प्रदेश–५ को प्रमुख मुद्दा 'प्रदेश राजधानी'
दीपक ज्ञवाली, बुटवल
अन्यत्रका झैं प्रदेश–५ का प्रदेश सभाका उम्मेदवारहरूले थुप्रै ‘असम्भव’ आश्वासन बाँडेकै छन्, तर प्रमुख आश्वासन भने एउटै छ— प्रदेश राजधानी (केन्द्र) । एक वर्षअघि प्रदेश विभाजनको सरकारी प्रस्तावविरुद्ध काँधमा काँध मिलाई महीना दिन लामो आन्दोलन गरेका नेताहरू राजधानीको विषयमा भने विभाजित छन् । राजधानी बुटवल वा दाङ ? एकै पार्टीका उम्मेदवारको समेत फरक मत देखिन्छ ।
रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पालगायत जिल्लाका प्रायः सबैजसो पार्टीका उम्मेदवारले बुटवललाई प्रदेश राजधानी बनाउने नारा बनाएका छन् ।
कतिपयले बुटवलले शहर मात्र जनाउने भएकाले रूपन्देही जिल्लाकै नाममा राजधानी बनाउने आश्वासन पनि छरिरहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी, प्रमुख सीमानाका बेलहिया, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) र कलकारखानाका कारण पनि राजधानीमा रूपन्देहीको विकल्प नभएको तर्क पनि गरिएको छ । स्वास्थ्य, शिक्षा, सडक, विद्युत्का साथै निर्माणाधीन राष्ट्रिय गौरवका ठूला आयोजनाका कारण पनि यो जिल्लाको सम्भावना बढी छ ।
तर, दाङ पुग्ने हो भने दृश्य वेग्लै देखिन्छ । प्रदेशका अधिकांश उम्मेदवारहरू दाङमै राजधानी बनाउने सपना बाँडिरहेका छन् । स्थानीयस्तरमा दबाबमूलक अभियानहरू पनि चलाइरहेका छन् । यसअघि नै उच्च अदालत, प्रहरीको प्रदेश प्रमुख जस्ता कार्यालय दाङमा स्थापना भइसकेका छन् । कतिपय दलहरूले दाङमै प्रदेश कार्यालयहरू पनि स्थापना गरिसकेका छन् ।
बुटवल कि दाङ ?
प्रदेश विभाजन प्रस्तावविरुद्ध आन्दोलनको अगुवाइ गरेका नेकपा (एमाले) का उपमहासचिव तथा रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेलको प्रमुख नारा नै ‘प्रदेशको राजधानी बुटवल’ छ । “राजधानीका लागि चाहिने प्रशासनिक सुविधा, पूर्वाधार र दूरीका हिसाबले पायक पर्ने स्थान बुटवल नै हो । विकल्प खोज्नु प्रदेश–५ का नागरिकमाथि घात हो” उनी भन्छन्, “तर, यसको निर्णय गर्ने अधिकार प्रदेश सभाको हो ।”
एमालेका अर्का उपमहासचिव तथा रूपन्देही क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम भुषाल पनि रूपन्देहीमै राजधानी बनाउने आश्वासनसहित भोट मागिरहेका छन् । “बुद्ध जन्मेको जिल्ला र हरेक दृष्टिले सक्षम भएकाले यहीं नै राजधानी बनाइनेछ”, उनी भन्छन् । सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उम्मेदवार तथा स्वास्थ्य मन्त्री दीपक बोहोराको तर्क र आश्वासन पनि उही छ । भन्छन्, “पूर्वाधार भएको ठाउँमा राजधानी जरूरी छ, त्यसैले राजधानीमा रूपन्देही नै उपयुक्त छ ।”
नेपाली कांग्रेसका उम्मेदवारहरूको चुनावी प्रतिबद्धता पत्रमा पनि बुटवललाई नै राजधानी बनाइनेमा जोड दिइएको छ । “बुटवलमा राजधानी बनाउन कांग्रेसले जित्नुपर्छ” कांग्रेस रूपन्देही क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार युवराज गिरी भन्छन्, “पूर्वाधार नभएको र पायक नपर्ने स्थानमा राजधानी बनाउन दिंदैनौं ।”
मधेशकेन्द्रित दलहरू भने प्रदेशको नाम रूपन्देही राखिनुपर्ने पक्षमा छन् । राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नं. ४ का उम्मेदवार सर्वेन्द्रनाथ शुक्ल प्रदेशको राजधानी लुम्बिनी क्षेत्रबाट टाढा जान नहुने बताउँछन् । “लुम्बिनी, रामग्राम र तिलौराकोटलाई केन्द्रमा राखेर रूपन्देही वा कपिलवस्तुको बीचमा राजधानी बनाउन सकिन्छ, अन्यत्र स्वीकार्य हुन्न”, उनी भन्छन् ।
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङ क्षेत्र नंं. २ ‘क’ बाट उम्मेदवार सदस्य बनेपछि उनी नै प्रदेशको मुख्यमन्त्री बन्ने भन्दै कार्यकर्ताहरू मत मागिरहेका छन् । पोखरेल स्वयम् पनि चुनावी प्रचारमा प्रदेश प्रमुख भएपछि गर्ने कामको आश्वासन दिइरहेका छन् ।
“जनताको भावना र माग दाङमै राजधानी बनाउने छ” उनी भन्छन्, “यहाँ सुन्दर उपत्यका छ, राजधानी बनाउन अनुकूल स्थान छ ।” धेरैले राजधानी बनाउने आश्वासन दिइरहेको बुटवल–भैरहवालाई पर्यटकीय, नेपालगञ्ज–कोहलपुर औद्योगिक र घोराही–तुलसीपुरलाई राजधानीका रूपमा विकास गर्न सकिने उनको तर्क छ ।
नेकपा (माओवादी केन्द्र) का नेता एवं दाङ क्षेत्र नं. २ का उम्मेदवार कृष्णबहादुर महराको नारा पनि ‘दाङलाई राजधानी बनाउने’ नै छ । “दाङमै प्रदेश राजधानी बनाउने छौं”, उनी भन्छन् ।
कांग्रेसका दाङ क्षेत्र नंं. २ ‘ख’ का उम्मेदवार भरतबहादुर न्यौपानेले दाङलाई राजधानी नबनाइए जनता आक्रोशित हुने भाषण गर्दै आएका छन् । प्रदेश–५ का १२ जिल्लाबाट २६ जना प्रतिनिधिसभा र ५२ जना प्रदेश सभा सदस्यमा गरी कुल ७८ जना निर्वाचित हुनेछन् ।