समाचारबुधवार, कार्तिक २९, २०७४

सिन्धुपाल्चोकका महिलालाई प्रकोप र हिंसाको सास्ती

हिमालखबर

प्रमोद आचार्य
भूकम्पपछिको सुस्त पुनःनिर्माणका कारण सिन्धुपाल्चोकका महिला प्रकोप र हिंसाको दोहोरो सास्ती खेपिरहेका छन् ।

महिला हिंसामा परेको भन्दै जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकमा मुद्दा दर्ता गर्न आएका महिला । तस्वीरहरुः प्रमोद आचार्य

गएको असारमा सिन्धुपाल्चोकको साँगाचोकगढीमा आफ्नै काकाद्वारा पाँच वर्षीया भतिजी बलात्कृत भइन् । त्यसअघि भदौ २०७३ मा जिल्लाकै बाह्रबिसेमा १६ वर्षीया र मेलम्चीकी १८ वर्षीया किशोरी बुबाबाटै बलात्कृत भएका घटना सार्वजनिक भएका थिए । 

१२ वैशाख २०७२ को भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा त्यसयता आफ्नै परिवारका सदस्यबाट यौनहिंसा र दुव्र्यवहारमा पर्ने महिलाको संख्या ह्वात्तै बढेको छ ।

जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयको तथ्याङ्क अनुसार, जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा मात्रै बलात्कारका २० वटा घटना भएका छन् । जुन पछिल्लो १० वर्षयताकै उच्च हो । (हे. ग्राफ) चालू आर्थिक वर्षको साढे तीन महीनामा पाँच वटा बलात्कार र एउटा बलात्कार प्रयासको उजुरी परिसकेको छ । भूकम्पपछि यौनहिंसाका अपराध बढ्नुमा सुस्त पुनःनिर्माणलाई कारक मानिएको छ ।

असुरक्षित आवास
भूकम्पको दुई वर्षसम्म पनि जिल्लाका अधिकांश पीडित परिवार संयुक्त रूपमा टहरामै बस्न बाध्य छन् । अस्थायी र असुरक्षित तिनै टहरा यौनहिंसाको थलो झैं बनेका छन् ।

“सुन्नेलाई विश्वास नलाग्न सक्छ तर यहाँ भूकम्पका कारण असुरक्षित टहरामा बस्नु परेकै कारण बालिका र किशोरी आफन्तबाटै बलात्कृत भइरहेको सत्य हो”, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) विमलराज कँडेल भन्छन् ।

सुरक्षित आवास नहुँदा घरकै सदस्य, नातेदार र छिमेकीबाट कुनै पनि वेला शोषणमा परिने डर बालबालिकामा छ । तर, त्यहीं बस्नुको विकल्प पनि उनीहरूसँग छैन । “अर्को बस्ने ठाउँ छैन” बाबुबाट बलात्कृत बाह्रबिसेकी १६ वर्षीया किशोरी भन्छिन्, “घरमा बस्दा फेरि अरूबाट पनि बलात्कृत भइन्छ कि भन्ने डर लागिरहन्छ ।”

महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरीक्षक नानीमैया बस्नेत भूकम्पपछि जिल्लामा भएका महिला हिंसाका घटनाहरूले महिलाहरू आफ्नै घरमा समेत सुरक्षित नरहेको देखाएको बताउँछिन् ।

चुलिंदो हिंसा
सिन्धुपाल्चोक, भोताङकी कुमारी तामाङ (नाम परिवर्तन) लाई पाँच वर्षअघि आफन्तले नै भारतको मुम्बई पुर्‍याएर बेचे । भूकम्पपछि उनी मुम्बईको साहूको घरबाट भागेर गाउँ फर्किन् । तर, अहिले पनि उनलाई चैन छैन । कुमारी भन्छिन्, “उता हुँदा शारीरिक शोषण सहनुपर्‍यो, यता श्रीमान्को कुटाइ, आफन्तको छिःछि र दूरदूर !”

चेलीबेटी बेचबिखनमा मुलुककै बदनाम जिल्लामा सिन्धुपाल्चोक अग्रणीमा पर्छ । विडम्बना, यहाँका महिला अरूबाट होइन, आफन्तबाटै बेचिन्छन् । “सिन्धुपाल्चोकमा महिला अपरिचितभन्दा आफन्तबाटै असुरक्षित छन्”, डीएसपी कँडेल भन्छन् । उनका अनुसार, चरम गरीबी र अशिक्षाका कारण पैसाकै लागि आफन्त बेचेका घटना जिल्लामा थुप्रै छन् । रोजगारी दिलाइदिने वहानामा महिलाहरूको आर्थिक र शारीरिक शोषण गर्नेहरू पनि छन् ।

महिला तथा बालबालिका कार्यालयको तथ्याङ्क अनुसार, लैङ्गिक र घरेलु हिंसाका घटनामा अघिल्लो आर्थिक वर्षको तुलनामा २०७३/७४ मा ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिंसाको उजुरी ४८ बाट बढेर २३३ पुगेको छ । भूकम्पपछिका दुई वर्षमा मात्र ४५० हिंसाका उजुरी दर्ता भएका छन्, जसमध्ये करीब २०० घरेलु हिंसाका र १०० भन्दा बढी लैङ्गिक हिंसाका उजुरी छन् ।

भूकम्पपछि महिलामाथि बढेको अर्को हिंसा हो, बोक्सीको आरोप । भूकम्पमा परिवारका सदस्य गुमाएका, घाइते भएका तथा त्यसपछि बिरामी परेकाहरूले परिवारभित्रकै महिलाहरूमा यस्तो आरोप लगाउन थालेका छन् ।

“भूकम्पमा एउटा नाति मर्‍यो, अरू घाइते भए, तर मैले बोक्सी लगाएर मारेको भन्दै पिट्छन्”, महिला तथा बालबालिका कार्यालयमा उजुरी दर्ता गर्न आएकी चौतारा साँगाचोकगढी नगरपालिकाकी राधाकुमारी गिरीले भनिन् ।

हुन पनि भूकम्पअघिका सात वर्षमा बोक्सीको आरोप सम्बन्धी दुई वटा उजुरी मात्र परेको यो कार्यालयमा यताका दुई वर्षमा एक दर्जनभन्दा बढी उजुरी आइसकेका छन् । “भूकम्पपछि राम्रो खानपानको अभावमा बालबच्चा बिरामी भइरहेका छन्” महिला तथा बालबालिका कार्यालयकै कानूनी सहयोग तथा परामर्शकर्ता अप्सरा भुजेल भन्छिन्, “तर बिरामीका बाबुआमाले घरकै सदस्य, छिमेकका वृद्धाहरूलाई बोक्सीको आरोप लगाउने गरेको देखिन्छ ।”

अरू त अरू भूकम्पपछि खटिएकी स्वयंसेविका समेतलाई बोक्सीको आरोपमा लखेटिएको उनी बताउँछिन् । उनका अनुसार, भूकम्पपछि निर्मित एकीकृत बस्तीका दलित र जनजाति महिलाले बोक्सीको आरोप बढी खेप्नु परेको छ ।

जति विकट, उति अपराध
जिल्लाको उत्तरी भेगका विकट गाउँका महिला हिंसाका घटनाबाट झ्नै पीडित छन् । जस्तो कि, गएको जेठमा विद्यालयबाट फर्किंदै गरेकी जुगल गाउँपालिकाकी १५ वर्षीया किशोरी आफ्नै साथीद्वारा बलात्कृत भइन् । तर, घटनाको एक महीनापछि मात्र प्रहरीले पत्तो पायो । जुगल गाउँकै अर्की बालिकामाथि बाख्रा चराउन जंगल गएको वेला भएको जबर्जस्ती करणीको प्रयास पनि ढिलो गरी प्रहरीकहाँ आइपुग्यो ।

भौगोलिक रूपमा विकट त्यस्ता गाउँहरूमा प्रहरीको उपस्थिति न्यून छ । यसले अपराध मनोवृत्ति बढाएको मात्र छैन, पीडितले हारगुहार गर्दा पनि सहयोग नपाउने अवस्था छ । प्रहरीको तथ्यांकले पनि यसको पुष्टि गर्छ ।

प्रहरीका अनुसार, जिल्लाका हेलम्बु, जुगल र पाँचपोखरी–थाङपाल गाउँपालिकाका महिला हिंसाबाट बढी असुरक्षित छन् । आर्थिक वर्ष २०७३/७४ मा हेलम्बु गाउँपालिकाबाट मात्रै तीन वटा बलात्कारका उजुरी परेका थिए । “उजुरी दर्ता गर्न नै एकदिन हिंडेर आउनुपर्ने अवस्था पनि छ”, जिल्लाका प्रहरी नायब निरीक्षक ख्याली सिंह भन्छन् ।

महिला विकास निरीक्षक नानीमैया बस्नेत त विकट भेगका अधिकांश महिलालाई हिंसा भनेको के हो र कस्तो अवस्थामा उजुरी गर्ने भन्ने समेत थाहा छैन । उनीहरू वर्षौंदेखि हिंसा सहेरै बसिरहेका छन् । “दुर्गम गाउँहरूमा हुने महिला हिंसा र अपराधका धेरै घटना प्रायः जानकारीमै आउँदैनन्”, उनी भन्छिन् ।

प्रभावहीन कार्यक्रम
तथ्यांकमा जति महिला हिंसाका घटना आएका छन्, तीभन्दा धेरै गुणा बढी घटना गुपचूप पारिन्छन् भन्नेमा सरकारी अधिकारी र अधिकारकर्मी दुवै सहमत छन् । परामर्शकर्ता भुजेलको भनाइमा, कतिपय घटना गाउँमै मिलापत्र गरिन्छ भने परिवारकै सदस्यबाट हिंसामा परिरहेकाहरू आफ्नो र परिवार दुवैको इज्जत जाने डरले सहेरै बस्छन् । जघन्य अपराधका घटना पनि केही रकम दिएर पीडक पक्षले सामसुम पार्न खोज्छन् ।

“कतिपयले घटना प्रहरीसम्म पुर्‍याउने तयारी गरे पनि पीडकको धम्कीका कारण पीडितहरू ‘अपराध लुकाउन’ राजी हुन्छन्” भुजेल भन्छिन्, “गाउँगाउँ जाँदा महिला हिंसाका घटना निकै धेरै सुनिने तर थोरै मात्र दर्ता हुनुको कारण नै यही हो ।”

महिला तथा बालबालिकामाथिको हिंसा न्यूनीकरणका लागि जिल्ला समन्वय समितिले गत आर्थिक वर्षमा विभिन्न कार्यक्रममार्फत रु.४५ लाख खर्च गरेको छ । तर काम गरेअनुसारको नतिजा नदेखिएको समितिका सूचना अधिकारी युगबहादुर खड्का स्वीकार्छन् । यसबाहेक भूकम्पपश्चात महिला, बालबालिकाको क्षेत्रमा काम गर्ने भनी दर्जनौं गैरसरकारी संस्थाहरूले सचेतना अभिवृद्धिलगायतका कार्यक्रममा लाखौं रकम सिध्याएका छन् । तैपनि हिंसाका घटनामा कमी आएको देखिन्न ।

विगतमा गाउँ जनप्रतिनिधिविहीन भएकाले कतिपय कार्यक्रमहरू सदरमुकाममा मात्र सीमित भएकाले पनि उपलब्धि हासिल हुन नसकेको तर्क पनि गरिएको छ । अब ती कार्यक्रमहरू गाउँगाउँसम्म पुर्‍याउन सके महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने सरोकारवालाको भनाइ छ । योसँगै घरेलु हिंसा, बलात्कार र चेलीबेटी बेचबिखन विरुद्धको कानूनको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक देखिन्छ ।

(यो रिपोर्ट एन्टेना फाउन्डेसन, नेपालको फेलोशिपमा तयार पारिएको हो ।)

प्रतिकृया दिनुहोस