'बीआरआई दक्षिण एशियाको लागि अवसर'
नेपाल चाइना फ्रेण्डसिप फोरमले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले 'बेल्ट एण्ड रोड इनिसियटिभ' (बीआरआई) दक्षिण एशियाको लागि राम्रो अवसर भएको बताएका छन् ।
काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल, चीन, भारत, बंगलादेश र पाकिस्तानका सहभागीहरुले बीआरआईले पार्ने प्रभाव र अवसरका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिले शुरुआत गरेको 'बीआरअाई'ले दक्षिण एशिया र अफ्रिका तथा यूरोपका देशहरुलाई भूगोलले मात्रै नभएर संस्कृति, मूल्यमान्यता र विचारले पनि जोड्ने धारणा राखेको थिए । पाण्डेले चीनको समृद्धिबाट धेरै कुरा सिक्न सकिने भन्दै नेपालले बीआरआईमार्फत प्राविधिक तथा आर्थिक सहयोगको अपेक्षासमेत गरेको जानकारी गराए ।
नेपालका लागि चिनियाँ राजदूत यू होङले चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले बीआरआईलाई विशेष प्राथमिकतामा राखेको बताइन् । होङले चीन दक्षिण एशियाको लागि सबैभन्दा ठुलो लगानीकर्ता भएको दाबी गर्दै दक्षिण एशियामा पूर्वाधार र विद्युत्काे लगानीमा ठुलो सम्भावना रहेको बताएकी थिइन् ।
त्यस्तै, अर्थसचिब शंकरप्रसाद अधिकारीले बीआरआईका विषयमा नेपाल र चीनले गत 'मे' मा गरेको सम्झौताअनुसार नै नेपाल सरकार अगाडि बढिरहेको जानकारी गराए ।
नेपाल चाइना फ्रेण्डसिप फोरमका अध्यक्ष कल्याणराज शर्माले बीआरआईमा सहभागी राष्ट्रहरुको वृहत सञ्जालले आर्थिक वृद्धिमा ठुलो आयाम ल्याउने धारणा राखेका थिए ।
प्रजातन्त्र र मानवअधिकारका विषयमा कलम चलाउने पाकिस्तानका पत्रकार साफक्त मुनिरले पाकिस्तानले विकास निर्माणका क्षेत्रीय मुद्दालाई प्राथमिकतामा राखेकै कारण छिट्टै सार्क सम्मेलन आयोजनाको तयारी गरिरहेको बताएका थिए ।
कार्यक्रममा सहभागी अधिकांश सहभागीहरुले बीआरआईले दक्षिण एशियाको विकासमा फड्को मार्न सहयोग गर्ने मात्रै नभएर एकआपसमा भातृत्वको सम्बन्ध समेत बढाउन सहयोग पुर्याउने बताएका थिए ।