संघीय व्यवस्थापिकाको लागि भवन तयार गरिंदै
संघीय व्यवस्थापिकाका दुवै सदनको बैठक सञ्चालनका लागि आवश्यक भवन आगामी पुसभित्रै तयार हुने भएको छ ।
व्यवस्थापिका–संसद् सचिवालयले हालको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सञ्चालन गर्ने तयारी शुरु गरेको हो ।
संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
सचिवालयले सोहीअनुसार दुवै सदनका बैठक सञ्चालनको तयारी थालेको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।
संविधानको भाग ८ मा संघीय व्यवस्थापिका गठनबारे उल्लेख छ । धारा ८३ अनुसार २७५ सदस्यीय प्रतिनिधिसभा र धारा ८६ अनुसार ५९ सदस्यीय राष्ट्रियसभा गठन हुनेछ ।
सचिवालयले यसअघि रुपान्तरित व्यवस्थापिका–संसद् बैठक बसेको सम्मेलन केन्द्रको मुख्य हलमा केही परिमार्जन गरेर प्रतिनिधिसभा बैठक बस्ने गरी तयारी थालेको छ । जहाँ दुवै सदनको संयुक्त बैठक (३३४ जना) समेत बस्न सक्ने छन् ।
त्यस्तै सचिवालयले सम्मेलन केन्द्रकै नुप्से हलमा राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने योजना अघि सारेको गौतमले जानकारी दिए ।
राष्ट्रियसभाको बैठकका लागि सिट, माइक र प्रविधिलगायत भौतिक संरचना पूरै जडान गर्नुपर्नेछ । दुवै सदनका प्रमुख बैठकबाहेक प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, अन्य पदाधिकारी, कार्यव्यवस्था परामर्श समिति र सरकारलाई आवश्यक पर्ने कक्षको समेत तयारी गरिने गौतमले बताए ।
सचिवालयले हाल सम्मेलन केन्द्रलाई वार्षिक रू १० करोड भाडा तिर्दै आएको छ ।
२०६५ देखि सचिवालयले सम्मेलन केन्द्रलाई वार्षिक रू पाँच करोड तिर्ने गरी भवन भाडामा लिएको हो । त्यसमा प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि हुने सम्झौतामा उल्लेख छ ।
दुवै सदनका बैठक सञ्चालन भएपछि सचिवालयले सम्मेलन केन्द्रको सम्पूर्ण परिसर प्रयोग गर्ने र केही भाडा वृद्धि गर्नेे द्विपक्षीय समझदारी पनि भइसकेको छ ।
प्रतिनिधिसभामा निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने १६५ र समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने ११० जना सदस्य रहनेछन् ।
त्यस्तै राष्ट्रियसभामा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठजनाका दरले जम्मा ५६ जना र मनोनीत तीनजना सदस्य रहनेछन् । रासस