प्रधानमन्त्रीको भारत भ्रमण अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।
संविधान दिवसका अवसरमा युवा सङ्घ नेपाल भक्तपुरले थिमिमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मामलामा भारतको पछि लाग्छौँ भन्नु गलत भएको बताए ।
जनताका लागि नभई छिमेकी मुलुकलाई खुशी पार्न संविधान संशोधन गर्ने कार्य कदापि नहुने भन्दै उनले संविधान कार्यान्वयन गर्ने अघिल्लो सरकारको कार्यतालिका कहाँ गयो भनी प्रश्न गरे ।
संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेको भन्दै ओलीले थपे, “९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो, छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन ।”
नेता ओलीले बाहिरबाट आएकाहरुलाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउन संविधान संशोधन हुन नसक्ने जिकिर गर्दै भने – “भारतले अरु देशबाट भित्रिएका बुहारीलाई नमान्ने तर नेपालमा भने उताबाट आएकालाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउने काम हुन सक्दैन ।”
अहिले नेपाली कांग्रेस सिद्धान्त र विचारबाट पलायन भएको आरोप लगाउँदै ओलीले बिपी बाबुको नाम भजाउँदै देश बिगार्ने खेलमा लाग्नुभन्दा देश जोगाउन कांग्रेसलाई सल्लाह दिए ।
कार्यक्रममा पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेल, पूर्वउद्योगमन्त्री महेश बस्नेत, सांसद केदार सञ्जेल, एमाले केन्द्रीय सदस्य नीरु पाल, युवा सङ्घका केन्द्रीय अध्यक्ष राजीव पहारी र उपाध्यक्ष रमेश पौडेल, युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी भक्तपुरका अध्यक्ष रवि श्रेष्ठलगायतले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भए एमालेले आन्दोलन छेड्ने चेतावनी दिए ।