हवाई मैदानमा मुक्त कमैयाले पक्की घर निर्माण गर्दै
धनगढीस्थित पुरानो हवाई मैदानको खाली जग्गा ओगटेर बसेका मुक्त कमैयाले जग्गाधनी प्रमाणपत्र नपाउँदै पक्की घर निर्माण गर्न थालेका छन् ।
नगर विकास समितिले आफूहरुलाई पाँच/पाँच धुर जग्गा दिने भनेकोले ओगटेको जग्गामा पक्की घर निर्माण गर्न थालेको मुक्तकमैयाले बताएका छन् ।
समितिले आफू बसेको जग्गाको कित्ताकाट गरिसकेकाले पक्की घर निर्माण गरिएको मुक्त कमैया होरीलाल चौधरीले जानकारी दिए ।
धनगढीको पुरानो हवाई मैदानमा बसेका ५३ मुक्त कमैया परिवार मध्ये १५ परिवारले पक्की घर निर्माण गरिरहेका छन् । अरु परिवारले पनि पक्की घर निर्माणको तयारी थालेका छन् ।
धनगढी नगर विकास समितिले हवाई मैदानमा बसेकालाई सोही ठाउँमा जग्गा दिने निर्णय गरेको भए पनि मुक्त कमैयाले अहिलेसम्म जग्गाधनीको प्रमाणपत्र भने पाएका छैनन् । रासस