निर्धक्क भएर चुनावी अभियानमा लाग्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धक्क भएर चुनावी अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
आज धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले चुनाव विरोधी क्रियाकलापमा संलग्न हुनेलाई सरकारले कारबाही गरेरै छोड्ने बताए । प्रधानमन्त्री देउवाले भने, “सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु । चुनाव विथोल्न खोज्नेलाई अवश्य कारबाही हुन्छ । ”
शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव गर्न अतिआवश्यक भएको उल्लेख गर्दै उनले उम्मेदवार, दलका कार्यकर्ता र मतदाताहरुलाई निर्धक्क भएर चुनावी अभियानमा सहभागी हुन आग्रह गरे ।
प्रधानमन्त्री देउवाले भने, “चुनावको सुरक्षाका लागि सबै सुरक्षा निकायहरु विशेष सुरक्षा योजना सहित परिचालन भइसकेका छन् । निर्धक्कसँग चुनावमा लाग्नुस ।”
प्रदेश ५, ६ र ७ को एक साता लामो चुनावी अभियानपछि प्रधानमन्त्री देउवा आजै काठमाडौं फर्किएका छन् ।