राजधानीका दुई विद्यालयमा बम विष्फोट
राजधानीमा दुई वटा स्कुलमा आज, ४ असोज बिहान बम विष्फोट भएको छ भने ६ वटा स्कुलमा बम फेला परेको छ ।
बिष्फोटबाट मानवीय क्षति भने भएको छैन ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धमा रहेका आकाशदीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट भएको हो । सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएको र विस्फोटका कारण कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए ।
आकाशदीपको गेटमा क्षति पुगेको छ भने मनकामना स्कुलको पछाडि भागमा विष्फोट भएको हो । दुबै स्कुलमा बिहान करिब पौने ४ बजे बम विष्फोट भएको हो ।
यसैगरी बौद्ध क्षेत्रमै रहेको इस्टपोल एकेडेमी, एम्बेस्ड एकेडेमी, राई स्कुल र बालसंसार स्कुलमा शङ्कास्पद वस्तु भेटिएको थियो, ती वस्तु भने बम नभएको पुष्टि भएको छ । सानेपाको रेडियन रिडर्स एकेडेमी र डल्लुको कन्चनजंघा स्कुलमा पनि प्रेशरकुकर बम भेटिएको छ ।
विष्फोट गराएको आशंकामा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिएका छन् ।
विस्फोट गराइएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको को पर्चा छरिएको छ । दुवै संगठन देवेन्द्र महतो नेतृत्वको माओवादी कम्युनिस्ट केन्द्र नेपाल भन्ने पार्टीका हुन् । आपराधिक गतिविधिमा संलग्न महतो पटक पटक पक्राउ परिसकेका छन् ।