निजामतीमा करिब १२ प्रतिशत महिला
निजामतीतर्फका कुल कर्मचारमध्ये महिलाको संख्या करिब १२ प्रतिशत रहेको अन्तरपार्टी महिला सञ्जालले जनाएको छ ।
अन्तरपार्टी महिला सञ्जालले अनुसन्धान गरी तयार पारेको प्रतिवेदनअनुसार राजपत्राङ्कित, राजपत्रअनङ्कित र श्रेणीविहीनतर्फ गरी कुल ६१ हजार ८८३ कर्मचारी मध्ये महिलाको सङ्ख्या सात हजार ३१६ तथा पुरुष ५४ हजार ५६७ रहेको उल्लेख छ ।
यसमध्ये राजपत्राङ्किततर्फ महिलाको प्रतिनिधित्व करिब नौ प्रतिशत मात्र रहेको छ । १४ हजार ३६९ मध्ये पुरुष १३ हजार आठ छन् भने महिला एक हजार २८९ छन् ।
राजपत्रअनङ्कितमा २८ हजार ९५० मध्ये २४ हजार ३६५ पुरुष तथा चार हजार ५८५ महिला छन् । यसमा करिब १६ प्रतिशत महिला सहभागिता रहेको छ ।
त्यसैगरी, श्रेणीविहीनतर्फ १८ हजार ५६४ मध्ये १७ हजार १२२ पुरुष तथा एक हजार ४४२ महिला सहभागिता रहेको छ । यो करिब आठ प्रतिशत हो ।
सञ्जालकी सचिव शशि श्रेष्ठले समग्रतामा राजपत्राङ्कित, राजपत्रअनङ्कित र श्रेणीविहीनतर्फका सबै पद जोड्दा करिब १२ प्रतिशत हुने जानकारी दिँदै महिला सशक्तीकरणका माध्यमबाट महिलाको सहभागिता राज्यको हरेक निकायमा वृद्धि गर्ने बताइन् ।