अन्तर्वार्ता/विचारशनिवार, मंसिर २, २०७४

अवसरवादको मारमा जनजाति आन्दोलन

हिमालखबर

समुदायभित्रका अगुवाहरूमा व्याप्त ‘बाहुनवादी’ प्रवृत्तिाले नेपालको आदिवासी जनजाति आन्दोलनलाई धरासायी बनाएको छ।
 

- पूर्ण पी राई 

सन् १९९१ मा मानवशास्त्री डोरबहादुर बिष्टको फेटालिज्म एण्ड डेभलपमेन्ट प्रकाशित भएपछि नेपाली बौद्धिक विमर्शमा ‘बाहुनवाद’ शब्द अत्यधिक प्रचलित भयो । बिष्टले भाग्यवाद, जातिवाद र नातावादलाई बाहुनवादका तिम्ल्याहा सन्तान भनेका छन् ।

त्यही ‘बाहुनवाद’ शब्द पढ्दै, सुन्दै हुर्किएका अरुण बरालले आफ्नो पुस्तक बाहुनवाद मा यो प्रवृत्ति जनजातिहरूतिर पनि सरेको विश्लेषण गरेका छन् । 

ऐतिहासिक, राजनीतिक र सामाजिक कारणले नेपालको राज्यसंयन्त्रमा पुरुष बाहुनहरूको वर्चश्व भयो । यसले अनेकथरी फूलबारी देशलाई तोरीबारी बनाएको छ ।

परिवर्तनका हरेक संग्राममा सबै जातजाति, क्षेत्र, र लिंगले योगदान गरे पनि राज्यसंयन्त्रमा समानुपातिक प्रतिनिधित्व हुन सकेन । त्यसैले सीमान्तकृतहरू आन्दोलित भए ।

तर, आफ्नो समुदाय पछाडि पर्नुमा एकमात्र जिम्मेवार ‘बाहुनवाद’ भएको भाषण गर्नेहरू आफैं बाहुनवादी, अवसरवादी भएका छन् ।

एकसे एक अवसरवादी
सामन्तवादको सहायक बनेर राजनीतिमा छाएका अनेकौं जनजाति परिवार छन् । पहिले आ–आफ्ना ठाउँबाट काठमाडौंको सामन्ती सत्तालाई सघाउने राई, सुब्बा, जिम्मावाल, मुखिया, चौधरी आदि राजनीतिक घरानाहरू थिए ।

केन्द्रीय सरकारको प्रतिनिधिको रूपमा आ–आफ्ना क्षेत्रमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्ने उनीहरू रैती कज्याएर दरबार रिझाउन जे पनि गर्थे ।

राणाकालका राई, सुब्बा, जिम्मावाल आदि पञ्चायती व्यवस्थामा प्रधानपञ्चदेखि मन्त्रीसम्म बने अनि बहुदल आएपछि ठूला दलहरूमा छरिए । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछि जनजाति संघ–संस्थाको नेतृत्वमा पुग्ने पनि उनीहरू नै भए ।

राज्यका निकायहरू आम जनजातिको पहुँचमा छैनन् । उनीहरूको भाषिक अधिकार कुण्ठित छ, धार्मिक–सांस्कृतिक अतिक्रमणको शिकार भएका छन् ।

जनजातिबहुल क्षेत्रका विद्यालयहरूको औसत प्राप्तांक राष्ट्रिय औसतभन्दा निकै कम छ । लाहुरे र पहिलेका सामन्ती परिवार बाहेकको आर्थिक हैसियत कमजोर छ । राज्यको पहुँचमा जो थिए, उनैका सन्तानले शिक्षा पाए, राजनीति जाने ।

लोकतन्त्रमा जनजातिको लागि छुट्याइएको अवसर, आरक्षणका पदहरूमा उनीहरू नै प्रतिस्पर्धी भए ।

जनजाति अगुवाहरू समुदायलाई उत्तेजित पार्नु, दाताको सेवा र दलका ‘बाहुन’ हरूको चाकरी गर्नुमा केन्द्रित भए । चर्को साम्प्रदायिक कुरा गर्दै आदिवासी/जनजाति महासंघमा पुगेकाहरू दलहरूको सिफारिशमा समानुपातिक सभासद्, राजदूतलगायतका लाभका पदमा पुग्नुले त्यही देखाउँछ ।

जनजातिका भाषिक–सांस्कृतिक संघ–संस्था पनि दलीय नियुक्तिको भर्‍याङ र अवसरवादको केन्द्र बनेका छन् ।

पञ्चायत ढल्नासाथ ‘दशैं बहिष्कार’ भन्दै जनजाति बस्तीहरूमा पुगेका गोरेबहादुर खपाङ्गी ‘सारा बाहुनक्षेत्रीलाई काशी पठाउनुपर्ने’ भाषण गर्थे ।

त्यो तहको साम्प्रदायिक बनेर जनजाति उचाल्नुको उद्देश्य केवल मन्त्री पद रहेछ भन्ने राजा ज्ञानेन्द्रले सत्ता लिएपछि थाहा भयो । दशैंमा ज्ञानेन्द्रको हातबाट टीका थापेपछि उनी विजयी मुद्रामा टेलिभिजनमा देखिएका थिए ।

त्यसवेला राजा र आन्दोलनरत दलहरूबीच वार्ता हुनुपर्छ भन्ने एकथरी बौद्धिकहरूलाई मन्त्री खपाङ्गीले सम्झएका थिए– ‘राजासँग वार्ता गर्ने होइन, विन्ती पो बिसाउने हो !’

समाजशास्त्रमा एउटा भनाइ रहेछ– पिछडिएको समुदायमा केही व्यक्ति विकसित समुदायका बाठाहरूभन्दा बढ्ता बाठा हुन्छन् । नेपालका जनजाति समुदायभित्रका बाठाहरूको अवसरवादी क्षमता देखेर जन्मजात बाठा भनिने बाहुनहरू पनि छक्क पर्दा हुन् !

भाषा–संस्कृतिको खेती
भाषा–संस्कृतिको संरक्षण–सम्वद्र्धन जनजाति आन्दोलनको केन्द्रीय मुद्दा हो । यो जनजातिको मात्र नभई देशकै मुद्दा हो, तर जनजाति अगुवाहरूले यसलाई पनि स्वार्थसिद्धिको माध्यम बनाएका छन् ।

मातृभाषी संघ–संस्थामा नयाँखाले सामन्तहरू देखिन्छन् । मातृभाषा संरक्षणमा अरूले रुचि देखाए उनीहरू धपाउन लागिपर्छन् । किराती भाषामा यो प्रवृत्ति बढी देखिन्छ । यस्तै विज्ञहरूको कारण मातृभाषा शिक्षा झन् हानिकारक बन्दैछ ।

घरमा बोल्ने भाषाकै माध्यमबाट शिक्षा दिंदा बालबालिकाले छिटो सिक्छन्, यो वैज्ञानिक तथ्य हो । तर, मातृभाषा शिक्षालाई समेत कमाउने अभियान बनाएका अभियन्ताहरू राजधानी वा जिल्ला सदरमुकाममा बस्छन् र प्राथमिक तहसम्म भए पनि मातृभाषामा कक्षा सञ्चालन गराएको फुर्ती लगाउँछन् ।

त्यसबापत समुदाय, सरकार र दातृसंस्थाहरूबाट आर्थिक फाइदा लिन्छन् । त्यही लाभबाट आफ्ना सन्तानलाई अंग्रेजी पढाउँछन् ।

दरबन्दी अनुसार शिक्षक नभएका र घरायसी काम सकेर मात्र किताब बोक्न पाउने गरीब परिवारका विद्यार्थी पढ्ने ग्रामीण भेगका सरकारी विद्यालयहरूमा मातृभाषा शिक्षा लागू गरिंदैछ, जहाँका अभिभावक छोराछोरी पढाउन त चाहन्छन्, तर खाना, कपडा र कापीकलम किनिदिन सक्तैनन् ।

तिनै बालबालिकामाथि मातृभाषाका पुस्तक थपिएको छ । यसले जनजातिहरूलाई शिक्षामा अगाडि बढाउला कि पछाडि धकेल्ला ?

अरुण बरालको बाहुनवाद का अनुसार ढोंगीपन बाहुनवादको खास विशेषता हो । जनजाति अगुवाहरू सांस्कृतिक रूपमा पनि बढी ढोंगी देखिन्छन् ।

संस्कृति भनेको जीवनपद्धति हो, चाडपर्वका वेलाका नाचगान त्यसको एउटा पाटो मात्र हो । अगुवाहरूले नाचगानलाई नै संस्कृति मानेका छन् । किनभने, त्यसमा ग्ल्यामर र कमाइ छ ।

उनीहरू जातीय चाडको वेला राजधानी र जिल्ला सदरमुकामहरूमा परम्परागत पोशाक लगाएर मोडलिङ शैलीमा संस्कृति बचाउन जुट्छन् । यसखाले संस्कृति रक्षामा सम्बन्धित समुदाय र राज्यकोषबाट समेत आर्थिक अपव्यय भइरहेको छ ।

भनिन्छ, कुनै पनि कुराको विकास र पतनको लागि बाह्य कारण सहायक मात्र हुन्छ । नेपालको जनजाति आन्दोलनले अपेक्षित उपलब्धि हासिल गर्न नसक्नुमा आन्तरिक कारण बढी जिम्मेवार छ ।

जनजाति समुदायभित्रका अगुवाहरूमा व्याप्त बाहुनवादी र अवसरवादी प्रवृत्ति माथिबाट तल सर्दै गएको छ । नेतृत्वले जे गर्छ तलकाले त्यही सिक्छ । यो रोग नियन्त्रण गर्ने कसले ?

प्रतिकृया दिनुहोस