर्व डीआईजी भक्तिनाथ माझी अहिले प्रदेश ४ ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार छन् । अहिले कांग्रेसका उम्मेदवार बनेका माझ्ी भन्छन्, “नारा नै नलागे पनि जातीय अधिकार सुनिश्चित गर्ने मुद्दा कायमै छ ।”
त्यस्तै, राष्ट्रिय जनता पार्टी छाडेर संघीय समाजवादीका तर्फबाट मोरङ क्षेत्र नं. ४ ‘ख’ को प्रदेश सभा सदस्य उम्मेदवार बनेका श्रीराम कामत विकासको नाराले गर्दा अहिले मधेशी जनता कसलाई भोट दिने भन्ने दोधारमा परेको बताउँछन् । उनी आफैंले चाहिं मधेशी अधिकारकै नारामा भोट मागेको बताए । उनको यो भनाइ पछाडिको कारण सहजै बुझिन्छ – मधेशी बहुल मतदाता ।
विकासमा बल
जहदा–६ पोखरियाका विष्णुकान्त झ (८२) पक्की पुल, पीच सडक बनाउने, पानी–बिजुलीको सुविधा दिनसक्ने, बिहारका नागरिकलाई नेपाली नागरिकता नदिलाउने उम्मेदवार अझ्ै चिन्न नसकिएको बताउँछन् । पटक–पटक एउटै नेतालाई जिताइरहँदा विकृति झ्न् बढ्ने उनको भनाइ छ । “हामीलाई विकास चाहिएको छ” झ भन्छन्, “विकृति बढाउने उम्मेदवारको काम छैन ।”
त्यस्तै, रंगेली–२ मोरियास्थित ऋषिदेव, सरदार, सन्थाल र मुस्लिम समुदायका १५० परिवारको सुकुम्बासी टोलको एउटै आवाज छ– ‘बाटो र बिजुली दिनेलाई भोट दिने ।’ टोलका अगुवा बुद्धिलाल सरदार (६८) ले यसअघि भोट दिएको माओवादीले काम नगरेको बताए । उनका अनुसार, स्थानीय चुनाव अघि माओवादीले बिजुलीको पोल गाड्यो, तर तार जोडेन । सरदार भन्छन्, “चुनावमा मोरिया टोलका सबै एक हुन्छौं, विकास दिनेलाई भोट दिन्छौं ।”
पहिलेका चुनावमा जस्तो मधेश प्रदेश बनाउने भन्दै भोट माग्न कोही नेता नआएको उनले बताए । कटहरी गाउँपालिका–४ का गजेन्द्रदास तत्माले मधेशवादी दलका नेताहरू आन्दोेलन र चुनावमा मात्र आएको तर विकास नल्याएको बताए । फोरम नेपालका सबैले पार्टी छाड्दै गएको र आफूहरूले पनि छाडेको बताउँदै उनले भने, “अब जसले विकास ल्याउँछ, उसैले भोट पाउँछ ।”
कमल रिमाल, विराटनगर