ब्लगसोमवार, मंसिर ४, २०७४

पुराना बस्तीहरूकाे नमूना– बन्दीपुर

कनकमणि दीक्षित

मवीवी शाहले लेखे अनि तारादेवीले गाइन्– ‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर... ।’

दरबारमा हुर्किएका महेन्द्रलाई त्यो उकालो लामो लाग्नु अस्वाभाविक नहोला, तर त्यो छोटो छ । मुग्लिङ्गबाट जाँदा डुम्रे बजार नपुग्दै बायाँपट्टि उकालो गोरेटो शुरु हुन्छ । सालको जंगल, बीचमा दुईवटा रमणीय चौतारा अनि हरियाली छिचोल्दै शहरवासीको हिंडाइमा पनि दुई–अढाइ घण्टामा बन्दीपुर बजार पुगिन्छ । बाटोमा प्लास्टिक र पिकनिके फोहोर देखिंदैन । तर विडम्बना, एउटै बटुवा भेटिंदैन, न उँधो जाने न उँभो ।

भन्नैपर्छ, बन्दीपुरे उकालो वर्तमान नेपालका राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकको लागि ‘अन्डिस्कभर्ड जुवेल’ हो । झर्दा अर्कै बाटो लिन पनि सकिन्छ । ठाडो तर रेलिङ्ग राखेको गोरेटोबाट एकै घण्टामा सिद्धबाबा गुफा झर्न सकिन्छ । गुफाको अर्कै आकर्षण छ ।

तस्वीरहरुः कनकमणि दीक्षित

बन्दीपुर बजारको त कुरै गर्नु परेन । करीब २०–२२ वर्ष अगाडि होला, ललितपुरवासी पर्यटन उद्यमी दिलेन्द्र श्रेष्ठ लगायतले एक ‘इकोटुरिजम्’ परियोजनाअन्तर्गत बजारको विशेषता मूल सडकलाई मोटरमुक्त क्षेत्र बनाउँदा पर्यटन फस्टाउँछ भनेका । रैथाने बासिन्दा तथा नारायणघाट/काठमाडौं पलायन भएका व्यापारिक घरानाका उत्तराधिकारीलाई त्यो कुरा जँच्यो । र, आज आएर समस्त नेपाल पहाडकै लागि नमूना बस्ती बनेको छ, बन्दीपुर ।

बजारका घरहरूलाई पुरानै शैलीमा रहन दिएर पछाडिपट्टि थपेर आधुनिक भवन बनाउन थालिएको छ । सडकको उत्तरपट्टि हरेक घर–घर जोड्ने ऐतिहासिक पेटीलाई जस्ताको तस्तै राखिएको छ । अन्यत्रका ‘टुरिजम्’ अनुभवीहरु आएर बन्दीपुरका घरहरू लिजमा लिएर व्यवसाय गर्दैछन् । ‘बन्दीपुर छें’ भन्ने होटलचाहिं एउटा मुनाफा नकमाउने कम्पनीले संचालन गरिरहेको छ, रोटरी क्लबको सहयोगमा । आम्दानी पाँचवटा स्थानीय सामुदायिक स्कूलको लागि छुट्याइन्छ ।

बाँकी नेपालका पुराना बस्तीहरूका लागि हर तरिकाले नमूना बनेको छ– बन्दीपुर । तर बन्दीपुर आफ्नो लागि अझै पनि धेरै गर्न सक्छ । पहिलो कुरा त कोठा भाडा बढाउन अप्ठ्यारो मान्नुभएन ।

पर्यटन भनेको बजारको माग र आपूर्ति अनुसार चल्ने व्यवसाय न हो, यो स्थान, यहाँको संस्कृति, रमणीय दृश्य इत्यादिले थेग्ने रेट राख्न किन अप्ठ्यारो मान्नु पर्‍यो ? ३० डलर पर नाइट हो भने ५० डलर बनाउनुपर्‍यो, ५० हो भने ८० । उत्कृष्ट सर्भिससहित पर्यटनबाट पैसा कमाउने हो, र उपलब्ध मुनाफा कामदार, समुदाय र व्यवसायीमा वितरण गर्ने हो । धेरै कमाउन केको लाज ?

तर धेरै कमाउन सफा कोठा, धारामा तातोपानी, ‘ड्राई बाथरुम’ इत्यादि भएर मात्र पुग्दैन । बन्दीपुरका होटल व्यवसायीहरूले पहिले त आफ्नो हिमाल चिन्नुपर्‍यो– मनास्लु, हिमालचुली, धौलागिरि, गणेश, लाङटाङ इत्यादि । अनि यी हिमालका गाथा पनि बुझ्नु पर्‍यो जस्तै मरिस् हर्जगको ‘अन्नपूर्ण’ कृति । त्यस्तै, बन्दीपुर क्षेत्रका नेवार र मगर समुदायको संस्कृति कसरी प्रस्तुत गर्ने ? घाटु नाच बजारमा नभई परम्परागत हिसाबले छेउछाउका गाउँमा मात्र नाच्ने गरिकन पर्यटकलाई गाउँ छिराउन सक्नुपर्छ बन्दीपुरले ।

बन्दीपुर वरिपरिका पहाडको विशेष आकार छ, हात्ती जस्तो भनौं । त्यसको आफ्नै आकर्षण छ । डुम्रे बजार तथा मस्र्याङ्दी उपत्यकातर्फ मोडिएको भिरालो पहाड छ, जसलाई ‘एस्कार्पमेन्ट’ भनिन्छ । यसको पनि महत्व आफ्नै छ । यो ‘एस्कार्पमेन्ट’ को पाखामा विविध किसिमका चराचुरुङ्गी छन् भने बजारको अर्कोपट्टि प्याराग्लाइडिङ शुरु भइसकेको छ । बजारको एकापट्टि हिमालै हिमाल हेर्दै लञ्च खान पाइन्छ भने अर्कोपट्टि महाभारत लेकको पत्रपत्र नियाल्दै डिनर ।

बन्दीपुरले पाल्पालाई केही सिकाओस्, धनकुटा र चैनपुरलाई, बाग्लुङ र सिलगढी डोटीलाई । तर आफूले आफ्नै लागि पनि धेरै गर्न बाँकी छ भन्ने न बिर्सिओस् ।

 

प्रतिकृया दिनुहोस