स्कुलमा बम विस्फोटन गराउने दुई पक्राउ
प्रहरीले उपत्यकाका विभिन्न निजी विद्यालयमा बम विस्फोटन गराउने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बम विस्फोटन गराउने दुई जनालाई जोरपाटीबाट पक्राउ गरिएको र उनीहरुले अभियोग स्विकार गरेको जानकारी दिएका छन् ।
‘‘यसअघि पनि उनीहरुलाई हामीले यस्तै खालको आरोपमा पक्राउ गरेका थियौ’’ उनले भने, ‘‘उनीहरुबारे थप अनुसन्धान हुदैँछ । चाडै नै घटनाको सबै विवरण सार्वजनिक गर्छौ ।’’
पक्राउ परेका दुबैजना अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट लिग फोर्सका कार्यकर्ता रहेको पनि प्रहरी उपरीक्षक थापाले बताए ।
केन्द्र र फोर्सका कार्यकर्ताले आज बिहान उपत्यकाका दुईवटा निजी विद्यालयमा बम विस्फोटन गराउनुका साथै अन्य सात विद्यालयमा शङ्कास्पद वस्तु राखेका थिए ।
उनीहरुले बिहान बौद्धस्थित आकाशदीप बोडिङ स्कुल र मनकामना उच्च माविमा बम विस्फोटन गराएका थिए भने जोरपाटीको राई बोडिङ स्कुल, इस्टपोल स्कुल, ललितपुरको रेडियन्ट रिडर्स एकेडमी स्कुल, डल्लुको कञ्चनजङगा बोडिङ स्कुल र जोरपाटीकै बालसंसार बोडिङ स्कुलमा प्रेसेर कुकर बम र शङ्कास्पद वस्तु राखिएको भेटिएपछि सेनाको बम डिस्पोजल टोलीले निष्किृय पारेको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसीले बम विस्फोटनको घटनाप्रति आपत्ति जनाउँदै सरकारसँग विद्यालयको सुरक्षा माग गरेका छन् ।