पुनर्वास नरोक्न भुटानी शरणार्थीको आग्रह
भुटानी शरणार्थीको एउटा प्रतिनिधि मण्डलले शरणार्थी पुनर्वासका लागि निर्धारित मिति लम्ब्याउन र विधि समेत खुकुलो बनाउन राष्ट्रसंघीय र अमेरिकी अधिकारीहरुलाई अनुरोध गरेको छ ।
२९ कार्तिक अपराह्न झापाको दमकस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगको उपशाखा कार्यालयमा भएको बैठकमा त्यस्तो अनुरोध गरिएको बेलडाँगी शरणार्थी शिबिरका सचिब टिकाराम रसाइलीले बताए ।
“हामीले आँउदो डिसेम्बरमै पुनर्वास नरोक्न र जान इच्छुकहरुका लागि सहयोग पुग्ने गरी सोच्न अनुरोध गरेका छौं,” उनले भने ।
बैठकमा काठमाडौंस्थित अमेरिकी राजदूतावासका आप्रवासन मामिला हेर्ने अधिकारी एलेक्स, अमेरिकी सरकारका अध्यागमन अधिकारी मार्गरेट र दमकस्थित युएनएचसीआरका अधिकारी समक्ष शरणार्थीका प्रतिनिधिले त्यस्तो अनुरोध गरेका हुन ।
युएनएचसीआरले भने करिव एकलाख १० हजार भुटानी शरणार्थीको पुनर्वासपछि डिसेम्बर अन्तिमदेखि भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको योजना स्थगित हुने जनाएको छ ।
पुनर्वासको योजना स्थगित भएपछि करिव ८ हजार भुटानी शरणार्थी नेपालमै रहनुपर्ने छ । त्यसरी रहनेहरुको बारेमा युएनएचसीआर र उसका सहयोगी संस्थाहरु कुनै उपायको खोजीमा रहेको बताइएको छ ।
शरणार्थीका प्रतिनिधिहरुले भने पुनर्वास रोकिएपछि शरणार्थीको स्वदेश फिर्ता, पुनर्वासमा छुटेकाहरुका लागि पारिवारिक पुनर्मिलनको अवसर, नेपालमै रहन चाहनेका लागि स्थानिय घुलमिल, शरणार्थी समस्याको अन्तराष्ट्रियकरण र बिभिन्न कारणले दर्तामा छुटेका वास्तविक भुटानीलाई शरणार्थीको रुपमा अन्तिमपटक भएपनि दर्ताको ढोका खुल्नु पर्ने माग राख्दै आएका छन् ।
गोपाल गडतौला, झापा