समाचारमंगलवार, कार्तिक २८, २०७४

चिनी मन्द विष

सन्त गाहा मगर

एकातिर निष्क्रिय र तनावग्रस्त जीवनशैली अर्कोतिर मापदण्डभन्दा बढी चिनी नेपालीका लागि साइलेन्ट किलर बनेको छ ।

मोडलिङमा आधारित तस्वीर । तस्वीरः गोपेन राई

धेरै खाए चिनी पनि तीतो हुन्छ' भन्ने भनाइ अब उखानमा मात्र सीमित रहेन। अत्यधिक चिनी अर्थात् गुलियो सेवनकै कारण शरीरमा रोगको घर बनाउने नेपालीको संख्या बढ्दो छ। कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार हरेक नेपालीले एक वर्षमा ११ किलोग्राम चिनी उपभोग गर्छन्। जसमा ५ किलोग्राम विशुद्ध चिनी रहने गरेको छ भने ६ किलोग्राम गुलिया पदार्थ (अतिरिक्त चिनी) बाट शरीरमा पुग्छ। चिनीको कुल उत्पादन, आयात र निर्यातका आधारमा मन्त्रालयले तयार गरेको 'फूड ब्यालेन्स सिट, २०७०' लाई हेर्ने हो भने प्रत्येक नेपालीले एक दिनमा सरदर ३० ग्रामभन्दा बढी चिनी प्रयोग गरेको देखिन्छ। 

२० फागुन २०७१ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जारी गरेको चिनी प्रयोग सम्बन्धी निर्देशिकाले दैनिक २५ ग्रामभन्दा बढी खानु हानिकारक हुने भनेको छ। “वयस्क र बालबालिका दुवैले दैनिक २५ ग्रामभन्दा कम चिनी प्रयोग गर्नुपर्छ”, डब्लुएचओको 'सुगर रिकमेन्डेड फर अडल्ट एण्ड चिल्ड्रेन' निर्देशिकामा भनिएको छ। स्वास्थ्य समस्याको प्रमुख कारणमध्ये अधिक चिनी प्रयोग एक भएको डब्लुएचओको ठहर छ। निर्देशिकामा भनिएको छ, “सफ्ट ड्रिंक, मिठाई आदि जस्ता चीजबाट धेरै चिनी खाने बालबालिकामा मोटोपनको समस्या देखिएको छ।” अमेरिकन हार्ट एसोसिएसन (एएचए) ले पनि चिनी प्रयोग सम्बन्धी मापदण्ड बनाएको छ। एएचएका अनुसार पुरुषले दैनिक ९ चिया चम्चा र महिलाले ६ चिया चम्चा भन्दा बढी चिनी खानु हितकर छैन।

'तीतो' चिनी
तथ्यांक भन्छ, नेपालीहरू डब्लुएचओले तोकेभन्दा दैनिक पाँच ग्राम बढी चिनी खाइरहेका छन्। विज्ञहरू भने विलासी र तनावपूर्ण जीवनशैली, अमिल्दो भोजन र शारीरिक बनावटका कारण नेपालीले डब्लुएचओ मापदण्ड भन्दा पनि कम चिनी प्रयोग गर्नुपर्ने बताउँछन्।

राजधानीस्थित नर्भिक अस्पतालमा उपचार गराउन आएका बिरामी ।तस्वीरहरुः देबकी बिष्ट र गोपेन राई

राजधानीस्थित त्रिवि शिक्षण अस्पतालका मधुमेह विभाग प्रमुख डा. प्रदीपकृष्ण श्रेष्ठ हाम्रो शारीरिक बनावट र जीवनशैलीका कारण युरोपेली–अमेरिकी भन्दा कम चिनी खानुपर्ने बताउँछन्। उनी भन्छन्, “दक्षिणपूर्वी एशियालीको खुराक पेटमा लाग्छ, युरोपेलीको पाखुरा र कम्मरमा।” पेट ठूलो हुँदा विभिन्न रोगले डेरा जमाउने डा. श्रेष्ठ बताउँछन्। 

विशुद्ध चिनीबाहेक चिनीजन्य पदार्थको उपभोगमा पनि नेपाली अगाडि नै छन्। 'फूड ब्यालेन्स सिट २०७०' अनुसार प्रत्येक नेपालीले एक वर्षमा चामल ९१ किलोग्राम, गहुँ ५२, मकै ५३, कोदो ९, दाल १५, तेलहन ४, वनस्पति तेल १०, तरकारी १३०, फलफूल ३९, मसला ९, मासु १३, माछा २, दूध ५४ र आलु ३० किलोग्राम उपभोग गर्छन् ।

जसमा चामलको भात, रोटी, आलु, चकलेट, जाम, मह, केक, हर्लिक्स, भिभा, बोर्नभिटा, आइसक्रिम, मिठाई, चकलेट, सफ्ट ड्रिंक्स, जेरी, जूस आदिबाट शरीरमा चिनी प्रवेश गर्छ। यसबाहेक आँप, अंगुर, भुईंकटहरबाट समेत शरीरले अत्यधिक मात्रामा सुगर प्राप्त गर्छ। (हे. ग्राफिक्स) अर्थात् विशुद्ध चिनी नखाँदा पनि शरीरले चिनी पाइरहेकै हुन्छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सन् २०१२ मा तयार पारेको 'फुड कम्पोजिसन टेबुल' अनुसार १०० ग्राम चामलमा ७८.२ ग्राम कार्बोहाइड्रेट हुन्छ। १०० ग्राम गहुँमा कार्बोहाइड्रेटको मात्रा ६९.४ ग्राम हुन्छ। कार्बोहाइड्रेट भनेको एक प्रकारको चिनी नै हो। नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा) का महासचिव हरिहर गुरागाईं भन्छन्, “कोदो, फापर, मकै आदिका परिकार खान सुझ्ाउनुको कारण यो ढिलो पच्ने भएकैले हो।” उनी छिटो पच्ने खानाले ह्वात्तै चिनीको मात्रा बढाउने बताउँछन्।

नेपाली भान्सामा आलुको प्रयोग सबैभन्दा बढी हुनेगर्छ। त्रिवि शिक्षण अस्पतालकी पोषणविद् नानीशोभा शाक्य आलुलाई तरकारी होइन भात वा रोटी सरह लिनुपर्ने बताउँछिन्। उनी भन्छिन्, “गहुँको रोटीसँग आलुको तरकारी खानु भनेको तरकारी नखाएर रोटी र भात खानु जस्तै हो।” १०० ग्राम आलुमा ३७ ग्राम कार्बाहाइड्रेट पाइन्छ। तर, चामल जस्तै छिटो पच्ने भएकाले आलुले शरीरमा चिनीको मात्रा बढाउँछ।

नेफोस्टाका महासचिव गुरागार्इं विकासशील देशमा खानामा अनाजको प्रयोग बढी हुने र यसले शरीरमा चिनी बढाउने बताउँछन्। अनाजमा औसतमा ८० प्रतिशत कार्बोहाइड्रेट हुन्छ। 'भात नै खानुपर्छ' भन्ने सोचाइले पनि शरीर बिगार्ने काम गरेको गुरागाईंको अनुभव छ। कुनै पनि खाना आवश्यकता भन्दा बढी खानु स्वाभाविक रूपमा रोगको अनुकूल हुने उनी बताउँछन्। “शारीरिक श्रम गर्नेहरूले भने कार्बोहाइड्रेट सहजै पचाउन सक्छन्, अरूले भने विचार गरेर खानुपर्छ।”

त्यसो त शरीरको शक्तिको स्रोत नै चिनी हो। रगतले चिनीलाई शरीरका विभिन्न अंगमा पुर्‍याउने काम गर्दछ। चिनीलाई अंग भित्र छिराउने काम इन्सुलिन नामक हर्मोनले गर्दछ। इन्सुलिन प्यांक्रियाज ग्रन्थीले उत्पादन गर्दछ। शरीरमा बोसोको मात्रा धेरै भयो वा जीवनशैली निष्त्रि्कय भयो भने प्यांक्रियाजले काम गर्न सक्दैन। प्यांक्रियाज सुन्निएर, चुँडेर वा खुम्चिएर काम नगर्नु भनेको सीधै इन्सुलिन उत्पादन नहुनु हो।

इन्सुलिन नहुने वा काम नगर्ने अवस्थामा पुग्नु भनेको रगतबाट आएको चिनी अंगभित्र छिर्न नपाउनु हो। अंगमा प्रवेश गर्न नपाएपछि चिनी रगतमा घुमिरहन्छ। लामो समय रगतमा घुमिरहेको चिनी फेरि बोसोमै परिणत हुन्छ। डा. श्रेष्ठका अनुसार चिल्लोपना र पेटको बोसो नै मधुमेह, उच्च रक्तचाप र मुटु रोगका कारक हुन्।

दशकअघिसम्म पोषक तत्व खान नपाएकै कारण नेपालीमा कुपोषणको ठूलो समस्या थियो। तर, अहिले शहरवासीमा अधिक पोषण अर्थात् 'डबल न्यूटि्रसन' को समस्या देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य वैज्ञानिक डा. क्षितिज श्रेष्ठ बताउँछन्। विशुद्ध चिनीलाई मात्र चिनी ठान्ने गलत बुझाइ हट्न नसकेको बताउँदै उनी भन्छन्, “मध्यम, उच्च मध्यम र धनाढ्य वर्गमा देखिएको अत्यधिक चिनी प्रयोगले विकराल समस्या निम्त्याउन सक्छ।”

ज्यानमारा चिनी
मधुमेहलाई चिनीरोग पनि भनिन्छ। इन्टरनेसनल डायबिटिज फेडेरेसन (आईडीएफ) का अनुसार विश्वमा प्रत्येक सात सेकेण्डमा एक जनाको मृत्यु मधुमेहकै कारण हुन्छ। हाल विश्वभर ३८ करोड ७० लाख जना मधुमेह पीडित छन्। त्यसमध्ये सात करोड ५० लाख दक्षिण पूर्वी एशियामा छन्। मधुमेह पीडितमध्ये करीब २५ लाख नेपाली छन्।

मधुमेहकै कारण नेपालमा सन् २०१४ मा मात्रै १४ हजार ७७८ जनाले ज्यान गुमाएको आईडीएफको तथ्यांक छ। यस हिसाबमा नेपालमा मधुमेह बढी ज्यान लिने ११औं रोग हो। सन् २०३० भित्र मधुमेह सातौं ज्यानमारा रोग बन्ने डब्लुएचओको प्रक्षेपण छ। 

गम्भीर कुरा त के छ भने आईडीएफका अनुसार मधुमेह भएका प्रत्येक दुईमध्ये एक जनालाई आफूलाई मधुमेह भएको थाहा छैन। डा. मिमी गिरी चिनी र बोसोबीचको सम्बन्धले धेरै स्वास्थ्य समस्या देखिएको बताउँछिन्। उनका अनुसार एकै पटक धेरै खाने र लामो समयसम्म भोकै बस्ने गर्दा शरीरले खाना सञ्चित गर्न थाल्छ। हजारौं वर्ष पुरानो मानव शरीरले प्राकृतिक रूपमा त्यो बेलाको जस्तै जीवनशैली अपेक्षा गर्ने तर अहिलेको आनीबानी ठीक विपरीत भएकाले नै संकट देखिएको उनको तर्क छ। 'सुगर फ्रि' भनिने बिस्कुट, मिठाई आदिमा पनि चिनीको मात्रा हुने बताउँदै यसलाई 'एडेड सुगर फ्रि' खाना भन्न सकिने उनको सुझाव छ।

डब्लुएचओका अनुसार विश्वमा मधुमेहबाट मृत्यु हुने मध्ये ८० प्रतिशत निम्न र मध्यम आय भएका देशका नागरिक छन्। अन्तर्राष्ट्रिय मधुमेह संघको आँकडा अनुसार विकसित देशमा मधुमेह लाग्ने औसत उमेर ६०–६५ वर्ष हो। तर विकासशील मुलुकमा ३०–४५ वर्षभित्रै यस्तो समस्या देखिने गरेको छ।

त्रिवि शिक्षण अस्पतालका प्रा.डा. श्रेष्ठ पछिल्लो केही वर्षयता मधुमेहको समस्या लिएर आउने युवाको संख्या ह्वात्तै बढेको बताउँछन्। “अब विवाहवारी मधुमेह भन्ने उखान चल्ला जस्तो भइसकेको छ”, उनी भन्छन्।

अमेरिकन हार्ट एसोसिएसनको अर्को अध्ययनले दैनिक एक बोतल (२५० एमएल) कोक/फ्यान्टा/स्प्राइट खाने व्यक्तिलाई नखानेको तुलनामा मुटु रोगको सम्भावना २० प्रतिशत बढी हुने देखाएको छ। सुगरस्टेक डटकमका अनुसार एक बोतल कोक र एक बोतल (२५० एमएल) रेडबुल दुवैमा २७ ग्राम चिनी हुन्छ। चिनीको अत्यधिक प्रयोगले मस्तिष्कघात, अन्धोपन, हृदयघात, मिर्गौला फेल, हातखुट्टा काट्नुपर्ने जस्तो अवस्था पनि ल्याउँछ।

उपाय छ
चिकित्सकहरूका अनुसार चिनीबाट हुने हानिबारे अत्यन्त थोरै नेपाली मात्रै सचेत छन्। “चिनी नखानुस् भन्नुभन्दा पनि यो कारणले चिनी फाइदाजनक छैन भन्दा बिरामीले कुरा बुझ्ने रहेछन्”, डा. गिरीको अनुभव छ।

वर्षौंसम्म पनि लक्षण नदेखिनु मधुमेहको ठूलो समस्या हो । रक्तनली साँघुरिनु, हातखुट्टाका औंलाहरू बाउँडिनु, पिंडौला दुख्नु, थकाइ वा कमजोरी महसूस हुनु, घाउ अथवा रोग चाँडै निको नहुनु, दुब्लाउँदै जानु, यौन क्षमता घट्नु, धेरै भोक लाग्नु, धेरै पिसाब लाग्नु मधुमेहको कारण हुन सक्छ। यसका साथै हातखुट्टा झमझमाउनु, पोल्नु, तिर्खा लाग्नु, मुख सुक्नु, शरीर सुक्खा हुनु, आँखा वरिपरि फुल्नु, आँखाको ज्योतिमा कमी आउनु, छाला धेरै सुक्खा हुनु आदिले पनि मधुमेहको संकेत गरिरहेको हुन सक्छ।

तर यस्ता लक्षण देखिंदासम्म ढिलो भइसक्ने डा. गिरीको भनाइ छ। उनी भन्छिन्, “सानो नसामा समस्या देखिंदा साढे ६ वर्ष र ठूलो नसामा समस्या देखिंदा मधुमेह लागेको १० वर्ष भइसकेको हुन्छ।” यस्तो अवस्था आउन नदिन बिरामी नहुँदै रगतमा चिनी र कोलेस्ट्रोलको मात्रा परीक्षण गराउनुपर्ने उनको सुझाव छ।

मधुमेह लागेपछि रगतमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले नसाबाट रगत बग्न सक्दैन। रगत सञ्चार अभावमा सामान्य चोटपटक लाग्दा पनि घाउ बढ्दै जान्छ, निको नभएर खुट्टै काट्नुपर्ने अवस्था पनि आउन सक्दछ भनेर बुझाउन सक्दा बिरामी आफैं सतर्क हुने डा. गिरी बताउँछन्।

समाधान के त? चिकित्सक भन्छन्, विशुद्ध चिनी र अतिरिक्त चिनी पाइने वस्तुको उपभोगमा कमी गर्नुको विकल्प छैन। उनीहरूको भनाइमा नियमित व्यायाम पनि चिनीको असर नियन्त्रण गर्ने उपाय हो। व्यायामले शरीरमा इन्सुलिन सक्रियता बढाउने र रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ। तर यसका लागि मुटुको चाल बढ्ने र पसिना आउने गरी व्यायाम गर्नुपर्दछ।

डब्लुएचओको सुझाव छ, “प्रत्येक सरकारले चिनी प्रयोग घटाउने नीति ल्याउनु जरूरी छ। प्रत्येक नागरिकले खाना छनोटमा परिवर्तन नल्याई धरै छैन।”


खाली पेट मर्निङवाक् नजाऔं
चिनी शरीरका लागि अति आवश्यक तत्व हो। तर, सन्तुलित मात्रामा खान जान्नुपर्दछ। चिनी पच्ने गरिको शारीरिक व्यायाम गर्नुपर्छ। चिनी भनेर शुद्ध चिनी मात्रै भनिएको होइन। शुद्ध चिनी नखाए पनि शरीरले भात, रोटी, आलु, कोक फ्यान्टा, जूस, फलफूल जस्ता थुप्रै वस्तुबाट चिनी पाइरहेकै हुन्छ।

डा. मिमी गिरी

एकै पटक धेरै खाने र धेरै बेर भोकै बस्दा शरीरले खानाको अभाव रहेछ भनेर सञ्चय गर्न थाल्छ। खाना सञ्चय गर्नु भनेकै बोसो बन्नु हो। चिनी बोसो बन्छ तर बोसो चिनी बन्दैन। छिनछिनमा खाइराख्ने हो भने शरीरले सञ्चय गर्दैन। शरीरलाई पुल्पुल्याएर खुवाउनु पर्दछ। घिच् भन्नुहुँदैन।

खाना खाने तरीकामा पनि परिवर्तन ल्याउनुपर्छ। चपाई चपाई विस्तारै खानुपर्छ। कम्तीमा २५–३० मिनेट लगाएर खानुपर्दछ। हतार हतार खाँदा खानेकुरा नपच्ने मात्रै होइन पत्थरीको समस्या पनि हुनसक्छ। तरकारी पकाउँदा फतक्क गल्ने गरी पकाउनुहुँदैन। खाँदा कर्‍याम–कर्‍याम आवाज आउने गरी पकाउनुपर्दछ। कोठाको तापक्रममा पग्लिने बोसो, मक्खन, घिउ, दूधको तर खानै हुँदैन।

मोटो मान्छेलाई सुखी र धनी भन्ने पुरानो धारणाले अब काम गर्दैन। अहिले पैसावाल मान्छे दुब्लो हुन्छ। स्वस्थ मोटो र स्वस्थ दुब्लो मान्छे भनिनुपर्दछ। हाम्रो अर्को समस्या भनेको एकै पटक धेरै खानु पनि हो। भात मात्रै होइन रसवरी, गुलाब जामुन, केक, चकलेट थोरै खाएर पुग्दैन। जसले चिनीको मात्रा बढाउँछ।

खाली पेटमा मर्निङवाक् जानुहुँदैन। राति हामी सुते पनि शरीरले काम गरिरहेको हुन्छ। अंग्रेजीमा 'ब्रेकफास्ट' को नेपाली अर्थ व्रत भंग गर्नु भन्ने हुन्छ। उठेको एक घण्टाभित्र केही न केही खाइसक्नुपर्दछ। तर खाली पेटमा चिया खानुहुँदैन। चियाको एसिडले शरीरमा हानि गर्छ। खानै पर्ने भयो भने पनि चियासँग केही खानु पर्छ।

मधुमेह अर्थात् चिनीरोगलाई चाल नपाई मार्ने रोग पनि भनिन्छ। त्यसैले सुरुआती चरणमै थाहा पाउनुपर्छ। यसका लागि समय समयमा स्वास्थ्य परीक्षण गराउनुपर्छ।

हामीकहाँ ३०–४५ वर्ष भित्रै मधुमेह देखिन थालेको छ। कमाउने उमेरमै यो रोग देखिंदा परिवारमा मात्र होइन, देश विकासमै समस्या आउँछ। यसका लागि सरकारले स्वास्थ्यमा हानि गर्ने खानेकुरामा बढी कर लगाउनुपर्दछ। चिनी र चिनी पाइने वस्तुमा पनि करको दायरा बढाउनेतर्फ सोच्न सकिन्छ। किनकि विकसित देशले यसबारे नीति बनाउने तयारी थालिसकेका छन् ।

हिमाल खबरपत्रिकाको ६–१२ वैशाख २०७२ को अंकमा प्रकाशित यो रिपोर्ट आज विश्व मधुमेह दिवसमा पुनः प्रकाशन गरेका छौं ।

प्रतिकृया दिनुहोस