समाचारआइतवार, कार्तिक २६, २०७४

वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार

हिमालखबर

माओवादी केन्द्रका नेता वर्षमान पुनलाई लक्षित गरी आज, रोल्पामा गोली प्रहार भएको छ ।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पुन दुईखोली गाउँपालिकाको बागमारामा आयोजित चुनावी सभामा जाने क्रममा दुईखोली गाउँपालिका–३ केवरी खोलाको जंगलमा दिउँसो अपरिचित व्यक्तिले गोली हानेको प्रहरीले जनाएको छ ।

पुनलाई लक्षित गरी ८ राउन्ड फायर भएपछि सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

दुईखोली गाउँपालिकाकै राङ्सीमा चुनावी कार्यक्रम सकेर बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत भएको थियो । त्यहाँ पनि प्रहरीले १० राउण्ड फायरिङ गरेको थियो ।

चुनावी प्रचारमा पुन सहित अन्य उम्मेदवार तथा बाम गठबन्धनका नेताहरु पनि थिए । पुनलाई लक्षित गरी शनिबार पनि माडीगाउँपालिकामा एम्बुस विष्फोट गराइएको थियो ।

गोली प्रहार कसले गरेको भन्ने थाहा नभए पनि प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने अनुमान गरेको छ ।

उम्मेदवार माथि निरन्तर बम तथा गोली प्रहार हुन थालेपछि रोल्पामा सुरक्षा चुनौति बढेको छ ।
जीवन डाँगी, रोल्पाबाट

प्रतिकृया दिनुहोस