टिप्पणीशनिवार, मंसिर २, २०७४

रामग्रामको रहस्य

वसन्त महर्जन

दिवंगत पुरातत्वविद् शुक्रसागर श्रेष्ठले थालेको उत्खनन् कार्यलाई टुंगोमा पुर्‍याएर रामग्राम स्तूपको औपचारिक घोषणा हुनुपर्छ।

गौतम बुद्ध र स्तूपको सन्दर्भमा रामग्राम स्तूप अनिवार्य रूपमा उल्लेख हुन्छ । बौद्ध ग्रन्थमा उल्लिखित रामग्राम स्तूपको आकृति अंकित एउटा ढुंगा ‘आर्कियोलोजिकल म्यूजियम सारनाथ’ मा छ, तर वास्तविक सारनाथ कहाँ पर्छ भन्ने कुरा त्यहाँ उल्लेख छैन ।

नेपालको नवलपरासी जिल्ला सदरमुकामस्थित उज्जैनीमा रामग्राम स्तूप रहेको नेपालीहरू दावी गर्छन् र नगरपालिकाको नाम नै रामग्राम राखिएको छ । तथ्य प्रमाणसहित रामग्राम स्तूपको औपचारिक घोषणा भने भएको छैन । 

महापरिनिर्वाण (इ.पू. ४८३) पछि बुद्धको अस्थिधातु आठ भाग लगाई मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वेठदीप, पावा र कुशीनगरलाई दिइएको थियो ।

सोही अस्थिधातु निदान गरी आ–आफ्नो ठाउँमा स्तूपको निर्माण भएको थियो । तर, अस्थिहरू यसरी विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थविरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगध साम्राज्यको राजधानी राजगिरमा ल्याइएको उल्लेख महावंश (श्रीलंकाली वंशावली) मा छ ।

८४ हजार स्तूप बनाउने अभियानका क्रममा सम्राट अशोक (तेस्रो शताब्दी इसापूर्व) भिक्षु महाकश्यपले बाँकी छाडेका अस्थिधातुहरू संकलन गर्न हिंडेका थिए ।

तर, रामग्राम स्तूपको संरक्षण गरेर बसिरहेका नागहरूले अस्थिधातु झिक्न नदिएको प्रसङ्ग पनि सोही वंशावलीमा उल्लेख पाइन्छ । यसलाई त्यस वेला रामग्राम रहेको भूभाग मौर्य साम्राज्यअन्तर्गत नरहेको भनी अर्थ्याउन सकिन्छ ।

एक समय लुम्बिनी फेला पार्न नसकेर ‘यहाँ’ र ‘त्यहाँ’ भनी अनुमान लगाइन्थ्यो । अहिले रामग्राम स्तूपको सम्बन्धमा त्यस्तै भइरहेको छ ।

अलेक्जेन्डर कनिंघमले भारतको देवकली भन्ने ठाउँमा हुनसक्ने अनुमान गरेका छन् भने कार्लाइलले देवरियाको रामपुरलाई रामग्राम भनेका छन् । यसरी नै भी.ए. स्मिथले गोरखपुर सीमाको धर्मपुरी र राजबली पाण्डेले रामगढ ताललाई रामग्राम भनेका छन् । केही वर्षअघि भारतको बनरसियामा रामग्राम महोत्सव नै आयोजना भएको थियो ।

सन् १८९६ मा लुम्बिनी पत्ता लागेपछि सो स्थल हेर्न पुगेका पुरातत्वविद् डा. ह्वेले यताउता अन्यत्र पनि अवलोकन गर्ने क्रममा नवलपरासी जिल्लाको उज्जैनीमा ५० फिट अग्लो एउटा माटोको ढिस्को देखेका थिए, जुन स्तूप हुनसक्ने उनको अनुमान थियो ।

त्यस्तै, पूर्णचन्द्र मुखर्जीले रामग्रामको खोजी नेपालको तराईमा गर्नुपर्ने महत्वपूर्ण मन्तव्य राखेका थिए । पछि भिक्षु शाक्यानन्द महास्थविरले उज्जैनीको स्तूप रामग्राम हो भनी साइनबोर्ड राखिदिए ।

१९७४ मा पुरातत्व विभागका बाबुकृष्ण रिजालले उत्खनन् र पुरातात्विक प्रमाण विना नै यसलाई प्राचीन रामग्राम स्तूपबाहेक अरू केही हुन नसक्ने ठोकुवा गरेका थिए ।

त्यो ठोकुवाको आधार चिनियाँ यात्रीहरूको भ्रमण वृत्तान्त मात्रै थियो । पुरातत्व विज्ञानमा बढीभन्दा बढी ठोस प्रमाणहरूको दरकार पर्छ, तर प्रमाण जुटाउन नसकेका भारतीयहरू भारतमा नै रामग्रामको खोजी गरिरहेका छन् ।

नेपालको पुरातत्व विभागले पछिल्लो समय रामग्राम स्तूप भनी संरक्षित ढिस्कोको उत्खनन् गरी महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । उत्खनन् तथा अध्ययनमा संलग्न पुरातत्वविद् स्वर्गीय शुक्रसागर श्रेष्ठ यस अध्ययनबाट निकै मात्रामा उत्साहित थिए ।

उनले त्यहाँ स्तूपको मात्रै नभएर वरिपरिका खेतहरूमा पनि उत्खनन् गरेर पुराना बौद्ध बिहारहरूको संरचना पनि भेटेका थिए ।

२०६० सालमा रामग्राम स्तूप उत्खनन् हुँदै गर्दा यो पंक्तिकार पनि पुरातत्व विषयको विद्यार्थीको नाताले सहभागी हुने अवसर पाएको थियो । त्यसवेला पुरातत्वविद् श्रेष्ठले रामग्राम स्तूप यही हो भनी अकाट्य रूपमा घोषणा गर्न सकिने बताएका थिए ।

तर, थप उत्खनन् गर्न नदिइएपछि उनले अनिर्णित अवस्थामा नै छाड्नु परेको थियो । रामग्राम स्तूप अध्ययनको ‘क्रेडिट’ दिन नचाहने तत्वहरूले शुक्रसागर श्रेष्ठलाई त्यहाँबाट पन्छाएका थिए ।

प्राचीन कोलिय राज्यको राजधानी देवदह (बुद्धको मावली) अनुमान गरिएको पण्डितपुरको पनि उत्खनन् गरेका पुरातत्वविद् श्रेष्ठ यसबाट पनि रामग्राम स्तूपलाई थप प्रमाणित गर्न सकिने बताउँथे । तर उनलाई पण्डितपुरमा पनि पूरै काम गर्न नदिई बीचमै छाड्न बाध्य पारिएको थियो ।

रामग्राम नगरपालिका–७ मा रहेको रामग्राम स्तूप र रामग्राम नगरपालिका–१८ को गौतम बुद्धको मावली हुनसक्ने भनिएको पण्डितपुरको संरक्षण, सम्वद्र्धन तथा विकास गर्ने जिम्मेवारी अहिलेसम्म लुम्बिनी विकास कोषको काँधमा छ ।

तर, कोषले यी दुई ठाउँको विकासमा चासो नदेखाएको भन्दै रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले गत असोजको पहिलो साता पत्रकार सम्मेलन गरेको थियो । अब स्वायत्त रामग्राम विकास कोष गठन गरेर विकासको काम अघि बढाउनुपर्ने माग पत्रकार सम्मेलनमा गरियो । यसमा सबै पक्षले गम्भीर विमर्श थाल्नुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस